किसान–सरकार सँगसँगै

रुकुम पश्चिम ः आठबीसकोट नगरपालिका ११, १२ र १४ का अधिकांश घरमा किसानले परम्परागत विधिबाट मौरीपालन गर्दै आएका थिए । यसअघि पनि मौरीपालन गरिएका ती वडामा यो वर्षदेखि आधुनिक मौरीघार थपिएका छन् । स्थानीय बासिन्दा र कर्णाली प्रदेश सरकारको साझेदारीमा मौरी ब्लक कार्यक्रम सुरु भएपछि हरेक घरमा मौरीपालन थालिएको हो ।

मौरी पालनमा स्थानीय बासिन्दा र सरकारको साझेदारी छ । मौरी पालनका लागि किसानले ५० प्रतिशत लगानी गरेका छन् भने कर्णाली प्रदेश भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ५० प्रतिशत अनुदान दिएको छ ।

मौरीपालनका लागि उपयुक्त क्षेत्र मानिएका ती वडामा सरकार र स्थानीयको साझेदारीमा यो वर्ष ५ सय घार मौरी थप गरिएको छ । ‘हामीले किसानको तर्फबाट २५ लाख जम्मा गर्‍यौं,’ मौरी ब्लक समूहका अध्यक्ष प्रेमवीर कामीले भने, ‘कर्णाली प्रदेश सरकारले २५ लाख अनुदान दिएपछि यो कार्यक्रम सुरु भएको हो ।’

कृषि ज्ञान केन्द्र र स्थानीयको ५० लाख रुपैयाँ लगानीमा ५ सय गोला सहितका मौरी घार खरिद गरिएको छ । ३ सय ६२ रित्ता घार, मौरीका लागि आवश्यक सामग्री, महका लागि चाहिने सामग्री तथा किसानका लागि आवश्यक तालिम पनि सोही बजेटबाट व्यवस्थापन गरिएको उनले जानकारी दिए । ५ सय मौरी घारमध्ये ७० घार मौरी चिसापानीको फारुलामा राखिएको छ भने ४ सय ३० घार मौरी किसानका घरमा राखिएको संयोजक कामीले जनाए ।

आगामी ३ वर्षमा ५ हजार घार मौरी बनाउने लक्ष्यसहित मौरीपालन थालिएको समूहले जनाएको छ । विशेषगरी ती वडामा मौरीको मुख्य चरणका रुपमा च्युरी, वनमारा र तोरी छ ।

बाँफिकोट गाउँपालिकामा पनि मौरी ब्लक कार्यक्रम सुरु भएको छ । गाउँपालिकाका १ देखि ५ नम्बर वडाका किसानले मौरी पालन गर्दै छन् । कृषि ज्ञान केन्द्रको २० लाख अनुदानमा किसानले २० लाख जम्मा गरी मौरी खरिदको तयारीमा लागेका छन् । हाल किसानबाट नगद संकलनको काम भइरहेको जनाइएको छ ।

मौरी ब्लकका संयोजक नरबहादुर चन्दले मौरीपालनका लागि किसानको तर्फबाट नगद संकलनको काम भइरहेको बताए । ‘कृषि ज्ञान केन्द्रले २० लाख अनुदान दिएको छ,’ उनले भने, ‘हामीले पनि २० लाख जम्मा गर्न सकेपछि ५०र५० प्रतिशत साझेदारीमा यो कार्यक्रम हुनेछ ।’ उनले अहिले किसानबाट नगद संकलन भइरहेको र संकलन भइसकेको रकमबाट मौरी खरिद गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । अहिलेसम्म १२ देखि १५ लाख सम्म किसानको तर्फबाट लगानी संकलन भएको र अरु पनि संकलन हुने क्रममा रहेको चन्दले जनाए ।

मौरीका लागि उपयुक्त ठानिएका आठबीसकोट र बाँफिकोटमा मौरी ब्लक कार्यक्रम सुरु गरिएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख महेश आचार्यले बताए । मौरीका लागि उपयुक्तता र किसानको मागलाई मध्यनजर गरी मन्त्रालयले कार्यक्रम बनाएको र त्यो कार्यान्वनको चरणमा रहेको आचार्यको भनाइ छ । किसानबाट पनि आधा लगानी गराउँदा अपनत्व हुने र उत्पादनमा ध्यान जाने भएकाले ५०र५० प्रतिशतको मोडेलमा कार्यक्रम गरिएको कार्यालयले जनाएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!