वीरेन्द्रनगरको टुनी खोलामा डुबेर दुई बालिकाको मृत्यु

सुर्खेत ः सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० स्थित टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालिकाको मृत्यु भएको छ।
शनिबार बेलुका करिब ६ः३० बजे वीरेन्द्रनगर–१० पठानटोल बस्ने दिपक थापाकी १५ वर्षीया छोरी सम्झना थापा र सोही स्थानका मानबहादुर रावतकी अन्दाजी १३ वर्षीया छोरी कल्पना रावत खोलामा पौडी खेल्ने क्रममा डुबेका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी सुब्बाकुनाबाट प्रहरी सहायक निरीक्षक अनिलकुमार शाहीको कमाण्डमा ५ जनाको प्रहरी टोली खटिएको थियो। प्रहरीले दुवै बालिकाको उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत पठाएको थियो।
तर साँझ ७ः४० बजे अस्पताल पु¥याइएका दुवै बालिकालाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कविन्द्र सिंह बोहराले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







