लकडाउनबीच कसरी रहने मानसिक रूपमा तन्दुरुस्त


डा नरेन्द्र ठगुन्ना, मनोविद्
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्न संसारभरका अधिकांश देशमा जस्तै नेपालमा पनि ‘लकडाउन’ छ । सामाजिक दुरी राख्न थालिएको करिब महिना दिन हुन लाग्यो । मानिस स्वभावैले सामाजिक प्राणी हो ।
सुरक्षादेखि बोलचाल र सामाजिकीकरणका लागि उनीहरूलाई समाजको आवश्यकता पर्छ । तर, ‘सेल्फ आइसोलेसन’मा लामो समय बस्दा मानसिक रूपमा असर पर्छ । प्रायःजसोमा चिन्ता बढ्ने, चिडचिडाहट तथा डिप्रेसनजस्ता लक्षण पनि देखिने अध्ययनहरूले देखाएका छन् ।
उपाय यस्ता
घरबाटै अफिसको काम गर्दा ‘हेल्दी डेल्ली रुटिन’ बनाउनुपर्छ । बिहानदेखि बेलुकीसम्म घरभित्रै गर्न सकिने धेरै काम छन् । ती सबैलाई काममा संलग्न गराउन सकिन्छ । यसकारण पनि एक्लिनबाट रोक्छ । सबैजना घरायसी काममा संलग्न भएमा अझ सहज हुन्छ ।
जो घरबाटै कार्यालयका लागि काम गर्दै हुनुहुन्छ, यसरी काम गर्दा पक्कै पनि अफिसको जस्तो प्रभावकारी नहुन सक्छ । जसका कारण, तनाव सिर्जना हुन्छ । तनाव हटाउन एक–एक घन्टाको फरकमा केही मिनेटको लागि ब्रेक लिनुपर्छ ।
पुस्तक पढ्ने, कथा–कविता लेख्ने, विभिन्न परिकारका खाना बनाउनेजस्ता रुचिमा पनि समयको व्यवस्थापन गर्न सकिन्छ । ‘चेस’, ‘क्यारेमबोर्ड’, ‘लुडो’जस्ता घरभित्रै खेल्न सकिने खेलमा पनि समय कटाउन सकिन्छ ।
हाम्रो लामो समय ‘इन्टरनेट’मा खपत हुने गर्छ । मनोरञ्जनात्मक पाटोबाहेक इन्टरनेटमा ‘डिजिटल डाइट’, पोषणसम्बन्धी तथा सकारात्मक रहने पद्धतिजस्ता उपयोगी सामग्री हेर्नुपर्छ । साथै, बच्चाबच्चीले के हेर्दै छन्, कस्तोखालको फिल्म हेरिरहेका छन्, त्यस विषयमा पनि सतर्क रहनुपर्छ ।
यीबाहेक, परिवारिक बातचित पनि अर्को सशक्त माध्यम हो । त्यस्तै, वृद्धवृद्धाका कुरा सुन्ने तथा उनीहरूका रमाइला क्षणलाई ‘रिकल’ गराउनसमेत सकिन्छ ।










