कालिकोटमा ४० दिनमा ३५ उजुरी दर्ता

कालिकोट,
जिल्ला प्रहरी कार्यालय कालिकोटमा ४० दिनमा ३५ वटा उजुरी दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटमा साउन ५ गतेदेखि भदौं १५ गतेसम्म ३५ वटा मुद्दा दायर भएका हुन् ।
गत आर्थिक वर्षको बाह्र महिनामा ४८ मुद्दा मात्र दायर भएको जिल्ला प्रहरी कार्यालयमा यस आर्थिक वर्षको ४० दिनमा मात्र ३५ वटा मुद्दा दायर भएका छन् ।
दर्ता भएका मुद्दाहरुमा महिला हिंसा, अपहरण, ज्यान मुद्दा र बोक्सी आरोप सम्बन्धी मुद्दा दायर भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी बिनोद शर्माले बताए ।
सबैभन्दा बढी महिला हिंसाका
जिल्ला प्रहरी कार्यालय कालिकोटमा दर्ता भएका ३५ वटा मुद्दा मध्ये सबैभन्दा बढी महिला हिंसाका घटना रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
अपराधरहित बनाउने प्रहरीका पाँच लक्ष्य
जिल्लालाई अपराधरहित जिल्ला बनाउन प्रहरीले पाँचवटा लक्ष्य सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटले अबको ६ महिनाभित्र जिल्लालाई अपराधरहित जिल्ला बनाउने भन्दै पाँचवटा लक्ष्य सार्बजानिक गरेको हो ।
भ्रष्टाचाररहित प्रहरी कार्यालय बनाउने, हरेक सेवाग्राहीको काम १० मिनेटमा गर्ने, महिला हिंसा र आत्माहत्यारहित जिल्ला बनाउने, ब्लग पुलिसिङको सुरुवात गर्ने र प्रमाणमुखी अनुसन्धान गर्ने लक्ष्य प्रहरीले लिएको छ ।
जिल्लाका ९ वटै स्थानीय तहमा ब्लग पुलिसिङको सुरुवात गरी हरेक घरदैलोमा प्रहरी पुग्ने र त्यहाँ घट्ने अपराधका बारेमा जानकारी लिने वातावरण बनाई सबै खाले अपराधलाई न्यूनिकरण गर्ने डिएसपी शर्माले बताए । ‘एकजना प्रहरीको भागमा एक सय ५० देखि दुई सयसम्म घर जिम्मा लगाउँछु । उनले भने,‘प्रहरीले सबै घरमा पुगेर वास्तविक सूचना संकलन गरेमा अपराध न्यूनिकरणमा ठूलो सहयोग पुग्नेछ ।










