रुकुम पूर्व चुनवाङलाई लसुनको पकेट क्षेत्र बनाउने

रुकुम पूर्व
रुकुम पूर्वको चुनवाङलाई व्यवसायिक रुपमा अघि बढाउन पहल थालिएको छ । स्थानीय सरकारको पहलमा भुमे गाउँपालिका, ९ चुनवाङलाई लसुन, आलु र कागतीको पकेट क्षेत्र बनाउने तयारी थालिएको हो । यस वर्ष लसुन उत्पादन वृद्धि गर्न बिउमा अनुदान दिने तयारी गरिएको छ । वडा सरकारको निर्णयअनुसार झण्डै पचास क्विन्टल बिउ अनुदानमा दिने तयारी गरिएको छ ।
‘लसुनको बिउ महङ्गो भयो भन्ने किसानको गुनासो आयो अध्यक्ष प्रवेश पुनले भने– ‘प्रतिकेजी ५० रुपैयाँ किसानले तिर्ने र बाँकी मूल्य वडा सरकारले तिरिदिने गरी लसुनको बिउमा अनुदानको व्यवस्था गरेका छौं ।’ किसानले उत्पादन गरेको लसुनको बजार समस्या हुने सम्भावना मध्यनजर गरी उत्पादनको बजार जिम्मा वडाले लिने निर्णय गरेको अध्यक्ष पुनले जानकारी दिए ।
‘अहिले किसानले उत्पादन गरेको लसुनको बजार हामीले बनाइरहेका छौं–उनी भन्छन्–‘हाम्रै पहलमा दाङलगायत ठाउँमा लसुन बिक्री भइरहेको छ, हामीले ५० क्विन्टल लसुन जिम्मा नै लिइसकेका छौं ।’ वडाले ५० क्विन्टल बिउ बाँड्ने तयारी गरेको छ । उत्पादन लसुनको बजार पनि वडाले मिलाउने भएकाले किसानलाई ढुक्कसँग उत्पादन गर्न वडाध्यक्ष पुनले आग्रह गरे ।
धेरै उत्पादन गर्ने पुरस्कार
वडा सरकारले धेरै उत्पादन गर्ने किसानलाई पुरस्कार दिने निर्णय गरेको छ । जसअनुसार सबैभन्दा धेरै लसुन उत्पादन गर्ने किसानमध्ये प्रथम, द्वितीय र तृतीय गराएर क्रमशः १०, ७ र ५ हजार पुरस्कार रुपैयाँको व्यवस्था गरिएको छ । त्यस्तै सबैभन्दा धेरै आलु र कागती उत्पादन गर्ने किसानलाइ पनि क्रमशः ५, ३ र २ हजार पुरस्कार दिने निर्णय गरिएको वडा अध्यक्ष पुनको भनाई छ ।










