तीनदिनदेखि सुत्केरी व्यथा लागेकी महिलाको हेलीकप्टरबाट उद्दार गरिँदै

रुकुम पूर्व — तीन दिनदेखि सुत्केरी व्यथा लागेकी महिलको उद्धारमा आएको हेलीकप्टरले महिलाको उद्दार गर्न सकेको छैन । पुथाउत्तरंगा गाउँपालिका–६, मयाङकी १९ वर्षीया मानिका दमाई तीन दिनदेखि सुत्केरी व्यथाले थलिएकी छिन् ।
२१ गते बेलुकी सुत्केरी व्यथा लागे पनि हालसम्म बच्चा जन्मेको छैन ।
२१ गते बेलुकी व्यथा लागेकी दमाई २२ गते बेलुकीदेखि बोल्न छाडिसकेकी छिन् । उनले आँखासमेत देख्न छाडेको वडाध्यक्ष टोपे सेनले बताए । ‘अस्ती व्यथा लागेकी उनको बोली पनि बन्द भाछ, नजर पनि बन्दै छन्, बच्चा पनि जन्मन सकेको छैन,’ वडाध्यक्ष सेनले भने ।
बुधबार बिहानसम्म पनि बच्च नजन्मेपछि परिवारले वडाध्यक्षलाई खबर गरेका थिए । गाउँपालिका अध्यक्ष ओमप्रसाद घर्तीले प्रमुख जिल्ला अधिकारीलाई खबर गरेपछि हेलिकोप्टर आएको थियो । ‘घटना अस्तिकै रहेछ, मैले खबर पाउनेबित्तिकै गृहबाट नेपाली सेनाको हेलिकोप्टर मगाएर पठाएको थिएँ,’ प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले भने, ‘मौसम अनुकूल नभएपछि सुत्केरीको उद्धार हुन सकेको छैन ।’ मयाङबाट फर्केर सदरमुकाम रुकुमकोट आएको हेलिकोप्टर फेरि पठाउने तयारी भैरहेको प्रजिअ शर्माले बताए ।
मयाङमा फोन सम्पर्क पनि हुँदैन । वडाध्यक्ष सेनले फोन गर्नका लागि टाढा पुगेको बताए । उनले व्यथा लागेकी दमाईलाई हेलिकोप्टर बस्ने ठाउँतिर लैजान लागिएको बताए । ‘मलाई जिल्लाबाट खबर आएको छ, हेलिकोप्टर बस्ने ठाउँमा आगो बाल्नु भनेर अब हेलिकोप्टर पनि आउँछ होला,’ अध्यक्ष सेनले भने । मयाङदेखि स्वास्थ्य चौकी जान २ घण्टा पैदाल यात्रा गर्नुपर्छ । ओख्मामा रहेको स्वास्थ्य चौकीमा एक जना अनमी मात्रै छिन् । इन्चार्ज लगायत अरु कार्यालयमा नरहेको पनि अध्यक्ष सेनले बताए । अनमीलाई पनि सुत्केर भएकै ठाउँमा बोलाइएको छ ।










