७४ वर्षीया वृद्धा बलात्कारको आरोपमा युवक पक्राउ

डोटी,बडिकेदार गाउँपालिका–३ की ७४ वर्षीया वृद्धा बलात्कृत भएकी छन्। सोमबार बिहान छिमेकी गाउँ जाने क्रममा जंगलको बीचमा बलात्कृत भएको पीडितले बताएकी छन्। बाटोमा एक्लै हिँडिरहेको बेला पछाडिबाट आएका बोगटान गाउँपालिका–१ सिमचौर पान्साका करिब २२ वर्षीय गणेश भनिने एकेन्द्र धामीले बलात्कार गरेको पीडितले बताएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। वृद्धाले भनिन्, ‘त्यो मान्छे पछाडिबाट आउँदै थियो, मेरो घाँटीमा समातेर दिन्छौ भनेर जबरजस्ती गर्यो। पीडित महिला चिच्याएको आवाज सुनेपछि घटनास्थलतर्फ गएका स्थानीयवासीले एकेन्द्रलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए। बलात्कारको आरोप लागेका धामी प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक धु्रव विष्टले जानकारी दिए। तीन महिनामा पाँच घटना डोटीमा तीन महिनामा पाँच बलात्कारका घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गत साउन १७ मा डोटी आदर्श गाउँपालिकामा २२ वर्षीया युवतीलाई बलात्कार गर्न खोजेको आरोपमा आदर्श गाउँपालिका २ का ३० वर्षीय धौले लुहारविरुद्ध बलात्कारको प्रयासमा मुद्दा दर्ता भएको छ। यस्तै, शिखर नगरपालिकाकी १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा सायल गाउँपालिका–६, डोटी घर भई हाल शिखर नगरपालिका ६ मा बस्दै आएका शिवराज लुहारलाई प्रहरीले पक्राउ गरेको छ। पूर्वीचौकी गाउँपालिकाकी २१ वर्षीया अपाङ्ग महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सोही गाउँपालिका ५ का ३५ वर्षीय शिव लुहारविरुद्ध जवरजस्ती करणीको मुद्दा दर्ता भएको छ। यस्तै, शिखर नगरपालिकाकी १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा शिखर नगरपालिकाकै एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।










