एक महिनाको अनुभवबाट न्यूयोर्कका डाक्टरहरूले सिकेका कोरोना उपचार विधि

द न्यूयोर्क टाइम्स
न्यूयोर्कका केही डाक्टरले कोभिड
एक महिनाअघि मात्र कोरोना भाइरस कहिल्यै नटुंगिने बिरामीको लाम बनेर न्यूयोर्कका अस्पतालमा प्रवेश गरेको थियो। महामारीका रूपमा दन्किँदो यो ज्वालाले हेर्दाहेर्दै अमेरिकालाई नै आफ्नो केन्द्र बनायो।
अहिले यहाँका चिकित्सक आफूले अपनाएको उपचार प्रणाली र अभ्यासबारे एकअर्कासँग अनुभव साट्न थालेका छन्।
प्रिय डाक्टरसाहेबहरू, तपाईंहरू फेरि मार्च महिनाका ती सुरूआती दिनहरूमा फर्किन पाउनुभयो भने के भन्नुहुन्छ?
यो प्रश्नमा न्यूयोर्कको लिंकन मेडिकल सेन्टरस्थित आइसियू फिजिसियन डा। नील केमालोभिक भन्छन्, जे कुरा थाहा छ जस्तो लागेको थियो, त्यसबारे हामी अनभिज्ञ रहेछौं।ु
हुन पनि यस किसिमका महामारी फैलाउने रोग ठीक पार्न जसलाई अचुक उपायु मानिँदै आएको थियो, ती रातारात फेल भए।
सबभन्दा ठूलो कुरा त, पहिले अक्सिजनको मात्रा ह्वात्तै घटेर बिरामीहरू गम्भीर अवस्थामा पुग्दा तुरून्तै मेकानिकल भेन्टिलेटरमा राखिन्थ्यो। यसपालि भने त्यस्ता बिरामीलाई जसरी हुन्छ ब्युँताइरहने, ओछ्यानमै ओल्टेकोल्टे पार्ने, कुर्सीमा बसाउने लगायत विधि अपनाइयो।
सिधै भेन्टिलेटरमा हुल्नुको सट्टा अतिरिक्त अक्सिजनका भरमा बढी समय बचाइरहने उपाय चिकित्सकहरूले प्रयोग गरे।
यसो गर्नुको कारण छ। लगातार बिरामीहरूको पिठ्युँ थप्थपाउँदा फोक्सो चलायमान रहन्छ। कतिपय चिकित्सकले त सुत्केरी महिलालाई जस्तै मालिस पनि गरिदिएका थिए, ताकि बिरामीको पेट र छातीमा हुने गह्रुँगोपन कम होस्।
केही डाक्टरले भने श्वासप्रश्वास निम्ति प्रयोग गरिने सिपिएपी मेसिन फरक तरिकाले प्रयोग गर्न थालेका छन्। यो मेसिन सामान्यतया सुत्ने बेला सास फेर्न अप्ठ्यारो हुने मानिसमा प्रयोग गरिन्छ। असाध्यै गम्भीर अवस्थाका बिरामीका लागि भने भेन्टिलेटर नै एकमात्र उपाय हुनसक्छ।
यति मात्र होइन, अब मानिसको सोच्ने क्षमता र कार्यक्षेत्रको परिधि पनि बढाउनुपर्ने अवस्था आएको छ।
एकातिर कोरोना भाइरसले चौबीसै घन्टा संक्रमण फैलाउने गरी आफूलाई सक्रिय राखेको छ, अर्कातिर फराकिला बैठककोठा, कफी पसलहरू धमाधम अस्पतालका वार्डमा रूपान्तरण हुँदैछन्। यदाकदा मात्र प्रयोग गरिने टेलिमेडिसिन प्रविधि एक्कासि व्यापक बनेको छ। परिवारसँग अलग्गिन बाध्य फिजिसियनहरू बिरामीको उपचार र स्वास्थ्यसम्बन्धी समाधान खोज्नमा दिनरात व्यस्त रहन थालेका छन्।
अमेरिकाको कनेक्टिकट, न्यूजर्सी र न्यूयोर्कमा मात्र यति बेला १२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने दुई लाख ६० हजारलाई संक्रमण पुष्टि भएको छ। बाँचेका र ज्यान गुमाएका दुवैथरिको पूरापूर परीक्षण नभएको अवस्थामा जे जति मृत्यु संख्या देखिएको छ, त्यो कम हुनसक्नेमा अधिकारीहरू सहमत छन्।
न्यूयोर्क क्षेत्रका डाक्टरले कोभिड–१९ सँग लड्न कुनै भरपर्दो तरिका सार्वजनिक गरेका छैनन्, न्यूजर्सीस्थित सेन्ट जोसेफ्स युनिभर्सिटी मेडिकल सेन्टरमा आपतकालीन स्वास्थ्य सेवाका सहायक प्राध्यापक डा आनन्द स्वामीनाथन भन्छन्।
महामारी फैलिएको धेरै समय नबितेको अवस्थामा चिकित्सकहरूले निकालेका उपाय कत्तिको प्रभावकारी छन् भनेर भनिहाल्ने अवस्था छैन।
यी तमाम उपायमा अन्ततोगोत्वा कुन चाहिँ सार्थक ठहरिएला भन्नेबारे कसैलाई जानकारी छैन।
केही महिनामै हामीले धेरै कुराको जवाफ पाउनेछौं भन्नेमा म ढुक्क छु, न्यूयोर्कस्थित माइमोनेडिस् मेडिकल सेन्टरको आपतकालीन विभागमा कार्यरत फिजिसियन डा रुबिन स्ट्रायर भन्छन्, कतै न कतैबाट संकेत नपाउन्जेल अहिल्यै त्यसबाट लाभ लिनसक्ने अवस्था छैन।
सास फेर्ने कोठा
बिरामीलाई कुरा गर्दागर्दै फोन छाड्न लगाएर श्वासप्रश्वास गराउने ट्युब लगाइदिनुपरेको अनुभव मैले जीवनमा यसअघि कहिल्यै गरेको थिइनँ,ु न्यूयोर्ककै बेलव्यू हस्पिटल सेन्टरमा १० दिन बिताएका डा। रिचर्ड लेभितान भन्छन्। डा लेभितानको यो अनुभव किन अनौठो भयो ?
किनभने, श्वासप्रश्वास गराउने ट्युब जुन भेन्टिलेटरमा जोडिएका हुन्छन्, त्यहाँसम्म पुगेका बिरामीको रगतमा अक्सिजनको मात्रा यति कम भइसकेको हुन्छ, उनीहरू फोन गर्नसक्ने अवस्थामा हुँदै हुँदैनन्।
होसमा छन् भने पनि उनीहरू प्रायः असंगत हुन्छन्। वा, यसरी बहकिएका हुन्छन्, उनीहरू त्यो ट्युबलाई झेल्नै नपरोस् भन्ने चाहन्छन्।
यति हुँदाहुँदै कोभिड–१९ का धेरैजसो बिरामी सतर्क अवस्थामै भेटिन्छन्। अक्सिजनको मात्रा एकदमै कम भइसकेकामा पनि त्यो सतर्कता देखिन्छ, जुन स्वास्थ्यकर्मीले पनि अनुमान मात्र लगाउन सक्छन्।
अर्को महत्वपूर्ण संकेत, कोभिड–१९ का बिरामी कति सिकिस्त छन् भन्ने उनीहरूको रगत परीक्षणबाट मात्र थाहा हुन्छ। यो कुरा प्रयोगशालाको रिपोर्ट नआउन्जेल कुनै चिकित्सकले बताउन सक्दैनन्।
केही बिरामी भने अक्सिजन लिँदै र ओछ्यानमा ओल्टेकोल्टे फेर्दाफेर्दै सामान्य अवस्थामा पुगिरहेका छन्। यसरी गरिने उपचारलाई प्रोनिङ भनिन्छ।
न्यूयोर्ककै क्वीन्सस्थित एल्महर्स्ट हस्पिटलको बेडछेउ टाँसिएको एउटा पर्चामा बिरामीले कति(कति बेला ओल्टेकोल्टे फेर्ने भन्ने जानकारी पनि उल्लेख छ। यसलाई न्यूयोर्ककै ब्रोंक्सको मोन्टिफियोर मेडिकल सेन्टर र म्यानहटनको माउन्ट सिनाई मेडिकल सेन्टरका डाक्टरले ट्वीटरमा व्याख्या गरेका छन्।
ब्रोंक्सकै लिंकन अस्पतालका चिकित्सक निकोलस कपुतोले त्यस्ता ५० जना बिरामी पछ्याए, जो रगतमा ६९ देखि ८५ प्रतिशत अक्सिजन बोकेर आएका थिए। जबकि, सामान्य अवस्थामा ९५ प्रतिशत हुनुपर्थ्यो।
ती बिरामीलाई अर्थोक केही गरिएन। केवल पाँच मिनेट ओल्टेकोल्टे पार्न लगाइयो। लगत्तै उनीहरूको रगतमा अक्सिजनको मात्रा ९४ प्रतिशत देखियो।
चौबीस घन्टा अवधिमा त झन्डै तीन (चौथाइको ुइन्ट्युबेसनु मुखबाट जोडिने अक्सिजनको पाइप) निकालिसकिएको थियो। तीमध्ये १३ जनालाई भेन्टिलेटर आवश्यक पर्यो। कतिपय चिकित्सकले भने यो विधिले बूढापाका बिरामीमा काम नगरेको बताएका छन्।
यो दीगो उपाय हो कि होइन भन्ने कसैलाई थाहा छैन, डा कपुतो भन्छन्, म मार्चको पहिलो सातामा फेरि पुग्न पाएँ भने बिरामीलाई एकैपटक इन्ट्युबेसन नदेऊ भन्थेँ।
मार्च अन्त्यतिर दिनकै थप तीन सय जनालाई अक्सिजन पाइप लगाइन्थ्यो। जबकि, यति बेला अक्सिजन लगाउनुपर्ने बिरामी संख्यामा दैनिक २१ जनाका दरले मात्र वृद्धि भइरहेको छ।
एक महिनाअघि स्वास्थ्य समुदायका मानिसले जति मात्रामा भेन्टिलेटरको आवश्यकता अनुमान गरेका थिए, त्यो अहिले घटेको छ। यसको अर्थ भेन्टिलेटरको अपरिहार्यता नकार्नु भने होइन।
यसरी अनुमान गरिएभन्दा बेग्लै परिस्थिति विकास हुनुको कारण के त ?
थुप्रै डाक्टरले कोभिड–१९ का बिरामीलाई श्वासप्रश्वासका अन्य बिरामीका तुलनामा इन्ट्युबेसनु ले कमै फाइदा पुग्ने राय प्रकट गरेका छन्। त्यस्तै, भेन्टिलेटरमा लामो समय राख्नाले अन्य जटिलता उत्पन्न हुने डर पनि उत्तिकै छ।
(कोभिड १९) का कारण फोक्सोको समस्या बोकेका बिरामीलाई इन्ट्युबेसनले कमै मात्र फाइदा गरेको देखिन्छ। उनीहरूलाई भेन्टिलेटर नचाहिन सक्छ। यस्तो अवस्थामा हामीमध्ये धेरै चिकित्सकले एकदमै आवश्यक नपरेसम्म इन्ट्युबेटर सकभर प्रयोग गरिरहेका छैनौं, डा स्ट्रायर भन्छन्।
यसरी लिइएको नयाँ रणनीतिले नर्सिङ कर्मचारी र सिंगो अस्पतालमाथिको भार केही हलुंगो पारिदिएको छ।
अस्पतालका तमाम स्रोत र प्रणाली पन्छाएर अत्यन्त जटिल उपचार प्रणाली र भेन्टिलेटरको थुप्रो लगाउँदै जाँदा त्यसले स्वास्थ्य क्षेत्रमै समस्या ल्याउने चिकित्सकहरू बताउँछन्।
सिकिस्त बिरामीलाई पनि सुत्केरीलाई मसाज गर्ने बेला राखिनेुम्याट्रेसु मै सुताएर सिपिएपीजस्ता मेसिनबाटै सामान्य अक्सिजन दिइनुपर्छ भन्ने डा लेभितानको मत छ।
उनले न्यूयोर्कस्थित आफू बसेको होटलमै यी साधन मगाएर बिरामीलाई अस्पताल पुर्याएका छन्। पहिलो बिरामीको रगतमा अक्सिजनको मात्रा ४० प्रतिशत थियो। उनी छोटोछोटो सास फेर्दै थिए। हृदयगति एकदमै तेज थियो। डा लेभितानले उनलाई नाकमै फिट हुने प्लास्टिकका ट्युब लगाएर सामान्य अक्सिजन दिए। त्यसपछि ती बिरामी महिलालाई घोप्टो परेर मसाज टेबलमा सुत्न लगाए।
दुई घन्टा सुत्नेबित्तिकै ती महिलाको रगतमा अक्सिजनको मात्रा ९० प्रतिशत देखियो। हृदयगति १०० भन्दा कम भयो। श्वासप्रश्वास सामान्य गतिमा हुन थाल्यो।
यति बेला डा। लेभितानका दाजुभाइले त्यस्ता थप म्याट्रेसु सहयोगस्वरुप प्रदान गरिरहेका छन्।
यसले के कस्तो परिणाम निकाल्छ भनेर हामीले हेर्नैपर्छ। तर, यो तर्कमा पर्याप्त दम छ, डा स्वामीनाथन भन्छन्, यस्तो परिस्थितिमा मोटोपना पनि स्वाभाविक हिसाबले जोखिमपूर्ण अवस्था हो।
युनिभर्सिटी अफ भर्मोन्टमा पल्मनरी एन्ड क्रिटिकल केयर मेडिसिनु बारे विज्ञता हासिल गरेका डा। जोस फार्कासका अनुसार प्रोनिङ (ओल्टेकोल्टे उपचार) विधिका जोखिम कम छन् ।
यो सुरक्षित र सजिलै गर्न सकिने साधारण तरिका हो, डा फार्कास भन्छन्, केही वर्षअघि मैले फाट्टफुट्ट बिरामीमा यसको प्रयोग गर्दा यति विस्तार होला र उपयोगी होला भनेर चिताएको थिइनँ।
यो प्रतिघन्टा सय माइलको रफ्तारमा चल्ने कारको इन्जिन फेरि बनाउनुजस्तै हो। केही साताभित्रै यो अभ्यास अझ प्रभावकारी ढंगले गर्न सक्ने सिपालु फेला परे म आश्चर्यचकित हुने छैन, डा स्वामीनाथन भन्छन्।
स्वास्थ्य क्षेत्र यति बेला अनुसन्धान गर्नुपर्ने अत्यन्त दबाबमा छ, तर ऊसँग पर्खन समय छैन।
हरेकले पर्यवेक्षण गरेका छन् र हरेकसँग विचार छ डा स्ट्रायर भन्छन्, विज्ञानले मात्र बाटो खोल्न सक्छ, जुन हामीसँग अहिलेसम्म उपलब्ध छैन।
दिनभरको अनिश्चितता र थकानले भरिएको कामको बोझ सकिएपछि हरेक साँझ डाक्टरहरू आ आफ्नो विवरण पहिल्याउँदै केही समाधान फेला परिहाल्छ कि भनेर घोत्लिन्छन्।
म एक्लै बस्ने गर्छु, डा स्ट्रायर भन्छन्, त्यसले म र मेरो आफ्नै कुशलता निम्ति पनि धेरै फाइदा दिने गर्छ।
दिनभरको काम सकिएपछि बेलुकी श्रीमती र केटाकेटीलाई भेट्न घर जानुअघि आफूलाई संक्रामक भाइरसबाट मुक्त गराउने प्रक्रिया डा स्वामीनाथनले पालना गर्छन्।
कतै अन्तै जाने विकल्प पनि हामीले अस्वीकार गर्यौं, उनी भन्छन्।
परिवारको साथले उनलाई शान्त बनाएको छ। उनी स्वास्थ्य क्षेत्रभन्दा बाहिरका साथीभाइसँग सामीप्यका लागि जुम सेसन मा आबद्ध छन्। त्यहाँ धेरै रमाइला गतिविधि हुन्छन्।
कसैले इङ्लिस नेसनल ब्याले म्यूजिसियनहरूले जुम सेसनमा स्वान लेक प्रस्तुत गर्न लागेको जानकारी ट्वीट गरेका थिए, उनले भने, मैले त्यो संगीतको आनन्द लिएँ। त्यसपछि मलाई सम्पूर्ण शरीर हलुका महशुस भयो।










