जहाँ महिला नेतृत्व, त्यहाँ कोरोना नियन्त्रण अक्षम र विज्ञानलाई अस्वीकार गर्ने पुरुष नेताहरु ?

एजेन्सी
लेटा होङ फिन्चर , ताइवानमा शुरुवातमा नै लिइएका हस्तक्षेपकारी कदमहरुले यति सफलतापूर्वक कोरोनाभाइरसको महामारी नियन्त्रण गयो कि अहिले उसले लाखौँको संख्यामा मास्कहरु युरोपियन युनियन र अन्य राष्ट्रहरुमा निर्यात गरिरहेको छ ।

जर्मनीले युरोपकै सबैभन्दा बृहद कोभिड–१९ परीक्षण गरिरहेको छ जसमा हप्तामा ३ लाख ५० हजार परीक्षण हरेक हप्ता गरिँदैछ । यसले भाइरसको संक्रमणलाई पहिचान गरी उनीहरुलाई आइसोलेट गरेर प्रभावकारीरुपमा उपचार गर्न मद्दत मिलेको छ ।

न्युजिल्याण्डकी प्रधानमन्त्रीले शुरुवातमै पर्यटनलाई बन्द गरेर एक महिना लामो देशव्यापी लकडाउन लागू गरेकी थिइन् । जसले देशमा कोरोनाभाइरसबाट ज्यान गुमाउनेको संख्या मात्र चार जनामा सिमित बनेको छ ।

तीनै देशले कोरोनाभाइरसको महामारीविरुद्धको युद्धमा चालेको कदमले सबैको प्रशंसा बटुलेको छ । तीनै देश विश्वमान चित्रमा छरिएर रहेका छन्, एउटा युरोपमा, अर्को एसिया र अर्को दक्षिणी प्रशान्त क्षेत्रमा ।

तर यी देशहरुमा एउटै कुरा समान छ – तीन देशको नेतृत्व महिलाले गरेका छन् ।

यी तीनको सफलता तथा अन्य नेतृहरुद्वारा नेतृत्व गरेको सरकारले महामारीविरुद्ध चालेको कदमलाई सबैले ध्यान दिन जरुरी छ किनभने महिलाहरुले विश्वका नेताहरु मध्ये ७ प्रतिशतमात्र स्थान ओगट्छन् ।

शुरुवाती निर्णायक कदम

जनताको उच्च विश्वास प्राप्त सरकार रहेका यी बहुदलवादी प्रजातन्त्रिक देशहरुले शुरुवाती वैज्ञानिक हस्तक्षेपबाट महामारीलाई नियन्त्रण गर्न सफल भएका छन् । उनीहरुले बृहद परीक्षण, गुणस्तरीय स्वास्थ्य उपचारमा सजिलो पहुँच, आक्रामक कन्ट्याक्ट ट्रेसिङ (संक्रमितसँग सम्पर्कमा आएकाहरुको पहिचान) र सामाजिक जमघटमा कडा प्रतिबन्धलाई लागू गरेका थिए ।

२ .४ करोड जनता भएको ताइवानको जनसंख्या अस्ट्रेलिया कै हाराहारी रहेको छ । विश्व स्वास्थ्य संगठनको सदस्यसमेत नभएको यो राष्ट्र महामारीको ठूलो जोखिममा थियो । तर, जब ताइवानकी राष्ट्रपति त्साई इङ–वेनले गत वर्षको डिसेम्बरमा ऊहानमा रहस्यमय भाइरसले मानिसहरुलाई संक्रमित गरिरहेको समाचार सुनिन्, उनले तत्कालै ऊहानबाट आउने सबै विमानको जाँच गर्न आदेश दिइन् ।

उनले त्यसपछि महामारी कमान्ड केन्द्र स्थापना गरिन्, व्यक्तिगत सुरक्षा उपकरण ९पीपीई० र मास्कको उत्पादनमा वृद्धि गरिन् र चीन, हङकङ र मकाउको उडानमा प्रतिबन्ध लगाइन् ।

ताइवानले शुरुवाती चरणमा नै नियन्त्रणका आक्रामक उपायहरु अपनाउँदा देशमा हालसम्म ३९३ जनामात्र संक्रमित फेला परेका छन् भने ६ जनाले मात्र ज्यान गुमाएका छन् ।

जर्मनीमा ८.३ करोड जनसंख्या छ । त्यहाँ १ लाख ३२ हजार संक्रमित छन् तर अन्य योरोपिन देशहरुको तुलनामा मृत्युदर निकै कम छ । महामारी नियन्त्रणमा खेलेका भूमिकाका कारण क्वान्टम केमेस्ट्रीमा विद्यावारिधी हासिल गरेकी जर्मन चान्सलर एन्जेला मर्केलको ‘एप्रुभल रेटिङ’ वृद्धि भएको छ । जर्मनीमा यतिबेला युरोपभर कै सबैभन्दा धेरै आइसीयू बेड र बृहद कोरोना परीक्षण कार्यक्रम रहेको छ ।

‘सायद सरकारको उच्च तहमा तर्कसंगत निर्णय क्षमता र जनताको सरकारप्रतिको विश्वास नै जर्मनीको सबैभन्दा ठूलो शक्ति हो जस्तो लाग्छ,’ हाइडलबर्गमा रहेको युनिभर्सिटी अस्पतालका भाइरोलोजी विभागका प्रमुख हान्स–जिओर्ग क्राउस्लीचले न्युयोर्क टाइम्ससँग कुराकानी गर्दै भनेका थिए ।

५० लाख जनसंख्या भएको न्युजिल्याण्ड पर्यटनमा आश्रित रहेको छ । तर, प्रधानमन्त्री जसिन्डा आर्डेनले मार्च १९ मा नै विदेशी आगन्तुकका लागि न्युजिल्याण्डको सीमा बन्द गरिन् भने मार्च २३ मा पूरै देशमा लकडाउन लागू गरिन् । त्यसपछि देशभर नै कोभिड–१९ को परीक्षण शुरु गरियो र १३ सय बढी संक्रमित फेला पारियो । अहिलेसम्म न्युजिल्याण्डमा मात्र ९ जनाले ज्यान गुमाएका छन् । अहिले देश लकडाउनको अवधिको मध्यतिर छ तर आर्डेन यो चाँडै अन्त्य नगरिने बताउँछिन् ।

नर्डिक देशहरु

पाँचमध्ये चार नर्डिक देशहरुमा महिलाको नेतृत्व रहेको छ । ती देशहरुमा युरोपका अन्य राष्ट्रहरुको तलुनामा कम मृत्युदर रहेका छन् । उदाहरणका लागि फिनल्याण्डकी ३४ वर्षीया प्रधानमन्त्री विश्वकै युवा सरकार प्रमुख हुन् तर महामारीका लागि उनले गरेको तयारीका कारण उनको अप्रुभल रेटिङ ८५ प्रतिशत रहेको छ । ५५ लाख जनसंख्या भएको फिनल्याण्डमा हालसम्म ५९ जनाले ज्यान गुमाएका छन् ।

आइसल्याण्डकी प्रधानमन्त्री क्याट्रिन जाकोब्सडोटिरले ३ लाख ६० हजार जनसंख्या भएको सानो देशको नेतृत्व गर्छिन् । त्यहाँ ठूलो संख्यामा गरिएको परीक्षणले विश्वका लागि नयाँ जानकारी पनि दिएको छ – ५० प्रतिशत कोरोनाभाइरस संक्रमितमा लक्षण नै देखिँदैन । आइसल्याण्डले पनि शुरुवाती चरणमा नै हस्तक्षेप गरेर संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङको साथै संदिग्धलाई क्वारेन्टाइनमा राखेको थियो ।

पुरुषद्वारा नेतृत्व गरिएको एकमात्र नर्डिक देश स्वीडेनमा भने प्रधानमन्त्री स्टेफन लोफ्भेनले लकडाउनलाई अस्वीकार गर्दै स्कूल र व्यवसायलाई खुला राखेका छन् । त्यहाँ अन्य युरोपियन देशको तुलनामा त्यहाँ मृत्युदर निकै उच्च रहेको छ ।

अन्य महिला राष्ट्रप्रमुखहरु पनि कोरोनाभाइरसविरुद्ध लिएको कठोर कदमका कारण चर्चामा छन् । सिन्ट मार्टिनकी प्रधानमन्त्री सिल्भेरिया ज्याकब्सले ४१ हजार जनसंख्या भएको सानो करेबियन टापुको नेतृत्व गछिन् । तर, दुई हप्तासम्म ‘हलचल नगर्नु’ भन्दै जनतालाई जारी गरेको भिडियो सन्देश निकै भाइरल बनेको थियो । ‘तपाईंहरुलाई मनपर्ने रोटी घरमा छैन भने क्र्याकर खानुहोस् । रोटी नै छैन भने ओट्स र सिरियल्स खानुहोस्,’ उनले कडा स्वरमा भनेकी थिइन् ।

अक्षम, विज्ञानलाई अस्वीकार गर्ने पुरुषहरु ?

दक्षिण कोरियाका राष्ट्रपति मोन जे इनले देशमा कोरोनाभाइरस संक्रमणको रोकथामका लागि लिएको कदमका कारण निकै वाहवाही बटुलेका छन् । तर, धेरै राष्ट्रहरुमा असक्षम र विज्ञानलाई अस्वीकार गर्ने पुरुषहरुको कारण कोरोनाभाइरस खतरनाक महामारीको रुपमा फैलिएको छ ।

अहिले महामारीको केन्द्रविन्दु बनेको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुरुवातमा भाइरसलाई ‘हौवा’ भन्दै डेमोक्रेटिक पार्टीले यसलाई राजनीतिक गरेको आरोप लगाउँथे । उनले महिनौँसम्म शीर्ष वैज्ञानिकहरुले दिएको चेतावनीलाई बेवास्ता गरे । जसले गर्दा अहिले त्यहाँ ५ लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने २५ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।

उता, बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पनि जनस्वास्थ्यको समस्यालाई नकार्दै अन्य देशमा लकडाउन लागू भइसक्दा पनि लामो समयसम्म सामाजिक जमघटमा प्रतिबन्ध लगाएनन् । कोभिड–१९ ले थला पर्दै अस्पतालमा भर्ना हुनअघिसम्म उनले रिपोर्टरहरुलाई भन्दै थिए – मलाई भाइरसले अस्पतालका रोगीहरुसँग हात मिलाउन रोक्दैन ।

अहिले नै कुन नेताले कोरोनाभाइरसको नियन्त्रणमा उचित कदम चाले भन्ने यकिन गर्न नसकिएला तर माथिका उदाहरणले शुरुवाती चरणमा नै भाइरसको नियन्त्रण र रोकाथामका लागि कदम उठाउने महिला नेतृ नै थिए भन्ने चाहिँ पक्कै देखिएको छ ।

https://ratopati.com/story/126300/2020/4/15/women-leaders-are-doing-a-disproportionately-great





error: Content is protected !!