शैक्षिक सत्र २०७५ को वार्षिक परीक्षा सम्पन्न

सुकमाया थापा
डोल्पा(दुनै), ६ पुस – डोल्पा जिल्लाका सबै स्थानीय तहमा रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक सत्र २०७५ को वार्षिक परीक्षा सम्पन्न भएको छ ।
फागुनबाट नयां शैक्षिक सत्र सुरु भई पुस १५ गतेसम्म रहने शैक्षिक सत्रमा यो शैक्षिक सत्र २०७५ को वार्षिक परीक्षा शुक्रवार सकिएको अनौपचारिक खबर प्राप्त भएको शिक्षा विकास तथा समन्वय इकाइ डोल्पाले जनाएको छ ।
इकाइका अनुसार यो शैक्षिक सत्रको वार्षिक परीक्षा डोल्पाका जगदुल्ला गाउँपालिका र ठुलीभेरी नगरपालिकाले सबैभन्दा पछि सुरु गरेका थिए । यी स्थानीय तह भित्रका सामुदायिक विद्यालयहरुमा शुक्रवार वार्षिक परीक्षा सकिएको हो ।
परीक्षा सकिए पछि यी स्थानीय तह भित्रका सामुदायिक विद्यालयहरुले नतिजाको तयारी तिब्र रुपमा गरिरहेको शिक्षा विकास तथा समन्वय इकाई डोल्पाका प्राविधिक सहायक धनबहादुर शाहीले जानकारी दिए । उनका अनुसार यही पुस १५ गते भित्र सबै विद्यालयहरुले नतिजा प्रकाशन गरेर १६ गतेदेखि विद्यालयहरुमा शैक्षिक सत्र २०७५ सकिने छ ।
डोल्पाका साढे ९ हजार विद्यार्थीहरुले शैक्षिक सत्रको वार्षिक परीक्षा दिएका छन् । शुक्रवार परीक्षा सकेका विद्यालयहरुले उत्तर पुस्तिका परीक्षण गरिरहेका छन् भने मंसिर १७ गतेबाट वार्षिक परीक्षा सुरु गरेको काइके गाउंपालिका भित्रका र १८ गतेबाट वार्षिक परीक्षा सुरु गरेका त्रिपुरासुन्दरी नगरपालिका र मुड्केचुला गाउंपालिका भित्रका सामुदायिक विद्यालयहरुले उत्तर पुस्तिका परीक्षण गरी नतिजाको अन्तिम तयारी गरिरहेका छन् । त्यसै गरी माथिल्लो डोल्पा शे फोक्सुण्डो गाउंपालिका, डोल्पोबुद्ध गाउंपालिका र छार्का ताङसोङ गाउंपालिकाका सामुदायिक विद्यालयहरुले कात्तिक मसान्त भित्र वार्षिक परीक्षा लिई नतिजा प्रकाशन गरेर शैक्षिक सत्र सकिइ सकेको शिक्षा विकास तथा समन्वय इकाई डोल्पाका प्रमुख सिंहराज डांगीले बताए ।
आगामी नयां शैक्षिक सत्र २०७६ फागुन १ गतेबाट सुरु हुने पनि शिक्षा विकास तथा समन्वय इकाई डोल्पाले जनाएको छ । उसका अनुसार यस जिल्लाका संस्थागत विद्यालयहरुमा पनि यही शैक्षिक सत्र लागु हुने भएकाले संस्थागत विद्यालयहरुले पनि वार्षिक परीक्षा सकेका छन् ।
यसैबिच ठुलीभेरी नगरपालिकाले प्रधानाध्यापकहरुको बैठक सम्पन्न गरेको छ । बैठकमा विभिन्न विषयमा छलफल गरिएको जानकारी दिएको छ । जानकारी अनुसार सामुदायिक विद्यलयहरुको शैक्षिक स्तर बढाउनका लागि सबैको एकिकृत प्रयास रहनु पर्ने बताएको छ ।
ठुलीभेरी नगरपालिकाको सामाजिक विकास समितिका संयोजक विरमल भण्डारीले आगामी शैक्षिक सत्र फागुन १ गतेबाट सुरु गर्ने र ८ गतेबाट सबै विद्यालयहरुमा पठनपाठन सुरु गर्ने निर्णय भएको बताए । उनले थपे भर्ना अभियान भनेर १ गते नआउने शिक्षकहरुलाई कारवाहीको दायरामा ल्याइने छ । फागुन १ गतेदेखि ७ गतेसम्मको यो समयमा नआउनेको बिरामी विदा काट्ने अझै अटेर भए बेतलवी बिदा काट्ने तयारी गरिएको छ ।
शैक्षिक गुणस्तर सुधारका लागि ठुलीभेरी नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयहरुमा आगामी शैक्षिक सत्र २०७६ बाट कक्षा १ मा अंग्रेजी माध्यम लागु गरिने बताइएको छ ।










