कर्णालीमा एक प्रतिशत मात्रै सडक

सडक सञ्जालमा कर्णाली प्रदेश सबैभन्दा पछाडि देखिएको छ । देशभर भएको सडकको एक प्रतिशत मात्रै कर्णालीमा सडक रहेको देखिएको छ ।

सरकारी तथ्यांकअनुसार, अहिले देशभर ७० हजार चार सय ७४ किलोमिटर सडक सञ्जाल विस्तार भएको छ । तर, कर्णालीमा एक हजार तीन सय २१ किलोमिटर मात्र सडक सञ्जाल रहेको पाइएको छ । कर्णाली प्रदेश सरकारले सार्वजनिक गरेको ‘तथ्यांकमा कर्णाली’ सबैभन्दा कम सडक सञ्जाल देखिएको हो । कर्णाली प्रदेशले देशको झन्डै २२ प्रतिशत क्षेत्रफल ओगटेको छ । तर, त्यसअनुसार, सडक सञ्जाल विस्तार हुन सकेको छैन । कर्णालीका डोल्पामा सडक विस्तार नभएको र हुम्लामा ६० किलोमिटर मात्रै सडक रहेको छ ।

प्रदेशमा रहेको सडकमध्ये पनि पाँच सय ९६.७७ किमि सडक मात्र कालोपत्रे रहेको छ । त्यस्तै, ६२ किमि सडक ग्राभेल र ५ सय ६२.६६ किमि धुले सडक रहेको छ । प्रदेशका १० जिल्लामध्ये हुम्ला सदरमुकाम केही समय अघि मात्र सडक सञ्जालले जोडिएको छ भने डोल्पामा अझै सडक सञ्जालले जोडिएको छैन ।

कर्णालीको सबैभन्दा बढी दैलेखमा दुई सय ७५ किमि र सबैभन्दा थोरै मुगुमा २८ किमि मात्र सडक विस्तार गरिएको छ । त्यस्तै, सुर्खेतमा दुई सय ६४ किमि, सल्यानमा एक सय ७५ किमि, रुकुममा सय ५८ किमि, जाजरकोटमा एक सय ५८ किमि र कालिकोटमा एक सय ६ किमि छ । यस्तै, जुम्ला ९६ किमि र हुम्लामा ६० किमि सडक विस्तार भएको सरकारको तथ्यांकमा उल्लेख छ । प्रदेशको राजधानी सुर्खेतमा एक सय ६८ किमि सडक कालोपत्रे गरिएको भए पनि अन्य जिल्लामा कालोपत्रे सडक न्यून रहेको छ । दैलेखमा एक सय ५२ किमि, सल्यानमा एक सय १२ किमि, कालिकोटमा ६४ किमि, जाजरकोटमा ३७ किमि, रुकुममा ३१ किमि र जुम्लामा ३० किमि मात्र सडक कालोपत्रे गरिएको छ । मुगु र हुम्लामा भने कालोपत्रे सडक छैन ।

कर्णाली प्रदेशमा हवाई सेवाको पहुँच पनि नाजुक देखिएको छ । कर्णालीका हुम्ला, मुगु, डोल्पा, जुम्ला र रुकुमको चौरजहारीमा विमानस्थल भए पनि प्रदेश राजधानीबाट उडान हुने गरेको छैन । प्रदेश राजधानीबाट उडान नहुँदा प्रदेश ५ को नेपालगन्ज पुगेर सुर्खेत फर्किनुपर्ने बाध्यता रहेको छ ।

कर्णालीको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पनि छैन । जसले गर्दा कृषि उत्पादन राम्रो नभएको पाइएको छ । अहिले देशको कृषि क्षेत्रको उत्पादनमा कर्णाली प्रदेशको ६ प्रतिशत मात्र योगदान रहेको छ । त्यस्तै, देशका अन्य प्रदेशभन्दा कर्णाली प्रदेशको प्रतिव्यक्ति आय पनि कम रहेको छ । देशमा प्रतिव्यक्ति आय एक हजार चार अमेरिकी डलर हुँदा कर्णालीमा प्रतिव्यक्ति आय ६ सय ७७ डलर रहेको छ ।





error: Content is protected !!