खोला सुस्ताय मात्र गाडी पुग्छन्


हेमन्त केसी
जाजरकोट , भौगलिक रुपमा सहज भएपनि विकासको हिसावले पश्चिम जाजरकोटमा अझै प्रभावकारी यातायात सेवा सञ्चालन हुँन सकेको छैन् ।
दशै , तिहार नजिकै आएपनि स्थानीयवासीहरु हिडेर घर पुग्ने गरेका छन् । थाप्लोमा नाम्लो र पिठ्यूँमा आफै भन्दा बढी तौलका सामग्री बोकेर अहिले पश्चिम जाजरकोटका स्थानीयवासीहरु घर पुग्न बाध्य छन् ।
सडक छ तर यातायातका साधनहरु चल्दैन्न , यातायात विहिन सडकमा स्थानीयवासीहरु पसीना चुहाउदै विहान देखि राती अवेर सम्मा हिड्ने गर्दछन् । दशै , तिहारका लागि खाद्यान्न , अन्य सामग्री खरिद गरेर गाउँ सम्म पुग्न यहाँका स्थानीयलाई हम्मे , हम्मे परेको जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बताउनुभयो ।
उहाँले भन्नुभयो , “हामी चाहेर पनि यातायातका साधनहरु सञ्चालन गर्न सकिरहेका छैनौँ, पानी पर्न वितिकै खोलामा पानीको वहाव बढ्छ् , अनि यातायाता ठप्प हुन्छ , ।” छेडा –जुनिचाँदे सडक बीचमा रहेको शिबालयको मोर्कमा विगत ७ वर्ष देखि यातायात चल्ने पुल निर्माण नहुँदा यातायात सञ्चालन हुँन नसक्नु पहिलो समस्य हो ।
आकाशमा बादल लाग्न वितिकै पानी पर्न सुरु हुन्छ , पानी पर्नु भनेको मोर्कमा खोला बढ्नु हो , त्यसपछि यातायात ठप्प हुन्छ स्थानीय पुर्ण समिर महतराले भन्नुभयो । उहाँले भन्नुभयो , “ सात वर्ष सम्म एउटा पुल निर्माण नहुँन कम्ति लाज लाग्ने कुरा हो , राज्य कहाँ छ ? न हाम्रोमा फोन छ , न त प्रभावकारी स्वास्थ्य सेवा ।”
सडक सुचारु नहुँदा पश्चिम जाजरकोट जुनिचाँदे गाउँपालिका , शिवालय गाउँपालिका र छेडागाड नगरपालिका स्थानीयवासीले सहज रुपमा उपचार गर्न पाएका छैन्न । भरपर्दो स्वास्थ्य संस्था पश्चिम जाजरकोटमा नभएका कारण यहाँका स्थानीयवासीहरु सुर्खेत र नेपालगन्ज जानुपर्ने बाध्यता रहेको छ । सहज रुपमा यातायातको पहुँच नभएका कारण जिल्ला बाहिर उपचार गर्न जान मुस्किल भएको जुनिचाँदे गाउँपालिका लुहादहका रेशमबहादुर खड्काले बताउनुभयो ।
चुनावको वेला निकै हल्ला हुँने पुर्व सभाषद् राजिवविक्रम शाहको छेडागाडको वडाबनमा निर्माण कार्य थालिएको निजि हस्पीटल अहिले सम्म निर्माण हुँन सकेको छैन् । लथालिङ अवस्था रहेको सो हस्पीटल कहिले निर्माण हुन्छ र सेवा कहिले सुरु हुन्छ स्थानीयवासीले प्रश्न गर्न थालेका छन् ।
एक मात्र ५० शैयाको जिल्ला अस्पताल पुर्वी जाजरकोटमा पर्दछ । त्यस्तै आयूरवेद कार्यालय पनि पुर्वी जाजरकोटमै छ । पश्चिम जाजरकोटमा रहेको स्वास्थ्य संस्थामा एम विविएस चिकित्सकको दरवन्दी भएको जुनिचाँदे गाउँपालिकाको गर्खाकोटमा एक वर्ष देखि चिकित्सकको दरवन्दी छ तर चिकित्सक छैन्न ।
सामान्य स्वास्थ्य समस्य आएपनि यहाँका स्थानीयवासीहरु उपचारका लागि छामेर उपचार गरिने स्वास्थ्य संस्थामा गएर सिटामोल लिएर आउँनु बाहेक अन्य सेवा ग्रामीण क्षेत्रमा पाउन नसकेको शिबालय गाउँपालिका – ५ रितेश सिंहले बताउनुभयो । गाउँ , गाउँमा निर्माण भएका ग्रामीण सडकहरु वर्षायाममा क्षत, विच्छेद भएका कारण सञ्चालनमा छैन्न ।
तिहार पछि मात्र ग्रामीण सडक सञ्चालनमा आउँन सक्ने स्थानीय तहको भनाई रहेको छ । पानी पर्ने क्रम नरोकिएका कारण सडक निर्माणमा चुनौति थपिएको स्थानीय तहको भनाई छ । हिउद्यामा खन्दै , वर्षायाममा भत्काउदै गर्दा वर्षेनी ग्रामीण भेगमा करोडौ बजेट माटोमा मिल्ने गरेको छ । स्थानीय सरकारले भारी बजेट सडक निर्माणमै लगाएपनि त्यो बजेट वर्षायामको भलले सकाईदिने गरेको पाईन्छ ।
स्थानीय सडकहरु हिउद् याममा मात्र चल्ने भएकाले स्थानीय सर्वसाधारणहरु मर्कामा परेका छन् । करोडौका सडक निर्माण गरिन्छ तर पानी नपर्ने समयमा मात्र यातायात प्रयोग गर्न पाईन्छ , यसको मारमा स्थानीय सरकार पनि परेका छन् स्थानीयवासीहरु बताउँछन् । वर्षायाममा स्थानीय तहले आफ्ना गतिविधीहरु सक्रियताका साथ सञ्चालन गर्न नसकेको उनीहरुको भनाई छ ।








