डोल्पो महोत्सव भदौमा

कविता शाही

डोल्पाको समग्र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘डोल्पो महोत्सव २०७६’ आयोजना गरिने भएको छ । डोल्पोबुद्ध गाउँपालिका र भिजन डोल्पो संस्थाको संयुक्त आयोजनामा आगामी भदौ २४ देखि २८ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
डोल्पो क्षेत्रको मध्य भागमा पर्ने सो गाउँपालिकाको केन्द्र तथा नेपालकै सबैभन्दा अग्ला मानवबस्ती धो तरापमा विभिन्न कार्यक्रमसहित महोत्सव गरिने महोत्सव मूल आयोजक समितिले जनाएको छ । डोल्पो क्षेत्रकै एक मात्र विद्यालय क्रिस्टल माउण्टेन विद्यालयको रजत जयन्तीका अवसरमा महोत्सव गर्न लागिएको हो ।
नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउने लक्ष्य रहेको आयोजकले जनाएको छ । डोल्पो क्षेत्रलाई देशकै प्रमुख साहसिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको समितिका संयोजक ग्याल्पो थापा भोटेले बताउनुभयो ।
उहाँले डोल्पा पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना हुँदाहुँदै पनि भौगोलिक विकटता, आवश्यक पूर्वाधार विकास र यथेष्ट प्रचारप्रसारको कमीका कारण आशातीत् पर्यटकीय गन्तव्य बन्न नसकेको उल्लेख गर्नुभयो । डोल्पावासीले सामना गर्नु परेका चुनौती तथा सम्भावनाबारे सरकारको ध्यान आकृष्ट गर्नाका साथै डोल्पो समुदायमा आधारित गुणस्तरीय पर्यावरणीय पर्यटनलाई प्रवद्र्धन गर्ने तथा डोल्पो क्षेत्रका शताब्दिऔँ पुराना सांस्कृतिक तथा प्राकृतिक अद्भुत सम्पदाको संरक्षण गर्दै दिगो विकासका लागि पहल गर्ने महोत्सवको उद्देश्य रहेको छ ।
पत्रकार सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय समिति सदस्यसमेत रहनुभएका महोत्सवका सल्लाहकार हंसबहादुर शाहीले डोल्पा क्षेत्रको प्रवद्र्धन मात्र नभई समग्र देशकै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउँदै भ्रमण वर्षलाई सार्थक तुल्याउने उद्देश्यले महोत्सवको तयारी थालिएको बताउनुभयो ।
महोत्सवअन्तर्गत स्थानीय कलासंस्कृति झल्कने प्रदर्शनी, उत्पादित खानाका परिकारको प्रदर्शनी, हस्तकलाका सामग्री, बुद्ध–रीको परिक्रममा, धो तराप उपत्यकामा पैदल यात्रा, लामाग गुरुबाट अध्यात्म र वातावरण संरक्षणसम्बन्धी प्रवचन, विभिन्न गोन्पाहरूबाट मुखौटा नृत्य तथा डोल्पो क्षेत्रबारे वृत्तचित्र प्रस्तुत गरिनेछन् ।
त्यस्तै स्वास्थ्य शिविर, घोडा दौड, तीरन्दाजी (द्या–चेत्) जस्ता परम्परागत खेलको प्रदर्शन, बुद्धरीजस्ता तीर्थस्थल जाने पदमार्गको खोजी, हिउँचितुवालगायत वन्यजन्तु हेर्नका लागि धोबाट नजीकैको हिमालसम्म पैदल यात्रा, धो उपत्यका भ्रमण तथा विहार अवलोकन आदि कार्यक्रम सञ्चालन गरिने समितिको विज्ञप्तिमा जनाइएको छ ।
भौगोलिक कठिनाइ, पूर्वाधार अभाव, यातायातको पहुँच नहुनुजस्ता कारण डोल्पाको पर्यटनले गति लिन नसकेको भन्दै संयोजक ग्याल्पोले महोत्सवका माध्यमबाट डोल्पाको शैक्षिक, आर्थिक सामाजिक विकास तथा दिगो पर्यटन प्रवद्र्धनका लागि थप अभियान चलाइने उल्लेख गर्नुभयो । उहाँले माथिल्लो डोल्पामा जाने पर्यटकलाई हाल लिइँदै आएको शुल्क रकम कम गरी आवश्यक पूर्वाधार बनाउनेतर्फ राज्यको ध्यान पुग्न जरुरी भएको औँल्याउनुभयो ।
माथिल्लो डोल्पा नियन्त्रित क्षेत्र हो । यहाँ विदेशी एक्लै जान पाउँदैनन् कम्तीमा दुई जनाको समूह जानुपर्छ । विदेशी पर्यटकलाई १० दिनको ५०० अमेरिकी डलर शुल्क लाग्छ । डोल्पाको से फोक्सुण्डोलगायत क्षेत्रमा वार्षिक ४०० को हाराहारीमा विदेशी पर्यटक पुग्ने गरेका बताइन्छ । आन्तरिक पर्यटक कति पुग्छन् भन्ने कुनै विवरण छैन ।
प्रतिस्पर्धी उपल्लो मुस्ताङ क्षेत्रको जस्तै पर्यटक बढाउन हालको पर्यटकको शुल्क २०० देखि ३०० अमेरिकी डलर बनाउन सरोकार भएका निकायसँग पहल थालिएको आयोजकले जनाएको छ । अहिले माथिल्लो डोल्पा भ्रमणमा सबै हिसाबले प्रतिविदेशी पर्यटक करीब चार हजार अमेरिकी डलर खर्च हुने गरेको बताइन्छ ।
महोत्सव अवधिभर पाहुनालाई बस्नका लागि २०० भन्दा बढी घरधुरीमा घरबासको व्यवस्था, तिब्बततर्फबाट आउने पर्यटकका लागि ठूला पाल तथा विद्यालयमा समेत बसोबासको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । डोल्पोबुद्ध क्षेत्रमा १० वटा होटल रहेका छन् । समुद्री सतहबाट एक हजार ५२५ देखि सात हजार ६२५ मिटरसम्मको उचाइमा रहेको डोल्पा भाषा, संस्कृति र प्रकृतिको अनुपम सङ्गमस्थल हो ।
प्राकृतिक रूपमा पुथा हिमाल, काञ्जिरोवा हिमाल, धवलागिरि, मुकोट डाँफेसेल, नोर्वगाङ, शे शिखर, डोल्पोलगायत हिमाल तथा फोक्सुण्डो ताल, फोक्सुण्डो झरना रहेका छन् । बहुमूल्य जडीबुटी, यार्सागुम्बा, लोपोन्मुख बिज हिउँचितुवालगायत वन्यजन्तुको बासस्थान पनि त्यहाँका आकर्षण हुन् ।










