लेकवेशी नगरपालिकाले आगामी आर्थिक बर्षदेखि उपभोक्ता समितिलाई प्रशिक्षण

कविता शाही
सुर्खेत, सुर्खेत ः लेकवेशी नगरपालिकाले आगामी आर्थिक बर्षदेखि पालिका अन्तर्गत योजना कार्यान्वयनका लागि गठन भएका उपभोक्ता समितिलाई प्रशिक्षण दिने भएका छन् ।
आम भेलाबाट उपभोक्ता समिति गठन भइसकेपछि काम, अनुगमन, भूक्तानी प्रक्रिया लगायतका बारेमा जानकारी दिनका लागि प्रशिक्षण दिने भएको हो ।
आइतबार नगरपालिकाको आयोजना तथा असल शासन क्लव जिल्ला समन्वय समिति सुर्खेतले सहजीकरण गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सेवाग्राहीले उपभोक्ता समितिमा काम गर्न अलमल भएको गुनासो गरेपछि आगामी आर्थिक बर्षदेखि प्रशिक्षणको व्यवस्था गर्ने प्रतिबद्धता गरिएको छ । नगरप्रमुख गगनसिं सुनारले उपभोक्ता समितिलाई प्रक्रियाका बारेमा जानकारी नहँदा काममा समेत ढिलाइ भएको भन्दै उपभोक्ता समितिलाई प्रशिक्षणको व्यवस्था गर्ने बताए । उनले नगरपालिकाले उपभोक्ता समितिसम्बन्धी कार्यविधि बनाएरै व्यवस्थित गर्ने बताएका छन् ।
यस्तै नगरपालिकामा सञ्चालन हुने सम्पूर्ण योजनाहरुको सार्वजनिक परीक्षण गरेपछि मात्रै अन्तिम भुक्तानी दिने पनि प्रतिबद्धता गरिएको छ । सेवाग्राहीले मोहन थापाले उपभोक्ता समितिले गरेको काममा पारदर्शीताका लागि अनिवार्य सार्वजनिक परीक्षण गर्नुपर्ने सुझाव दिएका थिए । उनको सुझावपछि नगरपालिकाका जवाफदेहीवक्ताहरुले लिखित रुपमा प्रतिबद्धता गरेका छन् । यस्तै नगरपालिकाको कार्यालयबाट प्रदान गरिने सेवालाई थप प्रभावकारी र छरितो बनाउने, कार्यालयबाट प्रवाह गरिने सम्पूर्ण सूचनालाई प्रभावकारी रुपले प्रवाह गरिने, न्यायिक समिति सम्बन्धी प्रचार प्रसार गर्नुका साथै कामलाई थप प्रभावकारी बनाउने, नगरपालिकाभित्रका खोप केन्द्रहरुलाई व्यवस्थित गर्ने प्रतिबद्धता गरिएको छ ।
उपप्रमुख शान्ति कुमारी छन्तेलले न्यायिक समितिलाई प्रभावकारी बनाउनुपर्ने सेवाग्राहीको सुझावलाई ध्यानदिँदै आगामी दिनमा न्यायिक समितिले दिने सेवाका बारेमा प्रचार गर्नुका साथै प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिन् । प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद खरेलले नगरपालिकाको कार्यालयबाट दिइने सेवालाई आगामी दिनमा थप छरितो बनाउने प्रतिबद्धता जनाए । यस्तै सामाजिक शाखा प्रमुख एवं सूचना अधिकारी केशरबहादुर डाँगीले नगरपालिकाले नागरिकको सूचनाको हकलाई सम्मान गर्दै सूचना प्रवाहमा कुनै कञ्जुस्याइ नगर्ने बताए ।
कार्यक्रममा विभिन्न विषयगत शाखाका प्रमुख, वडाअध्यक्षहरु जवाफदेहीबक्ताका रुपमा उपस्थित थिए । सहभागीहरुले नगरपालिकाको कार्यालयबाट प्रदान गरिने सेवालाई छिटो छरितो बनाउन सुझाव दिएका छन् ।










