छोरो बोकेर ‘स्वतन्त्रता’मा रमाउन कहाँ पुगिन् पूर्वयुवराज्ञी हिमानी ?


काठमाडौं ः भनिन्छ, मानिसहरू हरेक सातामा शुक्रबार खोज्छन्, मासमा गर्मी र जीवनमा खुसी त्यो थाइल्यान्ड हो । थाइल्यान्डलाई नीजि जीवनको स्वतन्त्र देश पनि भनिन्छ । हो, यही देशमा छोरा लिएर पुगेकी छन् पूर्वयुवराज्ञी हिमानी शाह, यसै साता ।
त्यसो त थाइल्यान्ड र हिमानीको सम्बन्ध निक्कै गहिरो छ । यसअघि पटक–पटक विभिन्न कामका लागि त्यहाँ पुगेकी हिमानी यसपटक भने राजपरिवारका अन्य सदस्यभन्दा अघि स्वतन्त्रतामा केही समय विताउनका लागि बैंकक पुगेको बताइन्छ ।
उनले छोरा हृदयेन्द्रको जन्मदिन पनि थाइल्यान्डमा नै मनाई दिएकी छन् । सोमबारदेखि १७ बर्षका जवान भएका हृदयेन्द्रको जन्मदिनलाई उत्कृष्ट बनाउन हिमानी अरु भन्दा छिटो त्यहाँ पुगेकी थिइन् ।
हिमानी धेरै पटक शाही सौखका निम्ति थाइल्यान्ड पुगिन् । तर ०७१ मा भने त्यहाँ पक्राउ परेका पति पूर्वयुवराज पारस शाहलाई छुटाउनका लागि धरौटी रकम बोकेर पुगेकी थिइन् । त्यसपछि गत बर्षको मध्यतिर घुम्नका लागि पुगेकी थिइन् । जहाँ, प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट भयो ।
यो साता भने हिमानीले छोराको जन्मोत्सव सहित व्यस्त र निर्मलनिवासको चारभित्ताबाट केही दिनका लागि स्वतन्त्र बन्नका लागि थाइल्यान्डको भ्रमण परिवारका अन्य सदस्यभन्दा दुई चार दिन अघि नै गर्ने इच्छा राखिन् । ‘शिक्षा सम्बन्धी केही काम पनि छन् । त्यो काम सुरु हुनुअघि उहाँले केही दिन आराम गर्ने, भ्रमण गर्ने रहर पनि राख्नुभयो’, हिमानीनिकट स्रोतले भन्यो,‘भोलीदेखि उहाँ फेरि परिवारका सदस्यसँग नै रहनुहुनेछ ।’
हिमानी सचिव स्मिता सिंहलाई लिएर अरुभन्दा अगाडी नै बैंकक पुगेकी थिइन् । उनले त्यहाँका भ्रमणशालामा आनन्द लिएको बताइएको छ ।
हिमानीमात्र होइन, निर्मलनिवासका सदस्य पूर्वयुवराज पारस शाहबाहेक बुधबार सबै थाइल्यान्ड पुग्दैछन् । पूर्वराजा ज्ञानेन्द्र शाह नातिनी कृतिकाको उच्च शिक्षाका लागि कलेज भर्नाको सन्दर्भ पारेर पूर्वरानी कोमल, नातिनी पूर्णिका, नीजी सचिव सागर तिमल्सिना, अर्दली हस्तबहादुर मल्ल र निजी सुरक्षाकर्मी डिएसपी शिव राउतलाई लिएर थाइल्यान्ड पुग्दैछन् ।
दैनिक नेपालबाट साभार ।







