दसैंका लागि हुम्लामा प्रतिघर ५ केजी चामल वितरण सुरू

हुम्ला,
खाद्य संस्थान कार्यालय हुम्लाले दशैं नजिकिएसँगै चामल वितरण गर्न थालेको छ । समयमै नेपाल खाद्य संस्थान कार्यालयले खाद्यन्न ढुवानी नगर्दा हुम्लामा खाद्य अभाव चुलिएको छ ।
सरकारले चालु आर्थिक वर्षमा सिमकोटका लागि निर्धारित चामल खाद्यन्न ढुवानी नगरेपछि दशैको मुखमा खाद्यन्न अभाव हुने गरेको छ । खाद्य संस्थान हुम्लाले बुधबारदेखि प्रति घर ५ केजि चामल वितरण गर्न थालेको छ । हाल हुम्लाको सिमकोट डिपोमा पाँच सय २९ क्विन्टल चामल मौज्दात रहेको खाद्य संस्थान हुम्लाका कार्यालय प्रमुख राम बहादुर विष्टले जानकारी दिएका छन् ।
सुर्खेतबाट एक सय ४४ क्विन्टल चामल र नेपालगञ्ज खाद्य डिपोबाट आठ सय १६ क्युन्टल मात्रै ढुवानी भएको प्रमुख विष्टले बताए । खाद्य संस्थान हुम्लाको सिमकोट डिपोमा साउन मसान्तभित्रै नेपालगञ्ज विमान स्थल हुँदै एक क्युन्टल र सुर्खेत विमानस्थल हुँदै एक हजार क्विन्टल गरी थप गरिएको खाद्यन्न समयमै नपु¥याएपछि हुम्लामा अभाव चुलिएको हो । खाद्य सुरक्षा समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङ्गानाको नेतृत्वको बैठकले सिमकोट खाद्य डिपोबाट बजारबासी कर्मचारीको रासन कार्ड हेरेर ५ केजि दिने निर्णय भएको छ । खाद्य सुरक्षा समितिले ५ केजि भन्दा बढी चामल वितरण नगर्ने निर्णय गरेपछि दशंैमा समस्या हुने स्थानीय बताउँछन् ।
चिट माग्न जिल्ला प्रशासन हानथाप
दशंै तिहार नजिकिँदै गर्दा हुम्लामा ५ केजि चामलका लागि जिल्ला प्रशासन कार्यालयमा चिट माग्न हानथाप हुने गरेको छ । चामल लिन जिल्ला प्रशासन कार्यालयबाट चिट लिएपछि मात्रै पाउने गरेका छन् । स्थानीयहरु ३÷४ घण्टा पैदल हिँडेर सदरमुकाम सिमकोट पुगेर आफ्नो भागको ५ केजि चामल लिएर घर फर्किने गरेका छन् ।
सिमकोट डिपो बाहेक जिल्लाका अन्य खाद्य ४ महिनादेखि डिपो रित्तै छन् । खाद्य संस्थान र ठेकेदारको लापरबाहीले गर्दा जिल्लाका अन्य खाद्य डिपो स्वीकृत गरिएको कोटा चामल नपुग्दै बिचबाटोमा ठेकेदारहरुले बिक्री गर्ने गरेको स्थानीयहरुको गुनासो रहेको छ । जिल्लाको श्रीनगर डिपो, छपेला, सर्केगार्ड, दार्माको देउली, नाम्खाको याल्वाङ्ग खाद्य डिपो रित्तै रहेको छ ।
गत आर्थिक वर्षमा दार्माको देउली डिपोमा मंसिरमा मात्रै एक बोरा चामल पाएको चंखेली गाउँपालिका १ का वडाध्यक्ष नन्द बहादुर बोहोराले बताए । गत वर्ष आर्थिक ०७४र०७५ को श्रीनगर डिपोको एक सय ५० क्युन्टल चामल अझै सम्म डिपो कार्यालय पुगेको छैन । राजनीतिक पहुँचमा ठेकेदारलाई हुम्लाका राजनैतिक दलहरुले ठेक्का दिने गर्ने प्रचलन रहेपछि डिपो नपुग्दै बीचबाटोमा बिक्री गर्ने गरेका पाइएको छ ।










