यसरी सिकारमा रमाउदै छन् , जेबरोङ र स्याम्लिङ

काठमाडौँ ः शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा जेबरोङ नामको हिउँ चितुवालाई घाँटीमा स्‍याटेलाइट जीपीएस कलर बाँध्ने प्राविधिकलाई समेत थाहा थिएन, यसले कति लामो यात्रा तय गर्ला भनेर ।

हिमाली क्षेत्र भिजेर, चारकार्बो क्षेत्रको ४ हजार १ सय ७१ मिटर उचाइमा घाँटीमा स्याटेलाइट कलर बाँधेर छाडिएको जेबरोङ आहार खोज्दै ६ हजार २ सय ९८ मिटर उचाइसम्म पुगेर भर्खरै फेरि तल्लो क्षेत्रमा झरेको छ।

हिउँ चितुवा अनुसन्धानमा काम गरेका कमल थापाका अनुसार नाउर र झारल उसको मुख्य आहार हो। शे फोक्सुण्डोमा नाउर बढी छन्। ‘६० देखि ७० प्रतिशत आहार नाउर र झारल हो’, थापाले भने, ‘त्योबाहेक ३० देखि ४० प्रतिशत आहार गाई, चौरीका बच्चा, च्यांग्रा, फ्याउ मुसा र कस्तरी मृग हो।’

गत कात्तिक ३० मा निकुञ्ज विभागको पहल र शे फोक्सुण्डो निकुञ्जको अगुवाइमा प्राविधिकहरुले उक्त भाले हिउँ चितुवाको घाँटीमा स्याटेलाइट जीपीएस कलर बाँधेका थिए। त्यसका निम्ति डब्लूडब्लूएफ नेपालले आर्थिक र राष्टिय प्रकृति संरक्षण कोषले प्राविधिक सहयोग गरेको थियो।

निकुञ्जका प्रमुख सरोजमणि पौडेलका अनुसार करिब ५ महिना अवधिमा जेबरोङले ३ सय ९५ किलोमिटर यात्रा गरेको पाइएको छ। सबैभन्दा तल ३ हजार ३ सय ५३ मिटरसम्म जेबरोङले हिँडडुल गरेको देखिएको छ। ‘जीपीएस कलरबाट प्राप्त तथ्यांकअनुसार अहिलेसम्म ९५ वर्ग किलोमिटर क्षेत्रलाई उसले आफ्नो बासस्थल बनाएको देखिन्छ,’ पौडेलले डोल्पाबाट भने, ‘अहिले फेरि साल्दाङ क्षेत्रमै सिकार गर्दै घुमिरहेको छ। उ यो अवधिमा १ हजार २ सय वटा लोकेसन आउजाउ गरेको जीपीएसले संकेत दिएको छ।’

जीपीएस कलर बाँध्ने बेलामा उसको तौल ३८ र उमेर ३ देखि ४ वर्षको थियो। मंसिर २ मा स्याम्लिङ गुम्बा नजिकैको ३ हजार ८ सय ८५ मिटर उचाइमा कलर बाँधेर छोडिएको स्याम्लिङ नामको हिउँ चितुवा पनि ६ हजार २ सय ५२ मिटरसम्म उक्लिएर अहिले तल झरेको छ। ५ महिना अवधिमा स्याम्लिङ नामको भाले हिउँ चितुवाले ३ सय ५५ किलोमिटर हिँडडुल गरेको छ।

पौडेलका अनुसार उसले ३५ वर्ग किलोमिटर क्षेत्रफललाई आफ्नो वासस्थान बनाएको देखिन्छ। ‘स्याम्लिङ सिकारको खोजीमा ३२५१ मिटरको उचाइसम्म झरेको देखिन्छ,’ पौडेलले भने, ‘१ हजार २२३ वटा लोकेसनमा उसले आउजाउ गरेको छ, दुवै सिकार खेल्दै, खाँदै रमाइरहेका छन्।’ कलर गरेर छाड्दा ३३ किलो तौल भएको स्याम्लिङको उमरे ४ देखि ५ वर्ष हो। तिनको रेखदेख स्थानीय समिति र युवाहरुले गरिरहेका छन्।

जीपीएस पोइन्टका आधारमा हिउँ चितुवाका गतिविधिका संकेत कम्प्युटरमा एसएमएसमार्फत प्राप्त हुन्छ। काठमाडौंबाट समेत दुवैको विचरणलाई अनुगमन गर्न सकिन्छ। तिनलाई काठमाडौंबाट नियालिरहेका डब्लूडब्लूएफ नेपालमा कार्यरत वरिष्ठ अनुसन्धान वैज्ञानिक गोकर्णजङ्ग थापाका अनुसार दुवै हिउँ चितुवा धेरै समय एउटै क्षेत्रमा बसेको देखिन्छ।

‘उनीहरुको २० देखि ३० प्रतिशत वासस्थल (होमरेन्ज) एउटै क्षेत्र हुने गरेको छ,’ थापाले भने, ‘अहिले भने जेबरोङ पूर्व र स्याम्लिङ पश्चिम भागतिर गएको देखिन्छ।’ उनका अनुसार सूदूरपूर्वको कन्चनजंघामा भन्दा शे फोक्सुण्डो निकुञ्जमा उसका आहार प्रजाति नाउर धेरै उपलव्ध भएकाले त्यति धेरै टाढाको यात्रा नगरेका हुन्।

थापाको भनाइमा आहारकै खोजीका लागि फोक्सुण्डोतिरका हिउँ चितुवाले धेरै धपेडी गर्ने गरेको पनि देखिन्न। ‘आहार धेरै उपलब्ध भएकाले ताप्लेजुङमा जस्तो दौडधुप गर्नु नपरेको देखिन्छ,’ उनले भने।

अनुसन्धानकर्ता कमल थापाका अनुसार नेपालमा पहिलो पटक हिउँ चितुवाबारे जर्ज स्यालर भन्ने विदेशी अनुसन्धानकर्ताले अध्ययन गरेका हुन्। सन् १९७० ताका उनी पोखराबाट ढोरपाटन हुँदै अध्ययनका लागि डोल्पासम्म पुगेका थिए। ‘उनैले नेपालमा हिउँ चितुवा छन् भनेर विश्वमा आवाज पुऱ्याएका हुन्,’ थापाले भने। त्यसको करिब १२ वर्षपछि अमेरिकी वन्यजन्तुविज्ञ रोड्नी ज्याक्सनले रेडियो कलर जडान गर्दै हिउँ चितुवाहरूको आहार र अवस्थाबारे अनुसन्धान गरेका थिए।

विभागकै नेतृत्वमा ताप्लेजुङको कञ्चनजंघा संरक्षण क्षेत्रका चारवटा हिउँ चितुवाको घाँटीमा स्याटेलाइट कलर जडान गरिएको थियो । त्यसले त्यहाँका चितुवाको विचरण चीनको तिब्बत र भुटानसम्मै हुने गरेको देखाएको थियो । हिउँ चितुवाको बासस्थान र विचरण थाहा पाउन र तिनको आहारको अवस्थाबारे अध्ययनका लागि २०७५ को भदौ १५ मा वनमन्त्री शक्तिबहादुर बस्नेतले १२ वटा हिउँ चितुवामा कलर जडान गर्ने निर्णय गरेका थिए। पहिलो चरणमा चालु आर्थिक वर्षमा शे फोक्सुण्डोमा २ वटा हिउँचितुवामा कलर जोडिएको हो। यही निकुञ्जमा थप २ वटामा पनि कलर जडान गरिनेछ। निकुञ्ज विभागका महानिर्देशक गोपालप्रकाश भट्टराईका अनुसार ५ वर्षभित्र अन्नपूर्ण मनास्लु क्षेत्रका थप ८ वटा हिउँ चितुवामा पनि कलर जोडिनेछ।

निकुञ्ज विभागका महानिर्देशक भट्टराई रेडियो कलरबाट प्राप्त सूचनाका आधारमा भविष्यमा संरक्षण रणनीति बनाउन र भू–परिधिस्तरीय सहयोग आदान प्रदान र अरु देशसँग समन्वय र सहकार्य गर्न सहयोग पुग्ने बताउँछन्।

हिउँ चितुवाको उपलब्धताका हिसाबले नेपालका संरक्षण क्षेत्रलाई तीन भागमा विभाजन गरिएको छ। कञ्चनजंघा संरक्षण क्षेत्र, मकालु बरुण, सगरमाथा र लाङटाङ निकुञ्ज तथा गौरीशंकर संरक्षण क्षेत्र समेटिएको पूर्वी ब्लक, मनास्लु संरक्षण क्षेत्र र अन्नपूर्ण संरक्षण क्षेत्र समेटिएको मध्यक्षेत्रको ब्लक र ढोरपाटन सिकार आरक्ष, शे–फोक्सुन्डो, रारा र खप्तड निकुञ्जसहित अपी नाम्पा संरक्षण क्षेत्र समेटिएको पश्चिम ब्लक गरी तीन ब्लकमा हिउँ चितुवा छन्। नेपालमा संरक्षित सूचीमा रहेको यो सुन्दर र आकर्षक वन्यजन्तु दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तराष्टिय व्यापार नियन्त्रण महासन्धि ९साइटिस० को अनुसूची १ मा छ भने आईयूसीएनले असुरक्षित सूचीमा राखेको छ। त्यसप्रति हिउँचितुवा विज्ञ सोम आले र सारुदत्त मिश्रले आपत्ति जनाउँदै संख्या बढेको यकिन नभइ उसलाई संकटनापन्नबाट अपग्रेड गर्न नहुने जीकिर गरेका छन्।

लजालु स्वभावको हिउँचितुवा नेपालसहित अफगानिस्तान, पाकिस्तान, चीन, किर्गिस्तान, कजाकस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, रुस, भुटान, भारत र मंगोलिया गरी १२ देशमा पाइन्छ । विश्वभर हिउँचितुवाको संख्या करिब ३ देखि ६ हजार अनुमान गरिएको छ।

पुरानो तथ्यांकअनुसार नेपालमा करिब ३ देखि ५ सयको हाराहारीमा छन्। १२ देशमा हिउँचितुवाका २३ भू–दृश्य क्षेत्र पहिचान गरिएका छन्। तीमध्ये तीन वटा नेपालमा पर्छन् । १२ देशमा यीनले विचरण गर्ने क्षेत्र (बासस्थान) १७ लाख ७६ हजार वर्गकिलोमिटर छ।





error: Content is protected !!