ईलाका प्रशासनको नाम छ तर काम छैन्

लेख बुढा
डोल्पा ः ईलाका प्रशासन कार्यालय ईल डोल्पा स्थापना भएको लामो समय वितिसक्दा पनि कार्यालय प्रमुख नहुँदा स्थानीयले सेवा लिन पाएका छैन्न ।
सरकारले निर्णय गरे संगै २०७३ असार १ मा कार्यालय स्थापना भएपनि कर्मचारी नहुँदा स्थानीयले सेवा लिन पाएका छैन्न । इलाका प्रशासन कार्यालय इलको उद्घाटन गरेर नायव सुब्बा जनार्दन रिजाललाई निमित्त प्रमुखमा खटाइ पठाइएको थियो ।
इलाका प्रशासन कार्यालय उद्घाटन भएको २७ महिना बितिसक्दा पनि हालसम्म सरकारले इलाका प्रशासन ईलमा प्रमुख पठाउन नसक्दा काम हुँन नसकेको हो । अहिले पनि नायव सुब्बा गोरखबहादुर शाहीले निमित्त प्रमुखको काम गर्दै आएका छन् ।
नेपाल सरकारको ऐन नियम अनुसार जिल्ला प्रशासन कार्यालयले दिने नागरिकता, राहदानी सिफारिस , विभिन्न अर्ध न्यायिक कार्यहरु लगायतका सेवा सुविधाहरु दिन स्थापना भएको भए पनि कार्यालयमा प्रमुख नहुँदा सवै काम प्रभावित भएका छन् ।
नेपाल सरकारको नियमानुसार नागरिकता, राहदानी फाराममा सिफारिस, विभिन्न मुद्धा हेर्ने अधिकार अधिकृत कर्मचारीलाई मात्र छ । स्थापना भएदेखि अधिकृत नखटाइएकाले त्यहांबाट हुनु पर्ने कुनै पनि काम हुन नसकेको जिल्ला प्रशासन कार्यालय डोल्पाले बताएको छ ।
जिल्ला सदरमुकाम दुनैदेखि दुरदराजमा रहेको तत्कालिन नर्कु, कालिका र सर्मी गाउँ विकास समिति एवम् हालको मुड्केचुला गाउँपालिकाका सर्वसाधारणहरुलाई नागरिकता, राहदानी सिफारिस लगायतका विभिन्न सेवा सुविधाहरु प्रवाह गर्न स्थापना भएको भए पनि स्थानीयहरुले सेवा लिन पाएका छैनन् ।
इलाका प्रशासन कार्यालयबाट दिनु पर्ने सेवा सुविधा दिनका लागि अधिकृत खटाइदिन जिल्ला प्रशासन कार्यालय डोल्पामा बारम्बार मौखिक आग्रह गरिएको र हालसम्म कुनै सुनुवाई नभएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बताए । उनका अनुसार इलाका प्रशासन छ भनेर के गर्ने नागरिकता बनाउन जनताहरुले २ दिन हिडेर सदरमुकाममा रहेको जिल्ला प्रशासन कार्यालयमा घाउनु पर्ने दुख हटेको छैन ।
स्थापना भएको केही समयसम्म इलाका प्रशासन इलको सेवा क्षेत्र भित्रका नागरिकहरुले लिने सेवाका अनुसूची फारामहरु, निवेदनहरु, मागहरु संकलन गरेर दुनै सिफारिस गरेर पठाउने र जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लगायतका कागजातमा सही गरी तथा बनाई दिएर पठाइएदिए पछि ईलले वितरण गर्ने गरिएको थियो । त्यसरी लामो प्रक्रिया भएको र सेवाग्राहीले सेवा झन ढिलो हुने भएकाले एक वर्ष अघि तत्कालिन प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले अधिकृत कर्मचारी नखटिएसम्म सबै सेवा सुविधाहरु जिल्ला प्रशासन कार्यालयबाटै दिने निर्णय गरे पछि २ दिन हिडेर दुनै आई नागरिकता बनाई घर फर्कन हप्ता दिनभन्दा बढि समय लाग्ने गरेको मुड्केचुला गाउंपालिकाले जनाएको छ ।
इलाका प्रशासन कार्यालय इलको सेवा क्षेत्रका नागरिकहरुलाई नागरिकता लगायतका सेवा लिन दुनै आउनु पर्ने बाध्यता नहटेकाले दुख भएको बताउदै बारम्बार सम्बन्धित माथिल्ला निकायमा अधिकृत खटाइदिन लिखित र मौखिक अनुरोध गरि पठाइएको तर केन्द्रबाट नखटाइएकाले समस्या भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए ।





error: Content is protected !!