खोलाको पानी पिउँदै विद्यार्थी

विद्यालयमा खानेपानीको व्यवस्था नभएपछि जुम्लाको सिँजा गाउँपालिकास्थित भैरव माविका विद्यार्थीले खोलाको पानी पिउने गरेका छन् । त्यही पानी पिउन पनि आधा घन्टा हिँड्नुपर्ने बाध्यता रहेको विद्यार्थीले बताए ।
खानेपानीको व्यवस्था नभएकाले हिमाखोलामा गएर पानी पिउने गरेको कक्षा ९ मा अध्ययनरत विपना जैसीले बताइन् । ‘विद्यालयमा खानेपानी छैन, सर नहुँदा पानी खान खोलातिरै दगुर्छौं, उनले भनिन् । खोला पुग्न आधा घन्टाभन्दा बढी समय लाग्ने उनले बताइन् ।

यहाँका विद्यार्थी वर्षौंदेखि खोलाकै पानी पिउँदै आएको अर्का विद्यार्थी नरेश बुढाले बताए । ‘तिर्खा लाग्यो कि खोलातिर जान्छौँ, विद्यार्थी फर्केर नआउँदासम्म पढाइ पनि हुँदैन, उनले भने ।

विद्यालयका निमित्तप्रधानाध्यापक देवराज धितालले खानेपानीको व्यवस्था गर्न नसकिएको बताए । अभिभावकसँग पटक–पटक आग्रह गरे पनि पहल नभएको उनको भनाइ छ । ‘अभिभावक, जनप्रतिनिधिलाई धेरैपटक आग्रह ग-यौँ, कसैले वास्ता गरेनन्,’ प्रधानाध्यापक धितालले भने, ‘विद्यालयसँग त्यसका लागि बजेट छैन, बनाउन सक्दैन ।
शौचालय छैन, शिक्षक पनि खोलातिरै
खानेपानी तथा सरसफाइ मन्त्रालयले जुम्लालाई ०७२ मै खुला दिशामुक्त जिल्ला घोषणा गरेको थियो । तर, भैरव माविमा भने शौचालय नै छैन । दिसा–पिसाबका लागि खोलाछेउछाउ नै जानुपर्ने बाध्यता रहेको विद्यार्थीले बताए ।
विद्यार्थी मात्रै होइन, यहाँका शिक्षकले पनि शौचका लागि खोलातिरै जानुपर्छ । इन्टर्भलमा शिक्षकहरू एकातिर त विद्यार्थी अर्कोतिर जाने गरेका छन् । ०६७ मा शौचालय निर्माण गरिएको थियो । तर, पानी नहुँदा अहिले प्रयोगविहीन बनेको छ ।
पुरानो शौचालय मर्मत–सम्भार नहुँदा र पानीको अभावले शिक्षक–विद्यार्थी खोलातिरै जाने गरेका छन् । ‘टिफिन टाइममा त खोलामा भिडै लाग्छ,विद्यार्थी बुढाले भने ।
छात्रालाई झन् समस्या हुने गरेको छ । महिनावारीका समयमा विद्यालय नै छोड्नुपरेको छात्रा सम्झना बोहराले बताइन् । ‘अरूवेला त जसोतसो चलिहाल्छ, महिनावारी हुँदा समस्या हुन्छ, उनले भनिन् ।
‘चाँडै व्यवस्था गर्छौँ’
भैरव माविमा चाँडै खानेपानी र शौचालय व्यवस्था गरिने सिँजा गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले विद्यालयमा खानेपानी र शौचालयको समस्या तत्काल समाधान गरिने बताए । अहिलेसम्म गुनासो आएको थिएन, स्थलगत अनुगमन गरेर चाँडै व्यवस्था गर्छौँ, उनले भने ।





error: Content is protected !!