बिरालो किन साथीजस्तो लाग्दैन ?

बीबीसी । बिरालो एकमात्र यस्तो असामाजिक जनावर हो जसलाई हामीले सफलतापूर्वक घरपालुवा बनाउन सकेका छौँ । यसकारण पनि हामी बिरालोसँग कुकुर जति सजिलै मिल्न सक्दैनौँ । कुकुरसँग मान्छेको सम्बन्ध चाँडै गहिरो हुने गर्दछ तर बिरालोलाई बुझ्न अधिक जटिल रहेको विज्ञहरु बताउँछन् ।

कुकुरहरु जैविक हिसाबले आफ्नो भित्री चाहाना र मुड लुकाउन सक्षम हुँदैनन् । यसले पुच्छर हल्लाएर, भुकेर, सुँघेर आफ्नो भावना पोखिरहेको हुन्छ जबकी बिरालो यस्ता संकेत कमै दिने गर्छन् । वास्तवमा बिरालोहरुको शारीरिक हाउभाउ जटिल हुनाले पनि हामीलाई बुझ्न गाह्रो हुने गर्दछ । यसले पुच्छर बटारेर र जुँगा अनि कानको पोजिसनमा बदलाव ल्याइ आफ्नो अवस्थाको संकेत दिइरहेको हुन्छ । यसरी हजारौँ वर्षदेखि कुकुर जसरी नै बिरालोले पनि मान्छेको नजिक जीवन यापन गरिरहेतापनि हामीलाई अझै यो साथी जस्तो लाग्दैन ।

यता बिरालो पालेकाहरु यी भनाइप्रति असन्तुष्ट हुन सक्छन् किनकी आफ्नो बिरालोसँगको सम्बन्ध उनीहरु घनिष्ठ रहेको मान्दछन् । तर अझैपनि बिरालोको छवि विश्वव्यापी रुपमा कुकुर जति प्रिय बन्न सकेको छैन । बिरालोहरुको लोकप्रियता कम हुनुका पछाडि परम्परागत रुपमा यिनलाई पाल्ने तरिका जिम्मेवार रहेको बताइएको छ । वैज्ञानिकहरुका अनुसार प्राचीन समयमा बिरालोहरु आफ्नो लागि आहारका निम्ति मान्छेमा निर्भर रहँदैनथे । उनीहरु आफ्नो खाना आफैँ खोज्थे । अर्कोतर्फ कुकुरहरुको इतिहासमा चाहिँ यिनले मान्छेलाई शिकार गर्न मद्दत गर्ने र खानाका लागि प्रायः मान्छेमै निर्भर रहने गरेको पाइएको छ ।

त्यसैले पनि प्रायः मानिसहरुले बिरालोलाई गतल बुझिरहेको केरेन हाइसटन्ड बताउँछिन् जो ‘इन्टरनेस्नल क्याट केयर’ की भेट र प्रायोजक हुन् । उनी भन्छिन्, “कुकुर र मान्छे एकअर्कासँग धेरै मिल्दाजुल्दा हुन सक्छन् र अत्यन्तै लामो समयदेखि सँगै बस्दै आएका छन् । तर बिरालो ऐतिहासिक रुपमा एक स्वतन्त्र र असामाजिक प्राणी हो । मानिसको जीवनमा यसले धेरै ढिलो प्रवेश गरेको हो । ” हामीले पाल्ने गरेका अरु सबै जीवहरु आफ्नो प्रजातिसँग मिल्ने र सम्बन्ध बनाउने किसिमका हुन्छन् तर बिरालो आफ्नो विपरित लिङ्गसँग मिलापका लागि मात्र बेलाबेलामा अर्को बिरालोसँग सम्पर्कमा आउने गर्दछ । केरेन भन्छिन्, “यसकारण बिरालोहरु आफ्नो ख्याल राख्न आफैँ बढी समर्पित हुने गरेकाले पछिल्लो समय यिनको माग बढिरहेको छ । तर बिस्तारै मान्छेहरु बिरालोबाट कुकुर जस्तो अपेक्षा राख्न थाल्छन् र मान्छे समान व्यवहार गरोस् भन्ने चाहान्छन् जुन तिनका लागि सम्भव कुरा होइन ।”

यसरी बिरालोहरुमा हालसम्म गरिएका अध्ययन अनुसन्धान पनि कुकुरको तुलनामा थोरै सङ्ख्यामा रहेका छन् । तिनको भावना र सामाजिक क्षमतामा पहिले भन्दा धेरै सुधार आइसकेपनि अझै उनीहरु पहिलो चरणमै भएको विज्ञहरुको भनाइ छ । उनीहरुका अनुसार बिरालोले आफ्नो प्रारम्भिक जीवनमा मान्छेबाट सकारात्मक अनुभव प्राप्त गरे मात्र मान्छेसँग समय बिताउनमा रुची राख्नेछन् । बिरालोमा कम मांसपेसी हुनेहुँदा तिनको नजर पनि अधिक डरलाग्दो र क्रुर लाग्ने गर्दछ तर वास्तवमा यो उनीहरुको आफ्नै संवाद गर्ने शैली हो ।





error: Content is protected !!