नाम्खामा बाली राम्रो फल्ने भएपछि किसान खुसी

हुम्ला
यस वर्ष अन्न बाली राम्रो फल्ने भएपछि हुम्लाको नाम्खा गाउँपालिकाका कृषक खुसी भएका छन् । खडेरीले राम्रो बाली नफल्दा पीडित भएका किसान यस वर्ष वर्षासँगै खेतीपाती राम्रो भएपछि खुसी भएका हुन् ।
थोरै खेती योग्य जमिनमा पनि राम्रो बाली फलेपछि केही महिना धान्न सक्ने भएसँगै स्थानीय खुसी भएका हुन् । विगत वर्षमा चीनबाट आउने मैदा र चामलको भर पर्नु पर्ने भए पनि यस वर्ष केही राहत हुने वडा नं।१ का प्रकाश लामाले बताए । विगत वर्षमा यहाँका बासिन्दा भोकमरी भोग्दै आएका थिए ।
गाउँपालिकाको लिमी क्षेत्रमा फल्ने नाफल ९हिमाली गहुँ० राम्रो भएको छ । त्यसै गरी यारी र मुचु क्षेत्रमा पनि बाली राम्रो फलेको छ । यहाँ वर्षको एक पटक मात्र अन्न उत्पादन हुने गर्दछ । सरकारी अनुदानका खाद्यान्न किन्न टाढा पर्ने भएकाले चीनसँग निर्भर हुने अवस्था रहेको छ । तर, चीन सरकारले मैदा आयातमा कडाई गरेपछि स्थानीयमा थप पीडा हुँदै आएको छ ।










