विद्यार्थीलाई सैनिक तालिम

जाजरकोट ः राष्ट्रका लागि सक्षम, अनुशासित, नैतिकवान र सिर्जनशील नागरिक उत्पादन गर्ने भन्दै नेपाली सेनाले माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सय दिने विशेष प्रशिक्षण सुरु गरेको छ ।
‘राष्ट्रिय सेवा दल तालिम’ नाम दिइएको प्रशिक्षण नेपाली सेनाको जाजरकोटका दुई विद्यालयमा सञ्चालन भइरहेको छ । त्रिभुवन माध्यमिक विद्यालय खलङ्गा र शिव माध्यमिक विद्यालय कालेगाउँका ७२ विद्यार्थी तालिममा सहभागी छन् ,एक सय दिनको अवधि रहेको उक्त तालिममा दुवै विद्यालयबाट ३६ जना छात्र र ३६ छात्राको सहभागिता रहेको नेपाली सेनाको जाजरकोटस्थित ज्वालादल गणका निमित्त गणपति सेनानी दिनेशकुमार खड्काले बताउनुभयो ।
तालिमका क्रममा सय दिनमध्ये ७९ दिन जिल्लाभित्रै र २१ दिन जिल्ला बाहिर नेपालगञ्ज लैजाने पनि सेनानी खड्काले बताउनुभयो । अन्तर जिल्लाको भुगोल, संस्कृति, सामाजिक अवस्था र रहनसहनका साथै सृजनात्मक गतिविधिमा उनीहरुले समय बिताउने बताइएको छ ।
साथै उनीहरुलाई शारीरिक व्यायाम, कवाज, खेलकुद लगायत सीप सिकाइने छ । प्रत्येक दिन दुई घण्टाका दरले गराइने प्रशिक्षण फलदायी र व्यवहारिक हुने अपेक्षा गरिएको छ ।










