मन्त्री हेलिकप्टरमा, औषधि खच्चडमा

ललितबहादुर बुढा

सुर्खेत दुई साताअघि कर्णाली प्रदेश सरकारले हेलिकप्टर चार्टर गर्‍यो। कोरोनाको त्रासपछि दुर्गममा औषधि पुर्‍याउन भन्दै मन्त्रीहरू हेलिकप्टरमा उडे। हुम्ला, डोल्पा र मुगुमा केही थान पीपीई सेट, मास्क, सिटामोल र स्यानिटाइजर बाँडियो। केही स्वास्थ्य सामग्री छाडेर मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकासमन्त्री दल रावल सुर्खेत फिर्ता भए। तर, मन्त्रीहरूले हेलिकप्टरमा छाडेको त्यही औषधि र स्वास्थ्य सामग्री गाउँसम्म पुर्‍याउन अहिले स्थानीय तहलाई हम्मेहम्मे परेको छ।

सडक नपुगेको र हेलिकप्टरमा औषधि ढुवानी गर्न नसक्ने दुर्गमका स्थानीय तहले प्रदेश सरकारले बाँडेको औषधि गाउँ लैजान सकेका छैनन्।

केही उपाय नलागेपछि हुम्ला र डोल्पाका केही स्थानीय तहले खच्चड र मान्छेलाई बोकाएर औषधि ढुवानी गर्न थालेका छन्। मन्त्रीहरूले हेलिकप्टरमा लगेको औषधि पर्याप्त नहुँदा केही स्थानीय तहले भने आफैंले औषधि खरिद गरी खच्चडमा ढुवानी गरिरहेका हुन्।

मन्त्रीले हेलिकप्टरमा लगेको औषधि नाम मात्राको भएको स्थानीय तहको गुनासो छ। अधिकांश तहले त्यो औषधि पाएका पनि छैनन्। मन्त्रीले बाँडेको औषधि सदरमुकाममै थन्किएपछि दुर्गमका स्थानीय तह खच्चडबाटै औषधि ढुवानी गर्न बाध्य भएका हुन्।

मन्त्रीहरू हेलिकप्टरमा सदरमुकामसम्म पुगे। तर, हुम्लाको नाम्खा गाउँपालिकाले तीन दिन लगाएर खच्चडबाट औषधि गाउँ पुर्‍याएको छ।

‘प्रदेश सरकारले दिएको औषधि थोरै थियो’, गाउँपालिकाका उपाध्यक्ष पेमा तामाङले भनिन्, ‘हामीले साढे सात लाखको औषधि किन्यौं, हेलिकप्टरमा लैजान सकेनौं। खच्चडमा ल्याउँदा ढिला भयो, अब मान्छेलाई बोकाएर वडासम्म पुर्‍याउनुपर्छ।’ सडक सुविधा नहुँदा गाउँमा औषधि पठाउन समस्या भएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताए।

उनले भने, ‘प्रदेशले पठाएको औषधि अपुग भयो, अरू औषधि आएको छैन। भएको औषधि स्थानीय तहले खच्चडमा बोकाएर लगेका छन्, यसले पनि गाउँमा औषधि पुग्न समय लाग्यो।’

यस्तै, डोल्पामा पनि मन्त्रीहरू हेलिकप्टरमा पुगे। केही औषधि र स्वास्थ्य सामग्री सदरमुकाम दुनैमा छाडियो। ढुवानीका लागि जिल्ला र प्रदेशमा आग्रह गर्दासमेत सुनुवाइ भएन। अन्नतः माथिल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाले पनि खच्चडबाटै गाउँमा औषधि पुर्‍यायो।

करिब पाँच दिन लगाएर १४ वटा खच्चडमा औषधि गाउँ पुगेको गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत ओखराम तारामले बताए। ‘संकटको बेला प्रदेश र संघ सरकारले ढुवानीमा सहयोग गर्लान् भन्ठानेका थियौं, जिल्ला प्रशासनमा पनि सहयोग माग्यौं’, उनले भने, ‘सुनुवाइ नभएपछि खच्चडबाटै औषधि ढुवानी गर्न बाध्य भयौं।’

करिब पाँच लाखको औषधि खरिद गरी खच्चडमा ढुवानी गरेको उनको भनाइ छ। मन्त्रीहरू हेलिकप्टरमा आए पनि आफूहरूले औषधि नपाएको डोल्पाका स्थानीय तहको गुनासो छ।

मन्त्रीहरू हेलिकोप्टरमा जिल्ला पुगेको भोलिपल्टै अर्थात चैत २० गते डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाले औषधिभन्दा महँगो भाडा तिरेर हेलिकप्टर चार्टर गर्‍यो। भौगोलिक विकटताका कारण माथिल्लो डोल्पामा रहेको यो गाउँपालिकाले करिब चार लाखको औषधि र उपकरण गाउँमा पुर्‍याउन सात लाख २५ हजार भाडा तिरेर हेलिकप्टर चार्टर गर्नुपर्‍यो।

दुर्गममा कोरोना देखिए हेलिकप्टर चार्टर गरी सोही स्थानमा डाक्टर र औषधि पठाएर उपचार गर्ने प्रदेश सरकारको योजना छ।





error: Content is protected !!