बन्दाबन्दीपछि विश्‍वभर सुध्रियो वायुको गुणस्तर

काठमाडौँ ः कोभिड–१९ महामारीले ठूला सहर लकडाउन भएपछि संसारभर नै वायुको गुणस्तरमा उल्लेख्य सुधार आएको पाइएको छ । कोभिड–१९ का कारण संसारका आधा मानिस घरभित्र बस्न बाध्य छन् । सवारी साधन, कलकारखाना, भट्टीलगायत सबै बन्द छन् । वायुको गुणस्तरमा सुधार त्यसैको प्रतिफल हो ।

लकडाउनले वातावरणमा आएको परिवर्तनबारे विस्तृत वैज्ञानिक अध्ययन गर्न बाँकी नै छ । नेपालस्थित ग्लोबल इन्स्टिच्युट फर इन्टरडिस्प्लिनरी स्टडिजका तीन जना तथा जर्मनी र अस्ट्रेलियाका तीन जना अनुसन्धानकर्ताले गरेको अनुसन्धानले पनि लकडाउनपछि सधैं व्यस्त रहने सहरमा वायु प्रदूषणको मात्रा उल्लेख्य घटेको देखाएको छ ।

डा। अशेश्वरमान श्रेष्ठ, डा उत्तमबाबु श्रेष्ठ, रोशन शर्मा, डा।सुरज भट्टराई, हान ट्रान र डा महेश्वर रूपाखेतीको संयुक्त टोलीले ६ वटै महादेशका ३५ देशका ४० वटा सहरको वायु प्रदूषणको अवस्था अनुसन्धान गरेका हुन् । उनीहरूको अनुसन्धान ‘अर्थ आर्जिभ’ जर्नलमा प्रि–प्रिन्ट (अन्तिम प्रतिवेदनअघिको निष्कर्ष) भर्खरै प्रकाशित भएको छ । अन्तिम प्रतिवेदन सार्वजनिक हुन बाँकी नै छ ।

नेपालका अनुसन्धान संस्था र विश्वविद्यालयहरू अलमलमा परिरहेका बेला उनीहरूले नेपालबाटै विश्वका सहरहरूको प्रदूषण अध्ययन गर्ने अग्रसरता देखाएका हुन् ।

अनुसन्धानमा संलग्न नेपालस्थित ग्लोबल इन्स्टिच्युट फर इन्टरडिस्प्लिनरी स्टडिजका निर्देशक डा उत्तमबाबु श्रेष्ठले कान्तिपुरसित भने, ‘नेपालमै बसेर प्रविधि प्रयोग गर्दै विश्वका सहररूको वायुको गुणस्तर हेरौं न त भनेर लकडाउनको समयमा तीन साता अनुसन्धानमा जुटेका हौं ।’

नेपालस्थित ग्लोबल इन्स्टिच्युट फर इन्टरडिस्प्लिनरी स्टडिजका अनुसन्धानकर्ता डा अशेश्वरमान श्रेष्ठका अनुसार यो अनुसन्धानमा सन् २०१९ को फेब्रुअरी र मार्च तथा यो वर्षको फेब्रुअरी र मार्चको वायु प्रदूषणको कारक मानिने धुलोका कण, कार्बनमोनो अक्साइड, नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड, ओजन गरी ६ प्रकारका रासायनिक तत्त्वको वायुमा भएको मात्राको तुलनात्मक अध्ययन गरिएको छ । ‘त्यससँगै एक सय दिनयताको प्रदूषणको अवस्था र लकडाउनले त्यसमा आएको फरक पनि विश्लेषण गरेका छौं,’ उनले भने ।

यसअघि भू–उपग्रहबाट प्राप्त हुने तस्बिरहरू विश्लेषण गरेर वायु प्रदूषण घटे–बढेको विश्लेषण हुने गरेकामा यो अनुसन्धानमा उनीहरूले ४० वटा सहरका सडकमा राखिएका प्रदूषण मापन गर्ने उपकरणले संकलन गरेको तथ्यांक प्रयोग गरेर निष्कर्ष निकालेका हुन् । ‘स्याटेलाइट तस्बिर आँखाले हेरेर गरेको विश्लेषणमा त्रुटि हुने सम्भावना हुन्छ,’ अनुसन्धानकर्ता निर्देशक डा। श्रेष्ठले भने, ‘हामीले ४० वटा सहरका सडकमा राखिएका प्रदूषण मापन गर्ने उपकरणले संकलन गरेको तथ्यांक प्रयोग गरेर अनुसन्धान गरेका हौं, सम्भवत यो धेरै सहरको वायु प्रदूषणको अवस्था हेरिएको पहिलो अध्ययन होला ।’

अस्ट्रेलियाको आरएमआईटी विश्वविद्यालयमा विद्यावारिधि गरिरहेका रोशन शर्माका अनुसार ४० वटा सहरका वायु प्रदूषण मापन गर्ने ३ सय १ वटा स्टेसनबाट लिइएको तथ्यांकलाई विश्लेषण गरिएको छ । अनुसन्धानअनुसार आँखाले देख्न नसकिने धुलोका कण पीएम २.५० को मात्रा गत वर्षको फेब्रुअरीभन्दा अहिले १७ वटा सहरमा कम देखिएको छ । त्यही कण गत वर्षको मार्चमा भन्दा अहिलेको मार्चमा १४ वटा सहरमा कम देखिएको छ । ‘काठमाडौं, भियना, लन्डन, आम्सटर्डम, न्युयोर्क, सिड्नीजस्ता सहरमा धुलोको मात्रामा उल्लेख्य रूपमा कमी आएको छ,’ निर्देशक श्रेष्ठले भने ।

अनुसन्धानले गत फेब्रुअरीमा पीएम २.५ को मात्रा भियनामा ५७, पेरिसमा ५३, आम्सटर्डममा ४७.५, लन्डनमा ४५.६, दुबईमा ४५.२ प्रतिशतले घटेको देखाएको छ । मार्चमा न्युयोर्कमा ३७, सिड्नीमा ३५, अबुधाबीमा ३२.२, नान्जिङमा ३१, उलनबटोरमा २६ प्रतिशतले प्रदूषण घटेको छ । संसारकै प्रदूषित सहर भनेर चिनिएका बैंगलोर, बैंकक, बेइजिङ, दिल्ली, नान्जिङ, वुहान, उलनबटोरमा धुलोको मात्रा उल्लेख्य कम भएको तथ्यांक विश्लेषणबाट देखिन्छ । ती सहरहरूमा पीएम २.५ भन्दा ठूलो धुलोको कण (पीएम १०) को मात्रामा पनि उलेख्य फरक आएको छ ।

काठमाडौंमा गत वर्षको फेब्रुअरीमा भन्दा यो वर्षको फेब्रुअरीमा प्रदूषण बढे पनि मार्चपछि वायुको गुणस्तरमा उल्लेख्य सुधार आएको श्रेष्ठले बताए । नेपालमा मार्च २४ मा लकडाउन सुरु भएको हो । लकडाउन सुरु भएलगत्तैदेखि काठमाडौंसहित देशका विभिन्न स्थानमा प्रदूषणको मात्रा मापन केन्द्रले कम रेकर्ड गरेको देखिन्छ ।

काठमाडाँँ सहित देशका विभिन्न स्थानमा यतिबेला पीएम २।५ को मात्रा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तोकेको मापदण्डजत्तिकै र कतिपय स्थानमा त्योभन्दा पनि कम देखिएको छ । डब्लूएचओले पीएम २।५ को मात्रा २५ माइक्रोग्राम (प्रति २४ घण्टा) तोकेको छ । सरकारले प्रतिघनमिटर हावामा पीएम २.५ को मात्रा ४० माइक्रोग्राम तोकेको छ ।

फागुनमा आईक्यू एयरले प्रकाशन गरेको ‘विश्वको वायुको गुणस्तरसम्बन्धी प्रतिवेदन’ मा पनि अघिल्लो वर्षभन्दा यो वर्ष काठमाडांैमा वायुको गुणस्तरमा सुधार आएको प्रतिवेदन सार्वजनिक गरेको थियो । गत वर्ष आँखाले देख्न नसकिने धुलोको कण .(पीएम २.५) को मात्रा प्रतिघनमिटर हावामा सरदर ५४.४ माइक्रोग्राम रहेकामा यो वर्ष ४४.५ माइक्रोग्राममा झरेको उसले उल्लेख गरेको छ ।

निर्देशक श्रेष्ठका अनुसार विभिन्न सहरमा गाडी र कलकारखानाबाट निस्कने नाइट्रोजन डाइअक्साइडजस्ता धूवाँको अनुपातमा पनि उल्लेख्य कमी आएको छ । लकडाउनपछि संसारका १९ सहरमा नाइट्रोजन डाइअक्साइडको प्रदूषणमा कमी आएको छ । त्यसैगरी कार्बन मोनोअक्साइडमा पनि उल्लेख्य कमी आएको छ ।

प्रदूषण गर्ने मुख्य कारकको मात्रामा संसारका सबै सहरमा एकैनाशले कमी भने आएको छैन । लकडाउन नभएका सहरमा प्रदूषण बढेको छ । श्रेष्ठले थपे, ‘सल्फर डाइअक्साइड, ओजन जस्ता हानिकारक रसायन पनि कतै बढेका छन्, कतै घटेका छन् ।’

जर्मनीस्थित इन्स्टिच्युट फर एडभान्स्ड सस्टनेबिलिटी स्टडिजका अनुसन्धानकर्ता डा। महेश्वर रूपाखेतीका अनुसार प्रदूषण घटबढ हुनुमा स्थानीय प्राकृतिक स्रोतहरू जस्तै आगलागी, कृषिका लागि लगाइने आगोले पनि ठूलो भूमिका खेल्छ । जुन दक्षिण एसियामा झनै प्रभावकारी हुन्छ । उनले भने, ‘त्यसका साथै युरोपेली सहरहरूमा घरबाट निस्कने प्रदूषण पनि प्रमुख हुन्छ, जुन अहिले घटेको छैन ।’

वायु प्रदूषणले बर्सेनि सात लाख मानिसको ज्यान लिन्छ, विश्वका १० मध्ये नौ जना मानिस डब्लूएचओले तोकेको मापदण्डभन्दा बढी प्रदूषण भएको ठाउँमा बस्छन् । डब्लूएचओले १० माइक्रोग्रामसम्म भएको क्षेत्रलाई सुरक्षित हुने बताएको छ । उसले कुनै स्थानमा पीएम २।५ को मात्रा ४४.४६ माइक्रोग्राम छ भने त्यो संवेदनशील किसिमका व्यक्ति र समूहका लागि अस्वस्थ मानेको छ ।

अमेरिकामा गरिएको पछिल्लो अध्ययनले वायु प्रदूषणका कारण कोभिड–१९ लागेको बिरामीको ज्यान जाने सम्भावना बढी हुने देखिएको छ । वायु प्रदूषणका कारण स्ट्रोक, मुटुसम्बन्धी रोग, फोक्सोको क्यान्सरजस्ता रोगको सम्भावना हुन्छ ।





error: Content is protected !!