डोल्पामा दैनिक १७ घण्टा लोडसेडिङ

डोल्पा।डोल्पाको सदरमुकाम दुनैमा दैनिक १७ घण्टाभन्दा बढी लोडसेडिङ हुने गरेको छ । जैरिगार पावरहाउसबाट उत्पादन हुने विद्युतको कुलोमा लेदो बग्न थालेपछि १ हजार ३५० घरधुरी परिवारले दैनिक १७ घण्टा लोडसेडिङ खेपिरहेका छ् ।

कुल २०० किलोवाट उत्पादन क्षमता रहेको यस पावरहाउसबाट हाल जम्मा ७० किलोवाट मात्र विद्युत उत्पादन हुने भएकोले दैनिक लोडसेडिङ बढ्दै छ । कुलोमा बालुवा र लेदो बग्न थालेपछि पानी कम आउने र विद्युतको मेसिनमा खराबी आउने गरेकोले लोडसेडिङ गर्न पर्ने बाध्य भएको विद्युत प्राधिकरणका कर्मचारीहरुको दावी छ ।

एउटा मेसिन पूर्णरुपमा बन्द रहेको छ भने एउटा मात्र मेसिनबाट ७० किलोवाट विद्युत उत्पादन गरी साविकका जुफाल र दुनै गाविसका १ हजार ३५० घरधुरीलाइ विद्युत बितरण गर्दै आएको डोल्पा बितरण केन्द्रले जानकारी दिएको छ ।

ग्राहकको माग ३०० किलोवाट बराबरको रहे पनि सो मागअनुसार विद्युत आपूर्ति गर्न नसकेको नेपाल विद्युत प्राधिकरण डोल्पा बितरण केन्द्रका प्रमुख शंकरसिंह ठकुरीले स्वीकार गरेका छन् । उनले भने, ‘यहाँ धेरै खाले कठिनाइहरु रहेका छन्, ठूलो परिमाणमा खर्च गर्नु पर्छ । मागअनुसार विद्युुत उत्पादान हुन सकेको छैन ।’

ठाडो खहरेखोलाको पानीको भरमा उत्पादन गरिएको विद्युत प्रभावकारी नहुँदा ग्राहकहरु मर्कामा परेका छन् । २०५० सालभन्दा अघि प्रयोगमा आएका मेसिनहरु हालसम्ममा दर्जन पटकभन्दा बढी मर्मत गरिसकेको विद्युत आयोजनाले जनाएको छ ।

पावरआउसमा प्रयोगमा रहेको मेसिनहरु निकै जीर्ण र पुराना मोडलका भएकैले विद्युत उत्पादनमा कमि आएको डोल्पा बितरण केन्द्रका प्रमुख ठकुरीले स्पष्ट पारे । अब नयाँ मेसिन खरिदका लागि क्षेत्रदेखि केन्द्रसम्म प्रक्रिया अघि बढिसकेको कारण केही समयमै समस्या समाधान हुन्छ, उनले विश्वास व्यक्त गरेका छन् । खोलामा पानीको वहाब बढ्दो रहेकोले खोलामा लेदो र बालुवा बगिराखेकाले रातदिन काम गरिरहेको उनले गुनासो गरे ।

हाल उत्पादन भइरहेको ७० किलोवाट विद्युत सदरमुकाम दुनैको बजार, जुफाल बजारसहित १ हजार ३५० ग्राहकका साथै एक दर्जन साना उद्योगमा खपत भइरहेको छ । नियमित र भरपर्दो पावर नआउने भएको कारण बेकरी उद्योगहरु दैनिक घाटामा गइरहेको हिमालयन बेकरी उद्योग सञ्चालक रोशन हमालले दुःखेसो गरे । विद्युत सेवा भरपर्दो बनाउन व्यवसायीहरुले माग गरेका छन् ।

हरेक वर्षायामा खोला बढ्ने र हिउँदमा खोलाको पानी जम्ने भएकाले विद्युत उत्पादन भरपर्दो छैन । विद्युत उत्पादनमा कमि आएपछि कार्यालयका दैनिक काम समेत प्रभावित भएका छन् ।

डोल्पाले हरेक वर्ष यस्तै विद्युत सेवामा समस्या खेपिरहेकाले कम्तीमा पनि ५ सय किलोवाट विद्युत उत्पादनका लागि उर्जा मन्त्रालयलाई अनुरोध गरी कार्यान्वयनका लागि धाइरहेको ठुलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीले जानकारी दिए । पावरआउसमा रहेको सबै पुराना मेसिन हटाएर नयाँ प्रविधिका मेसिनजडान गरी समस्याको समाधान हुने भएकाले मन्त्रालयमा सबै कागजात बुझाएको उनले बताए ।




सम्बन्धित समाचार


error: Content is protected !!