अपांगतामैत्री बनाउने प्रतिबद्धता

सुर्खेत । सिम्ता गाउँपालिका सुर्खेतले अबदेखि आयोजना गर्ने सम्पूर्ण कार्यक्रमहरु अपांगतामैत्री स्थलमा गर्ने र कार्यलयलाई अपांगतामैत्री बनाउने प्रतिबद्धता जनाएको छ ।

शुक्रबार गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले अपांगतामैत्री स्थलमा कार्यक्रम नभएको गुनासो गरेपछि जवाफदेहि वक्ताहरुले लिखित रुपमै प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा बैशाखी टेकेर उपस्थित भएकी वडा नं. ९ की अनिता सिंहले गाउँपालिले आयोजना गर्ने कार्यक्रमहरु अपांगमैत्री स्थलमा नभएको गुनासो गरेकी थिइन् । सिंहको गुनासो सम्बोधन गर्दै सार्वजनिक सुनुवाई कार्यमक्रममा प्रमुख जवाफदेही वक्ताका रुपमा उपस्थित गाउँपालिका अध्यक्ष कविन्द्रकुमार केसीले आगामी आर्थिक बर्षदेखि सम्पूर्ण कार्यक्रमहरु अपांगतामैत्री स्थलमा गर्ने र कार्यालयलाई पनि अपांगतामैत्री बनाउने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै आगामी आवदेखि बैशाखसम्ममा सबै योजना सम्पन्न गरिसक्ने प्रतिबद्धता गरिएको छ । बालमैत्री साशनयुक्त गाउँपालिका घोषणा गर्नेका लागि आवश्यक नीति तथा कार्यक्रम ल्याउने, बाल हेल्पलाइन सञ्चालन गर्ने, गाउँपालिकालाई आग्र्यानिक कृषिमैत्री बनाउन कार्यक्रम ल्याउने, सिम्ताक्षेत्रमा रहेका बजार अनुगमन तथा नियमन गर्ने, सिम्ता उज्यालो कार्यक्रमलाई छिटो सम्पन्न गर्ने लगायतका प्रतिबद्धता गरिएको छ ।

गाउँपालिकाको आयोना तथा असल शासन क्लव जिल्ला समन्वय समिति सुर्खेतले सहजीकरण गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी सेवाग्राहीहरुले अपांगता परिचय पत्र वितरण, गुणस्तरीय विकास, शिक्षा, निःशुल्क औषधीको उपलब्धता, सिँचाई, कृषि, बजार व्यवस्थापन लगायतका सवालहरु उठाएका थिए । जवाफदेहिबक्ताहरुले सेवाग्राहीहरुका सुझाव ग्रहण गर्दै आगामी दिनमा सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् । अध्यक्ष केसीले सिम्ताको विकासका लागि सवैको सल्लाह सुझाव र सहकार्य आवश्यक रहेको बताए ।

उपाध्यक्ष चन्द्राकला शाहीले गाउँपालिकाले अनुगमनलाई प्रभावकारी बनाएको बताउँदै आगामी दिनमा सेवालाई अझै प्रभावकारी बनाउने बताइन् । प्रमुख प्रशासकीय अधिकृत जनक बहादुर हमाल, विभिन्न विषयगत शाखाका प्रमुखहरु जवाफदेही वक्ताका रुपमा कार्यक्रममा उपस्थित थिए ।




सम्बन्धित समाचार


error: Content is protected !!