विद्यालयमा व्यवस्थापन समिति गठनको प्रकृया सुरु

ज्ञानु गौतम रुकुम 
चौरजहारी नगरपालिकाले आफ्नो क्षेत्र भित्रका सम्पूर्ण सामुदायिक विद्यालयका ब्यवस्थापन समिति भंग गर्ने निर्णय गरेको छ । माध्यमिक तह सम्मको शिक्षाका अधिकार स्थानीय सरकार मातहत भएसँगै विद्यालय ब्यवस्थापनमा चुस्तता ल्याउन उक्त निर्णय गरिएको नगरपालिकाले जनाएको छ । आफ्नो क्षेत्र भित्र रहेका सबै सामुदायिक विद्यालयलाई नगरपालिकाले नियमावलीमा भएको प्रावधान अनुसार विद्यालय व्यवस्थापन समिति पुर्नगठन तथा विद्यालय स्तरमा गर्नु पर्ने अन्य व्यवस्थाहरु तत्काल कार्यान्वयन गर्न शिक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो । नगरपालिकाको उक्त निर्णय सँगै अब ती सबै सामुदायिक विद्यालयमा नयाँ ब्यवस्थापन समिति गठनको प्रकृया सुरु भएको छ । नगर भित्र ४१ वटा सामुदायिक विद्यालय छन ।
नगर शिक्षा ऐन २०७४ अनुसार नगरपालिका भित्र पर्ने बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष नगरपालिकाले नियुक्त गर्ने व्यवस्था रहेको छ । अभिभावकहरुले ४ जनाको नाम छनोट गरेर नगरपालिकामा पठाउने र नगरपालिकाले सिफारिस भएकाहरु सँग छलफल गरि अध्यक्ष नियुक्त गर्ने नगर प्रमुख बिशाल शर्माले जानकारी दिनुभयो ।





error: Content is protected !!