पत्रकार थपलियाको स्मृति ग्रन्थ विमोचित

काठमाडौँ, (रासस) साहित्यकार एवं पत्रकार यादव थपलियाको प्रथम वार्षिक स्मृति दिनका अवसरमा उहाँको कृतित्व र व्यक्तित्व समेटिएको ‘यादव थपलिया स्मृति ग्रन्थ’ आज सार्वजनिक भएको छ ।
नागार्जुन साहित्यिक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्याय, राष्ट्रिय समाचार समिति ९रासस०का कार्यकारी अध्यक्ष श्यामल अधिकारी, वरिष्ठ पत्रकार किशोर नेपाल, थपलियाका जीवनसँगिनी गङ्गा खतिवडालगायतले ग्रन्थ सार्वजनिक गर्नुभएको हो । १२० पृष्ठको सो ग्रन्थमा पत्रकारिता र साहित्यका अग्रज तथा सहकर्मीका लेख संस्मरण समावेश छन् ।
कान्तिपुर दैनिकका तत्कालीन उपसम्पादक थपलिया नागार्जुनका संस्थापक सदस्य हुनुहुन्थ्यो । काभ्रेको पाँचखाल नगरपालिका–११, डाँडाथोकमा जन्मनुभएका थपलिया ४० वर्षको उमेरमा गत २०७५ असार १५ गते भाइरल ज्वरोका कारण असामयिक निधन भएको थियो । उहाँको ‘मृत्युचुम्बन’ उपन्यास, ‘समीक्षा कुटुरो’ समीक्षासङ्ग्रह, ‘हाँडिगाउँको जात्रा’ कवितासङ्ग्रह आदि पुस्तक प्रकाशित छन् । सदस्यससचिव उपाध्यायले साहित्यमा सम्भावना बोकेका थपलियाको निधनले यस क्षेत्रमा अपूरणीय क्षति भएको बताउनुभयो ।
राससका अध्यक्ष श्यामल अधिकारीले छोटो समयमा चिनजानमा लेखन र सम्पादनमा थपलियाको क्षमताबाट आफू प्रभावित भएको स्मरण गर्नुभयो । वरिष्ठ पत्रकार किशोर नेपालले मूलधारको पत्रकारितामा जम्न थालेका थपलियाको निधनले आफू दुःखित भएको जनाउनुभयो । प्रतिष्ठानका अध्यक्ष प्रकाश सिलवाल र संस्थापक अध्यक्ष वैरागी जेठाले थपलियाले नागार्जुनको स्थापना र क्रियाशीलतामा दिनुभएको योगदानको स्मरण गर्नुभएको थियो ।










