युद्धको मैदानबाट जिउँदै फर्केको अनुभूति

कोरोना भाइरसको संक्रमणले फुर्सदमा बसेका रवि नेपाललाई उनका साथीले डायमन्ड प्रिन्सेस क्रुजको सफाइ गर्ने अफर गरे । रविलाई एक घन्टामा निर्णय गर्नुपर्ने थियो । यो प्रस्ताव उनका लागि ढुंगाको चिउरा चपाएजस्तै थियो । तर, सवाल पैसाको पनि थियो ।

कोरोना भाइरसका कारण कम्पनीहरू बन्द हुँदै जाँदा रोजगारी गुम्ने त्रासमा रहेका उनलाई यो पैसा कमाउने राम्रो अवसर थियो । त्यसैले उनी लोभिए । तर, क्रुजको भित्र जानु भनेको मृत्युको मुखमा गएबराबर थियो । बाच्नु र मर्नुको विकल्पमा उनले बाँच्नकै लागि मृत्युको मुखमा जाने निर्णय गरे ।

जापानको योकोहामा पोर्टबाट २० जनवरीबाट दुई हप्ताको यात्रामा निस्किएको डायमन्ड प्रिसेस क्रुज कोरोना भाइरसको चपेटामा परेको थियो । क्रुजमा यात्रा गरेका एक यात्री २५ जनवरीमा हङकङमा उत्रिएका थिए । उनले १ फेब्रुअरीमा हङकङमा कोरोना परीक्षण गराए । उनलाई कोरोना पोजेटिभ भेटियो । ३ फेब्रुअरीमा क्रुजका क्याप्टेनलाई यो सूचना दिइएको थियो । त्यसपछि ४ फेब्रुअरीमा योकोहामा पोर्टमा पुगेको क्रुजलाई केही दिनसम्म लक गरियो । भित्र रहेका यात्रुलाई जापानले बाहिर निस्कन दिएन ।

क्रुजमा दुई हजार ६६६ यात्रु सवार थिए । एक हजार ४५ जना क्रु–मेम्बर थिए । क्रुजमा भारतीय, अमेरिकी, क्यानेडियन र इटालियन नागरिक समेत थिए । क्रुजलाई पोर्टमै बन्द राखियो । स्वास्थ्यकर्मीले परीक्षण गर्दा ७०५ जनामा कोरोनाको संक्रमण भेटियो । जसमध्ये एक सय ५० जना क्रु–मेम्बर थिए । चारजनाको क्रुजभित्रै मृत्यु भयो भने अस्पतालमा उपचार गर्दागर्दै ६ जनाको मृत्यु भयो । मृत्यु हुनेमा ५ जना जापानिज यात्रु थिए भने एक ब्रिटिस नागरिक थिए ।

लन्डनस्थित प्रिसेस कम्पनीको सो क्रुज अत्यन्त सुविधासम्पन्न मानिन्छ । क्रुज १७ तलाको छ । यात्रुका लागि छुट्याइएको प्रत्येक तलामा ८ सयवटा कोठा छन् । क्रुजभित्र रहेका यात्रुमा कोरोना संक्रमण भेटिएपछि क्वारेन्टाइनमा राखिएको थियो ।

रवि सोही क्रुजको सफाइमा गएका थिए । टोकियोको उत्पादन कम्पनीमा काम गर्दै आएका रविलाई केही दिनका लागि कम्पनीले बिदा दिएको थियो । त्यही समयको सदुपयोग हुने भन्दै उनी योकोहामामा रहेको डायमन्ड प्रिन्सेस क्रुजको सफाइका लागि निस्किएका थिए ।

क्रुज सफाइका लागि लन्डनको वेलफेयर कम्पनीले जिम्मा लिएको थियो । कम्पनीले अमेरिका, अफ्रिकालगायत मुलुकबाट ६ सयजना कामदार ल्याएको थियो । जसमध्ये जापानमा काम गर्दै आएका उनीसहित ६ जना नेपाली पनि थिए । एक घन्टामा निर्णय गरेर उनी ११ मार्चको रातारात योकोहामातिर हानिए । करिब तीन घन्टाको यात्रापछि उनी योकोहामा पोर्टमा पुगे ।

क्रुजमा सफाइ गर्ने कामदारलाई समूह–समूहमा बाँडिएको थियो । समूहको जिम्मेवारी फरक–फरक थियो । फरक–फरक सिफट्मा काम लगाइएको थियो । उनी दिउँसोको सिफट्मा परे । पहिलो दिन उनी बिहान ७ बजेर ४५ मिनेटमा पोर्टमा पुगे । बिहानको नास्तापछि उनको ड्युटी सुरु भयो । क्रुजमा प्रवेश गर्नुअघि सुरक्षाका लागि ड्रेस दिइएको थियो । रविको समूहको जिम्मेवारी भनेको क्रुजमा डिस इन्फेक्टेट औषधि छर्कनु थियो ।

पहिलो दिन क्रुजभित्र छिर्दा उनलाई मृत्युको मुखमा छिरेजस्तै भयो । कम्पनीले उनीहरूलाई सुरक्षाका लागि सबै ड्रेस उपलब्ध गराएको थियो । त्यो पनि उनले डबल लगाएका थिए । कम्पनीले सुरक्षित हुनेमा विश्वस्त गराए पनि उनको मनले भने मानेको थिएन । सम्झौता गरेपछि उनी फर्कन भने सकेनन् । त्यसैले क्रुजभित्र छिरे ।

पहिलो दिन क्रुजभित्र छिर्दा उनलाई मृत्युको मुखमा छिरेजस्तै भयो । कम्पनीले उनीहरूलाई सुरक्षाका लागि सबै ड्रेस उपलब्ध गराएको थियो । त्यो पनि उनले डबल लगाएका थिए । कम्पनीले सुरक्षित हुनेमा विश्वस्त गराए पनि उनको मनले भने मानेको थिएन ।

क्रुजका प्रत्येक कोठाको ढोकामा सूचना टाँसिएको थियो । कोरोनाले मृत्यु भएका कोठा, संक्रमित भएका कोठा, उच्च जोखिमा रहेका कोठा भनी सूचना टाँसिएको थियो । मृत्यु भएका कोठालाई अझै पनि खोल्न नदिएको रवि बताउँछन् ।

क्रुजभित्र छिर्दै गर्दा सुरुमा उनलाई असहज भयो । प्रत्येक वस्तुलाई सावधानीपूर्वक छुनुपर्ने थियो । सानो गल्तीले कोरोना संक्रमण हुने सम्भावना थियो । त्यसैले सुरुमा त उनको सास नै रोकियो । ‘काम छाडेर भागूँ जस्तो पनि लागेको थियो,’ उनले भने । तर, नेपालमा जस्तो मनलाग्दी नियम तोड्न यहाँ पाइँदैन । त्यसैले डरलाई नियन्त्रण गर्दै उनी स्प्रे छर्दै अगाडि बढे । दोस्रो दिन उनलाई अलिक सहज अनुभव भयो ‘प्रत्येक पाँच–पाँच मिनेटमा आफैँलाई पनि स्प्रे गर्थेँ,’ उनले भने ।

ड्युटी सकिएर क्रुजबाट निस्किएपछि पनि उनमा त्रास बाँकी रहन्थ्यो । कतै ज्वरो आउँछ कि, खोकी लाग्छ कि, रुघा लाग्छ कि भनेर उनी त्रसित भइरहन्थे । बारम्बार आफ्नो तापक्रम आफैं नापिरहन्थे ।

क्रुजभित्र जाँदा लगाउने ड्रेस प्रत्येक दिन परिवर्तन गर्नुपथ्र्यो । त्यति मात्रै होइन, शौचालय गएपछि पनि पूरै ड्रेस परिवर्तन गर्नुपथ्र्यो । खाना खानुपरेमा क्रुजबाहिर निस्कनुपथ्र्यो ।

क्रुज सफाइका लागि २० दिनको सम्झौता भएको थियो । दिनमा आठ–आठ घन्टा काम गर्नुपर्ने थियो । तर, जापान सरकारले क्रुजलाई योकोहामा पोर्टबाट छिटो निकाल्न दबाब दिएपछि कामको घन्टा बढाइएको थियो । दिनमा १४ घन्टासमेत काम गर्नुपर्‍यो । १३ दिनमा काम सकाएर २५ मार्चमा उनी टोकियो फर्किए ।

अहिले सेल्फ क्वारेन्टाइनमा छन् । अन्तिम दिनमा कम्पनीले उनको सबै स्वास्थ्य परीक्षण त गरेको थियो । तर, पनि त्रासमा छन् । उनी भन्छन्, ‘युद्धको मैदानबाट जिउँदै फर्केजस्तो लागेको छ ।’





error: Content is protected !!