लकडाउन ः बोटमै ओइलायो सयपत्री फूल, निराश बने व्यवसायी

सुशीला रेग्मी

रामपुर (पाल्पा)  परिक्षणका रुपमा लगाइएको सयपत्री फूलले पहिलो उत्पादनमा नै राम्रो आम्दानी दिएपछि रामपुर नगरपालिका ४ बस्ने दिलबहादुर थापाले पुष्प व्यवसायलाई बिस्तार गर्नुभयो ।

नसोचेको आम्दानी भएपछि दुई रोपनी जग्गामा लगाएको सयपत्री फूल बोटमै ओइलाएर खेर गएको छ । लकडाउनले बजारमा बिक्रि गर्न नपाउँदा यस पटक रु तीन लाख भन्दा बढी नोक्सान भएको थापा बताउनुहुन्छ ।

थापाले पहिलो पटक रामपुर नगरपालिकामा पुष्प व्यवसाय सुरु गर्नुभएको हो । बुटवलमा एक हप्ताको तालिम लिएर एक वर्ष अघिदेखि व्यवसायिक तवरले पुष्प व्यवसाय थालनी गर्नुभएको छ ।

गत पुषमा एक हजार पाँच सय सयपत्री फूलका विरुवा चैत वैशाख महिनामा बिक्रि गर्नेे लक्ष्यका साथ लगाउनुभयो ।

“फूल बिक्रि गर्ने समय सुरु हुन थालेपछि लकडाउन सुरु भयो, पहेँलै फुलेका फूल बोटमै ओइलाएर झर्न थालेको छ” थापाले भन्नुभयो । फूल बेच्न नपाएर बोटमै ओइलाएर झर्न थालेको देख्दा व्यवसायमा आफूलाई निराशा बनाएको उहाँ गुनासो गर्नुहुन्छ ।

परिक्षणका रुपमा एक रोपनी क्षेत्रफलमा लगाएको फूलबाट रु एक लाख पचास हजार बराबरको आम्दानी भएपछि व्यवसायमा हौसिनुभयो । फूल बिक्रि गर्ने समयमा लकडाउनले गर्दा ओइलाएर झर्न थालेपछि उहाँ चिन्तित हुनुहुन्छ ।

“पहिलो पटक लगाएको फूलले राम्रै आम्दानी दियो, व्यवसायमा हौसला बढ्यो, दोस्रो पटक लगाएको राम्रै फुलेको थियो, बिक्रि गर्न नपाएर बोटमै ओइलायो” थापाले भन्नुभयो ।

पहिलो पटक यहाँ फूल खेती सुरु भएपछि स्थानीयको फूल खरिद तथा अवलोकनमा आकर्षण बढ्यो । थापाले नेपालगन्ज, बुटवल, पाल्पा सदरमुकाम तानसेन बजार लगायतका स्थानमा फूल खपत गर्नुहुन्थ्यो ।

बाहिरी बजार र स्थानीयबाट फूलको माग बढ्न थालेपछि व्यवसायिकतालाई अगाडी बढाउनुभएको हो । यहाँ उत्पादन भएको फूल प्रतिकिलो रु चार सय र प्रतिमाला रु एक सयमा बिक्रि भइरहेको छ ।

तानसेन नगरपालिका ९ स्थित अर्खलेमा माडी माण्डव्य कृषि समुहले करिव १२ रोपनी क्षेत्रफलमा पुष्प व्यवसाय र तरकारी खेती गर्दै आइरहेको छ ।

सयपत्री, मखमली सहित विभिन्न जातका फूल उत्पादन गरी बिक्रि गर्ने गरेको समुहका अध्यक्ष दिनेश बस्याल बताउनुहुन्छ । समुहमा आबद्ध १५ जना फरक क्षमता भएका व्यक्तिले मात्र व्यवसाय चलाएका छन् ।

नर्सरीमा फुलेका फूल बिक्रि गर्ने ठाउँ नहुदा बोटमै ओइलाएर झर्न थालेको अध्यक्ष बस्यालले बताउनुभयो । फूल बिक्रि गर्न नपाउँदा रु सात लाख बराबरको नोक्सान हुने अध्यक्ष बस्यालको अनुमान छ ।

यहाँ उत्पादन भएको फूल सदरमुकाम तानसेन र बुटवल बजारमा खपत हुदै आएको छ । जिल्लामा पछिल्लो समय फूलमा आकर्षण बढेपनि व्यवसायिक तरिकाले भने खेती गर्ने अत्यन्तै न्युन रहेको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउनुहुन्छ ।

“मन्दिर जादा या घरमा पुजाआजा गर्दा फूल किन्नुपर्छ भन्ने मानसिकताको विकास हुन थालेपछि फूल खेतीमा नागरिकको आकर्षण देखिएपनि व्यवसायिक तरिकाले गर्ने तानसेनमा एक र रामपुरमा एक मात्र व्यवसायी रहेका छन्” अर्यालले भन्नुभयो ।

थोरै जग्गामा पनि फूल खेती गरेर राम्रो कमाई गर्ने अवसर भएपनि जिल्लाका अधिकांश कृषकले खाद्यान्न र तरकारी बालीमा जोड दिने गरेको कृषि ज्ञानकेन्द्र पाल्पाले जनाएको छ ।





error: Content is protected !!