नयाँ वर्ष २०७७ आरम्भ

काठमाडौं, १ वैशाख । आजबाट नयाँ वर्ष २०७७ आरम्भ भएको छ । वि सं को नयाँ वर्ष चुनौतीपूर्ण रहेको विश्वले भोगिरहेको कोरोना भाइरसको महामारीका कारण पनि प्रष्ट छ ।

इतिहासमै सबैभन्दा खल्लो नयाँ वर्षका रुपमा यसलाई लिइएको छ । नयाँ वर्षमा नेपालीहरु घरभित्रै लकडाउन पालना गर्नुपर्ने अवस्थामा छन् ।
नेपालपोष्ट खवर आफ्ना पाठक र शुभचिन्तकहरुलाई नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ । जस्तोसुकै कठिन घडीमा पनि समयको चक्र चलिरहने हुँदा नयाँ वर्ष भव्यताका साथ नमिलेपनि सभ्य तरिकाले आ आफ्नै स्थानमा बसेर मनाउन मिल्ने नै छ । २०७७ साल सकारात्मक र रचनात्मकको वर्ष होस् भन्ने कामना गर्दछ ।

यो यात्रामा पाठक, विज्ञापनदाता र सबै शुभचिन्तकको स्नेह र हौसलाका लागि हामी कृतज्ञ छौँ । अझै निर्भीकताका साथ अझै अनुसन्धानमुखी, अझै वस्तुनिष्ठ र थप स्थलगत रिपोर्टिङबाट हामी यो ऋण तिर्नेछौँ ।

पत्रकारिता सत्तालाई खुसी पार्न सक्ने पेसा होइन । निर्भय र निष्पक्ष पत्रकारिताले सबैभन्दा उद्वेलित कसैलाई बनाउँछ भने त्यो सत्ता हो । सत्तासँग हाम्रो कुनै पूर्वाग्रह छैन, प्रश्नहरू अवश्य छन् । जहाँ जनताको आकांक्षा र सत्ताको स्वार्थ बाझिन्छ, हामी हमेसा र विनासर्त जनताको पक्षमा छौँ ।

हामीले प्रस्तुत गर्ने सामग्रीप्रति जिम्मेवार र जवाफदेहिताबाट हामी आफैँ पनि उन्मुक्त छैनौँ । हरेक विहान देखि बेलुकी सम्म लाखौँ पाठकका अदालतमा खडा हुन्छ । त्यही नै हाम्रो अन्तिम अदालत हो र त्यसको आदेश हाम्रा लागि परमादेश हो । आदरणीय पाठकबाहेक अरू कसैको प्रमाणपत्र हाम्रा लागि अपेक्षित छैन ।

हामी जिल्लामुखी मात्र छैनौँ । अबको पत्रकारिता केन्द्रमुखी भएर मात्र हुदैन । शासनले बिर्सेका सीमान्त वर्ग, सामाजिक रुढी, अपारदर्शिताविरुद्ध हाम्रो प्रहार विनासम्झौता जारी रहनेछ ।
सम्पादक ( नेपालपोष्टखवर डट कम )





error: Content is protected !!