विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको रकम रोक्न ट्रम्पले दिए

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई दिँदै आएको रकम बन्द गर्न निर्देशन दिएका छन्। कोरोना भाइरसको महामारी रोक्ने जिम्मेवारी निर्वाह गर्न डब्लुएचओ असफल भएको भन्दै ट्रम्पले आफ्नो प्रशासनलाई रकम बन्द गर्न निर्देशन दिएको जनाएका हुन्।

चीनबाट कोरोना भाइरस सुरु भएपछि डब्लुएचओ यसलाई सम्हाल्न असफल भएको र सही परिस्थितिलाई लुकाएको आरोप पनि उनले लगाएका छन्। यसअघि उनले डब्लुएओ चीनकेन्द्रित भएको आरोप लगाउँदै आएका थिए।

यद्यपि महामारी रोक्न सही तरिकाले काम नगरेको भन्दै ट्रम्प अमेरिकाभित्रै आलोचित छन्। अमेरिकामा २५ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने करिब ६ लाख संक्रमित भएका छन्।

अमेरिकाले डब्लुएचओलाई सबैभन्दा बढी फन्ड दिँदै आएको छ। गत वर्ष यसले डब्लुएचओलाई ४० करोड डलर दिएको थियो। चीनले भने ४ करोड डलर दिन्छ।

ट्रम्पले कोरोना भाइरसको संक्रमण रोक्न डब्लुएचओको भूमिकाको बारेमा पनि समीक्षा हुने बताएका छन्।

ह्वाइटहाउसमा आयोजित प्रेस ब्रिफिङमा बोल्दै ट्रम्पले देशको स्थिति सामान्य गर्न आफूले काम गरिरहेको बताएका थिए। उनले भनेका छन्, ‘म सबै ५० गभर्नरसँग चाँडै कुरा गर्नेछु र योजनाबद्ध रुपमा काम गर्ने जिम्मेवारी दिनेछु।’

यसअघि पनि ट्रम्पले डब्लुएचओलाई दिँदै आएको रकमका बारेमा प्रश्न उठाएका थिए। अमेरिकाले आफूलाई विश्व जलवायु सम्झौताबाट पनि अलग गराएको छ भने ट्रम्पको निशानामा विश्व व्यापार संगठन पनि छ।





error: Content is protected !!