दक्षिणपन्थी जहाजमा सोसल मिडियाको डुंगा

युग पाठक
भर्खरै सम्पन्न ब्राजिलको चुनावमा उग्र दक्षिणपन्थी उम्मेदवार बोल्सोनारो राष्ट्रपति निर्वाचित भए । विवेकभन्दा आवेग, तर्कभन्दा तुकबन्दी, तथ्यभन्दा मिथ्याका लागि बोल्सोनारो चर्चित छन् । रंगभेदी कुरा उनी विनाहिचकिचाहट बोल्न सक्छन् । आफ्नी छोरीलाई उनी ‘बलात्कृत हुनसमेत अयोग्य कुरूप’ भनेर टिप्पणी गर्छन् र छोरी हुनुलाई आफ्नो कमजोरीका रूपमा व्याख्या गर्छन् । सैनिक तानाशाही र यातनाका पक्षधर यिनै बोल्सोनारो अचानक ब्राजिलको राजनीतिमा उदाएका छन् । बोल्सोनारोको उदयमा ब्राजिलका अरू आन्तरिक राजनीतिक कारणबाहेक दुई कुरा महत्वपूर्ण छन् स् एक, उग्र राष्ट्रवाद र दोस्रो, सोसल मिडिया ।
भर्खरै बिबिसीले सामाजिक सञ्जालबाट फैलने गरेको नक्कली समाचारबारे भारत, नाइजेरिया र केन्यामा एउटा अनुसन्धान गरेको थियो । अनुसन्धानअनुसार भारतमा नक्कली समाचार राष्ट्रवादका नाममा सबैभन्दा प्रभावशाली ढंगले फैलिने गरेको छ । राष्ट्र निर्माण, हिन्दू राष्ट्रिय पहिचान आदि विषयका नक्कली कहानीको विभिन्न सामाजिक सञ्जालमार्फत भारतमा बिगबिगी भइरहेको छ । नक्कली समाचारले विभिन्न ठाउँमा सानाठूला साम्प्रदायिक दंगा भड्काएका घटना पनि छन् । हिन्दू राष्ट्रवादका नाममा नक्कली तथ्य, तथ्यांक, मिथक तथा इतिहासका नाममा उग्र हिन्दुत्व बल्झाउने मिथ्या कहानी भारतमा व्यापक पारिएको छ । र, यस्ता नक्कली कथन बोक्ने र वितरण गर्ने साधन भएका छन् विभिन्न ब्रान्डका सामाजिक सञ्जाल ।
सोसल मिडियालाई नेपालमा सामाजिक सञ्जाल नाम दिइएको छ । सिके लालले भने चरित्रका आधारमा यसलाई असामाजिक सञ्जाल भनेका छन् । सामाजिक, असामाजिक जे नामले पुकारे पनि एउटा तथ्य के हो भने संसारभर करोडौँ मानिस विभिन्न ब्रान्डका यस्ता सञ्जालमा जोडिएका छन् । फेसबुक, ट्विटर, ह्वाट्सएप, इन्स्टाग्रामलगायत सञ्जाल अहिले मूलधारे भनिने मिडियाभन्दा शक्तिशाली हुँदै गएको विषय संसारभर बहसमा छ । अमेरिकामा डोनाल्ड ट्रम्प, भारतमा नरेन्द्र मोदी र अहिले ब्राजिलमा बोल्सोनारोजस्ता अनुदार शासकको उदयमा सामाजिक सञ्जाल उपयोगी बनेको विश्लेषण पनि भइरहेको छ । सामाजिक सञ्जालको चरित्र र उग्र राष्ट्रवादको चरित्र कसरी एकअर्काका परिपूरक भइरहेका छन् त रु
सञ्जालको जञ्जाल
सुरुमा चिनजानका साथीभाइ वा कुनै कार्यालयको टिमबीच अन्तत्र्रिmया गर्ने इन्टरनेट प्लेटफर्म बनाउने पहलबाट सामाजिक सञ्जालको विकास भयो । विद्यार्थीको सूचना राख्ने स्कुलको ‘फोटो एड्रेस बुक’बाट मार्क जुकरबर्गले फेसबुक बनाउने प्रेरणा लिएको बताइन्छ । आज फेसबुकजस्ता सञ्जाल विश्वव्यापी भइसकेका छन् र यसले चिनजानका मान्छेबीच सूचना आदानप्रदानको दायरा नाघेर कहिल्यै नचिनेका मानिसबीच तुरुन्त सूचना आदानप्रदान हुने मात्र होइन, प्रविधिमा पहुँच हुनेले करोडौँ मान्छेको सूचना तुरन्तै हासिल गर्न सक्ने स्तरमा विकास गरिसकेको छ ।
आफ्नो हातमा भएको मोबाइल वा काखमा बसेको ल्यापटपमा कुनै पनि सामाजिक सञ्जाल प्रयोग गरिरहँदा जति व्यक्तिगत वा गोपनीय महसुस हुन्छ, त्यस्तो चरित्र सामाजिक सञ्जालको होइन । धेरैलाई कुनै इन्टरनेट सञ्जालमा बसिरहँदा आफू एक्लै र सुरक्षित रहेको भ्रम पर्छ । वास्तवमा सामाजिक सञ्जालको चरित्रले यो भ्रमलाई धेरैबेर टिक्न दिँदैन । करोडौँ प्रयोगकर्ताको निजी सूचना विभिन्न व्यापारिक प्रतिष्ठानलाई बेचेको विषयमा फेसबुकले विभिन्न मुलुकमा मुद्दा खेपिरहेकै छ । त्यसैगरी सामाजिक सञ्जाल प्रयोगकर्ताको सूचना संकलन गरेर चुनावी प्रयोजनका लागि समेत बेच्ने र सो सूचनाका आधारमा मतदाताको मनोविज्ञान तथा रुचि अध्ययन गरेर नक्कली समाचार र चुनावी प्रचार अभियान डिजाइन गरिने गरेको तथ्य पनि सार्वजनिक भइसकेका छन् ।
भारतको अघिल्लो आमनिर्वाचनमा मोदीले र अमेरिकामा ट्रम्पले पनि राष्ट्रवादको एजेन्डालाई उग्र र नश्लवादी बनाउन यही उपाय लगाएको अध्ययनले देखाएका छन् । सामाजिक सञ्जालका सन्दर्भमा दुई कुरा चर्चामा छन्– नक्कली समाचार ९फेक न्युज० र घृणाकारिता ९हेट स्पिच० । नक्कली समाचार उत्पादन गर्ने ल्याकत कुनै एक व्यक्तिको सनकमा हुँदैन । यसका लागि संगठित समूह नै लागेको हुन्छ । अर्थात् खास उद्देश्य वा मिसनसाथ नक्कली समाचार उत्पादन र वितरण गरिन्छ । अर्धसत्य वा आंशिक सत्यलाई सत्य जस्तो गरी उत्पादन गर्नका लागि एकपाखे तथ्य वा चल्तीका अन्धविश्वास वा स्टेरियोटाइप ९असंगत विश्वास० को उपयोग गरिन्छ ।
उदाहरणका लागि आप्रवासीले ढाकेर स्थानीय युरोपेलीको काम खोस्ने भए भन्ने हौवाले युरोपमा राष्ट्रवादी लहर चलायो । युरोपेली संघबाट बाहिरिने ९ब्रेक्जिट० पक्षमा बेलायतको जनमत संग्रह होस् वा विभिन्न युरोपेली मुलुकमा दक्षिणपन्थी राष्ट्रवादी उदाउनुपछाडि यस्तै हौवाले भूमिका खेलेको थियो ।
भारतमा पनि हिन्दुत्व खतरामा छ भन्ने भ्रामक समाचार छ्यापछ्याप्ती पारिएको छ । मुगल साम्राज्यको ३ सय वर्ष र अंग्रेज शासनको २ सय वर्षमा नभएको खतरा हिन्दू अन्धराष्ट्रवादका हिमायती मोदीको शासनकालमै कसरी भयो त रु यस्ता प्रश्नका लागि राष्ट्रवादी भाष्यमा कुनै ठाउँ हुँदैन । किनभने राष्ट्रवादलाई एक आवेगको सिद्धान्त बनाइएको छ, जहाँ विवेकले ढिम्किन पनि पाउँदैन । नेपालमै पनि धर्मनिरपेक्षताले क्रिस्चियन बढायो भन्ने भ्रामक समाचार व्याप्त छ ।
धर्मनिरपेक्षताको साँचो अर्थ के हो र क्रिस्चियन बढ्नु वा नबढ्नुमा धर्मनिरपेक्षताको गोरु बेचेको साइनो छ कि छैन भन्ने सवाल नै बेपत्ता पारेपछि यस्ता नक्कली समाचारले शक्ति हासिल गर्छन् ।
सामाजिक सञ्जालको जञ्जालमा करोडौँ मानिसका अर्बौं घन्टा समय खेर गइरहेको छ । दर्जनौँ अनुसन्धानले दुव्र्यसनकै स्तरमा यस्ता सञ्जालमा मान्छे फसिरहेको देखाएका छन् । सोसल मिडियामा बिताउने औसत समय जुन अनुपातमा बढिरहेको छ, त्यही अनुपातमा विभिन्न मानसिक समस्या पनि बढिरहेको देखिन्छ । यसको महत्वपूर्ण कारकतत्व हो– घृणाकारिता ।
अमेरिकी संस्था पिउ रिसर्च सेन्टरले सन् २०१७ मा प्रकाशित गरेको एक अध्ययनअनुसार ४१ प्रतिशत वयस्क अमेरिकी कुनै न कुनै अनलाइन दुव्र्यवहारको सिकार भएका थिए । दिनानुदिन अनलाइन दुव्र्यवहार संसारभर बढिरहेको छ र यसको मुख्य वाहक सोसल मिडिया नै हुन् ।
सकारात्मकभन्दा नकारात्मक, सहिष्णुभन्दा असहिष्णु, विनम्रताभन्दा घृणा नै सामाजिक सञ्जालले बोक्ने गरेका सन्देशमा अन्तर्निहित भाव हुने गरेका छन् ।
देशका जिम्मेवार नेताले गैरजिम्मेवार कथन सार्वजनिक गर्न मिल्ने प्लेटफर्म सोसल मिडिया हुन सक्छ भने अरू कसैको टाइमलाइनमा हचुवा मिथ्यांक पोस्ट हुनुलाई अनौठो कसरी मान्ने रु
घृणाकारिता आँधीहुरी जस्तो सोसल मिडियामा फैलने गर्छ । नक्कली समाचारको पहिरो होस् वा भावना भड्काउने मिथ्याकथन, घृणाकारिताका लागि यथेष्ट सामग्री हरेक सेकेन्ड सोसल मिडियामा अपलोड हुन्छन् र सन्सनाएर अनलाइनमा बग्छन् । अनलाइन जति मायावी ९भर्चुअल० छ, त्यति नै यसले ल्याउने प्रभाव भने यथार्थ जीवनमा डरलाग्दो हुने गरेको छ । भारतमा विभिन्न दंगा भड्काउन र समाजलाई नै उद्वेलित गर्न घृणाकारिताको भूमिका अहं देखियो । नेपालमा ठूलो घटना घटेको खबर नसुनिए पनि चियाचौतारोमा घृणाकारिताको प्रभाव निकै नकारात्मक देखिने गरेको छ ।
राष्ट्रवादको पिरो राग
राप्रपा अध्यक्ष कमल थापाको एउटा ताजा ट्विटमा भनिएको छ– ‘राष्ट्रहितअनुकूल नभएकाले राजा वीरेन्द्रद्वारा लालमोहर लगाउन अस्वीकार गरिएको र सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेको नागरिकता ऐनलाई ०६२र६३ को आन्दोलनको रापतापमा कार्यान्वयन गरियो र ३ जनाको सरजमिनमा खुलेआम कौडीको मोलमा विदेशीलाई नेपाली नागरिकता बाँडियो ।’ अनलाइन सञ्जालमा यस्तै आसय भएका अरू कैयौँ अभिव्यक्ति छ्यासछ्यास्ती भेट्न सकिन्छ । विभिन्न समयमा मधेसमा बाँडिएका नागरिकतालाई लिएर यस्तो टिप्पणी हुने गरेको छ । कसैले २० लाख त कसैले ३० लाख विदेशीले नागरिकता पाएको मिथ्यांक पनि स्रोत उल्लेखै नगरी सञ्जालमा राख्ने गरिएको छ ।
धेरैपटक महत्वपूर्ण मन्त्री पद सम्हालिसकेका थापालाई मधेसमा नागरिकताको समस्या कुन प्रकारको छ भन्नेबारे ज्ञानै छैन भन्न मिल्दैन । अनि दोस्रो जनआन्दोलनपछि कुन आधारमा कतिजनालाई नागरिकता दिइएको थियो भन्ने सामान्य तथ्यांक पनि उनलाई थाहा छैन भन्न सकिन्न । थाहा नभए थाहा पाउन कुनै गाह्रो भएन । थापाको कथनलाई मान्ने हो भने नागरिकता पाउनेजति सबै विदेशी थिए । त्यसो हो भने मधेसीलाई उनले होलसेलमा विदेशी करार गरेका हुन् ।
देशका जिम्मेवार नेताले गैरजिम्मेवार कथन सार्वजनिक गर्न मिल्ने प्लेटफर्म सोसल मिडिया हुन सक्छ भने अरू कसैको टाइमलाइनमा हचुवा मिथ्यांक पोस्ट हुनुलाई अनौठो कसरी मान्ने रु
यस्ता कथन राष्ट्रवादको बल्छीले राजनीतिको माछा मार्ने अभिप्रायसाथ सार्वजनिक हुने गर्छन् ।
अनि यस्ता अमूर्त र भ्रमपूर्ण कथनमा टेकेर मिथ्या दाबी तथा नक्कली समाचार उत्पादन तथा वितरण गर्न अनलाइन सञ्जाल हाजिर छँदै छन् । यसका लागि अनलाइन सञ्जालको सहयोगी चरित्र हो– त्यहाँ लेखक छद्मभेषी हुन सक्छ र आफ्नो कथनको जिम्मेवारीबाट सहजै उम्कन सकिन्छ भन्ने मनोविज्ञान प्रयोगकर्तामा दरिलो हुने गर्छ । अर्को कुरा कुनै मिथ्या कथन वा नक्कली समाचार अनलाइन सञ्जालमा भाइरल भइसकेपछि जिम्मेवार व्यक्ति भिडमा लुक्न सक्छ । सूचनाको भिडमा घृणाकारिता जसरी मौलाउन सक्छ, उसैगरी मिथ्या कथन उत्पादन र पुनरुत्पादनको चक्रव्यूहमा जिम्मेवार व्यक्ति पनि गायब हुन सक्छ ।
व्यक्ति तरल हुने र कथनहरू ठोस हुने चरित्रले अनलाइन सञ्जाललाई नै एक मायावी चक्रव्यूह बनाइदिएको छ । तर, राष्ट्रवादी भाष्यको चतुर चञ्चलतामा बल्छी हान्नेहरू धमाधम दक्षिणपन्थी कोणबाट उदाइरहन भने यही मायावी व्यूह कामलाग्दो सावित भएको छ । अनलाइन सञ्जालमा व्यक्ति तरल भएजस्तै राष्ट्रवादको भाष्यमा पनि व्यक्ति र उसको धरातल तरल हुन पुग्छ । अहिले चर्चामा रहेका लेखक–दार्शनिक युभल नोहा हरारीका अनुसार राष्ट्रवाद नै एक फिक्सन हो ।
फिक्सन अर्थात् काल्पनिक आख्यान । नेपालमा चलेका विभिन्न शब्द एक ठाउँमा राखेर हेरौँ– मुलुक, देश, राष्ट्र । यी तीन शब्दमध्ये राष्ट्र शब्दले मात्र एक त्यस्तो भावनात्मक आसय बोक्छ, जो मान्छेलाई तरल तुल्याइदिन र अमूर्त एजेन्डामा आफैँमाथि निषेधको इरेजर चलाउन समर्थ छ । लाखौँ मानिस राष्ट्रवादको अमूर्त भाष्यमा सहजै बहकिन सक्छन् । त्यसैले राजनीतिको फसल काट्न माहिर नेताका लागि कृषिको उत्थान गर्ने वा जनतालाई निःशुल्क स्वास्थ्यको व्यवस्था गर्ने भन्दा राष्ट्रवादको नारा लगाउने तरिका उपयोगी हुने गर्छ ।
सकारात्मकभन्दा नकारात्मक, सहिष्णुभन्दा असहिष्णु, विनम्रताभन्दा घृणा नै सामाजिक सञ्जालको सन्देश हुने गरेको छ
नक्कली समाचारको पहिरो होस् वा भावना भड्काउने मिथ्याकथन, घृणाकारिताका लागि यथेष्ट सामग्री हरेक सेकेन्ड सोसल मिडियामा अपलोड हुन्छन् र सन्सनाएर अनलाइनमा बग्छन्
सेप्टेम्बर ११ मा अमेरिकास्थित विश्व व्यापार संगठनको भवनमा हमला भएपछि अमेरिका र बेलायतमा राष्ट्रवाद एक डरको अवतार बनेको थियो । जोन पिल्जरले निर्माण गरेको डकुमेन्ट्री ‘वार यु डोन्ट सी’मा त्यहाँका वरिष्ठ पत्रकारहरू नै कसरी राष्ट्रवादी नभइने डरले दिग्भ्रमित भएका थिए भन्ने प्रमाण पाइन्छ । अमेरिकाले आतंकवादविरोधी युद्धका नाममा अफगानिस्तान र इराकमा थोपरेको युद्धमा भएका युद्धअपराध र त्यस युद्धका लागि दिइएका नक्कली राष्ट्रवादी कारणबारे उनीहरू चुप बसेका थिए । जुलियन आसान्जले विकिलिक्समार्फत धेरै तथ्य सार्वजनिक गरिदिएपछि मात्र उनीहरू राष्ट्रवादको डरमा सत्य छोपिएको मान्न तयार भए । त्यतिन्जेलमा सयौँ अफगानी र इराकी नागरिकले ज्यान गुमाइसकेका थिए र लाखौँले दर्दनाक यातना भोगिसकेका थिए ।
मिडियाले शक्तिशाली सत्ताको प्रायोजनमा समाचार उत्पादन गर्ने र आमजनतामा एकप्रकारको सहमति ९कन्सेन्ट० निर्माण गर्ने गरेको विश्लेषण पुरानै हो । नोम चोम्स्की र एडवार्ड एस हर्मनले आफ्नो पुस्तक ‘म्यानुफ्याक्चरिङ कन्सेन्ट’मा प्रोपागान्डा मोडेलको चर्चा गरेका छन् । उनीहरूले व्याख्या गरेको ‘प्रोपागान्डा मोडेल’अनुसार कर्पोरेट मिडियाले शक्तिशाली कर्पोरेट र सत्ताको स्वार्थअनुकूल प्रोपागान्डा उत्पादन र वितरण गर्ने गर्छन् । कर्पोरेट मिडियाको यो चरित्र व्यवस्थित हुने गरेको छ, तर यही चरित्र जब अनलाइन सञ्जालमा छिर्यो, यसले भयानक रूप लियो ।
राष्ट्रवादको फिक्सन वितरण गर्न त झन् यस्ता सञ्जाल अत्यन्त उपयोगी भए । आफ्नो सामाजिक जीवनमा अत्यन्त कमजोर महसुस गर्ने कुनै व्यक्ति अनलाइन सञ्जालमा अचानक आफूलाई शक्तिशाली सम्झन्छ । होहल्लाबीच आफ्नो बोली मिसाउँदा उसले जिम्मेवार भइरहनुपर्ने महसुस गर्दैन । यस्तै व्यक्ति त्यस्तो साधन हुन सक्छ, जसमा कुनै नक्कली समाचार वा मिथ्या कथन संक्रमण गर्न सकियो भने त्यो भाइरससरह फैलन सक्छ ।
तरलता अनलाइन सञ्जाल र राष्ट्रवाद दुवैको विशेषता हो । त्यसैले यी दुवैको तालमेल मिल्ने गरेको छ । व्यक्ति चाहे अनलाइन सञ्जालमा तरल होस् वा राष्ट्रवादको भावनामा पुगेर घुलनशील, समाज र राष्ट्रको जीवन भने खतरामा परिरहेको देखिन्छ । अमेरिका ट्रम्पको आतंकमा छ भने मोदीले भारतलाई असहिष्णुता र दंगाको मैदान बनाइदिएका छन् । राष्ट्रवादकै नाराले चुनाव जितेका केपी ओलीले नेपालमा उस्तै निराशा बढाइरहेका छन् । राष्ट्रवादको आवेगमा ओलीका एक–एक मिथ्या कथनलाई सपना भनेर अथ्र्याउनेहरू अहिले मौन छन् । तर, ओलीको उदयले राष्ट्रकै भलो भने हुन सकेन । राष्ट्रवादी भाष्यमा ओलीका टुक्का र अनलाइन सञ्जालमा प्रकट भइरहने मिथ्या कथन र नक्कली खबरको तालमेल सहजै फेला पार्न सकिन्छ ।
दक्षिणपन्थको जहाजमा अहिले सोसल मिडियाका दर्जनौँ डुंगा सवार छन् । स्वयं कम्पनीका मालिकले समेत आफ्नो सञ्जालमा नियन्त्रण गुमाउँदै गइरहेका छन् । दक्षिणपन्थलाई राष्ट्रवाद र अनलाइन सञ्जाल दुवैको चरित्रले साथ दिए पनि छिटै ट्रम्प, मोदी र बोल्सोनारोजस्ता पात्रले यो भार थाम्न सक्दैनन् । जसरी हिटलरको उग्र राष्ट्रवादी सत्तालाई अन्तर्राष्ट्रिय गठबन्धनले पराजित गरेको थियो, त्यसैगरी राष्ट्रहरूको अन्तर्राष्ट्रिय चरित्रले संकीर्ण राष्ट्रवाद धान्न सक्दैनन् ।










