जाजरकोट दुनै मोटरबाटोको ट्रयाक खोल्ने काम सम्पन्न नभएको भन्दै ज्ञापन पत्र

सुकमाया थापा
डोल्पा ः जाजरकोट – दुनै सडकको ट्रयाट खोल्ने जिम्मेवारी पाएको नेपाल सेनाले त्रिपुरासुन्दरी नगरपालिकाको अन्निचौर छलगाडसम्म मात्र काम सम्पन्न गरेको छ ।
दुनैसम्मै मोटरबाटो मापदण्ड अनुसारको काम सम्पन्न गर्नु पर्ने भएपनि त्रिपुराकोटको अन्निचौर छलगाडसम्म मात्र ट्रयाक खोल्ने काम गरेर दुनैसम्मै ट्रयाक खोल्ने काम सम्पम्न भएको देखाउन खोजिएको प्रति आपत्ति जनाउदै नागरिक समाज डोल्पाको संयोजनमा ठुलीभेरी नगरपालिका डोल्पाका उपप्रमुख योगेन्द्रबहादुर शाही सहितको टोलीले शुक्रवार सांझ जिल्ला प्रशासन कार्यालय डोल्पामा ज्ञापान पत्र बुझाएको छ । कार्य जिम्मेवारी तोकिएको स्थान दुनैसम्म ट्रयाक खोल्ने काम सम्पन्न नगरीकनै सदरमुकाम दुनैदेखि १५ किलोमिटर परै त्रिपुरासुन्दरी नगरपालीकाको छलगाड अन्निचौर भन्ने ठाउंमा यहि मिति २०७५ मंसिर ४ गते उपप्रधान तथा रक्षा मन्त्री इस्वर पोखरेलबाट दुनैसम्मै ट्रयाक खोल्ने काम सकियो भनेर जाजरकोट दुनै मोटरबाटो उद्घाटन गराउने कुराले हामी डोल्पालीहरुलाई दुखित बनाएको बताउदै सम्पन्ने नभएको कुरालाई सम्पन्न भएको देखाउनु एकदमै समस्याको कुरा भएको प्रति ज्ञापन पत्रमा आपत्ति जनाइएको छ ।
यसरी कामै पुरा नगरी सम्पन्न भएको भनि आम डोल्पालीहरुलाइ छल्ने दुश्प्रयास भएको छ भनि ज्ञापन पत्रमा भनिएको छ । यस्ले हामिलाइ डोल्पालीको सडक सपना अधुरै हुने कुराले चिन्तित र आक्रोषित बनाएको व्यहोरा सहित नेपाल सरकारको गम्भिर ध्यान आकर्षण गरादछौ भनिएको छ । जाजरकोट–दुनै सडकको ट्रयाक निर्धारीत अन्तिम विन्दु दुनै सम्म यथासक्य पुरा गरी सकेर मात्र उद्घाटन कार्यक्रम गर्न, गराउन को लागि अनुरोध गर्दै ज्ञापन पत्र बुझाइएको छ ।
ढिलो खबर पाएकाले कार्यालय समयभन्दा पछि जिल्ला प्रशासन कार्यालय डोल्पामा पुगेका ठुलीभेरी नगरपालीकाका उपप्रमुख योगेन्द्रबहादुर शाहि, दुनैका स्थानीय धनराम बुढाथोकी, ठुलीभेरी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष बागबहादुर महतारा, स्थानीयहरु चन्द्रप्रकाश डांगी, ओमबहादुर चन्द, टेकबहादुर शाही, योगेन्द्र बुढा, युबराज थकाली, सुकमाया थापा, प्रेमबहादुर बोहोरा सहितको टोलीले ज्ञापन पत्र बुझाएको जिल्ला प्रशासन कार्यालय डोल्पामा जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।







