यार्सागुम्वा संकलन गर्न गएका लेक लागेर शिक्षक सहित ३ जनाको मृत्यु, १ को उद्धार

रुपलाल वोहोरा
डोल्पा , १३ जेठ ः डोल्पामा यार्सागुम्वा संकलन गर्न गाएका का ३ जनाको लेक लागेर शनिवार मृत्यु भएको छ भने १ जनाको उद्धार गरिएको छ ।
यार्सागुम्वा टिपेर कमाउला भनेर ठुलीभेरी नगरपालिका वडा नं. १० मा पर्ने ग्यालवारा पाटन पुगेका त्रिपुरासुन्दरी नगरपालिका १० लिकुका ३० वर्षिय नारायणप्रसाद पाहाडीको लेक लागेर विरामी भई दुनै तर्फ ल्याउदै गरेको बेला शनिबारमा नै माझबनमा मृत्यू भएको छ । डोल्पोबुद्ध गाउंपालिकाको धो ताक्सी पुगेका जाजरकोट नलगाड नगरपालिका वडा नं. ८ खगेनकोट का १५ वर्षिय भद्रबहादुर चनाराको लेक लागेर विरामी भए पछि उपचारका लागि दुनै तर्फ ल्याउदै गरेको बेला शनिवार राति डोल्पोबुद्ध गाउंपालिका २ मा पर्ने तोलतोल भन्ने ठाउंमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
त्यसै गरी काइके गाउंपालिकाको सुन्दरे शेर्पा आधारभुत विद्यालय टुप्पाताराका शिक्षक शेरबहादुर राना झांक्रीको यार्सागुम्वा टिप्न ठांगे पाटन तर्फ जांदै गरेको बेला पाटन पुग्ने बेला शनिवार लेक लागेर मृत्यु भएको छ ।
लेक लागेर विरामी धो ताक्सी पाटनमा सिकिस्त विरामी परेका आटबीसकोट नगरपालिका १० रुकुमका हरिबहादुर शाहीको सांसद सत्य पहाडी को पहलमा नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि नेपालगञ्ज पुर्याइएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।
विश्व कै उच्च मानव वस्ति मानिने धो ताक्सी ४ हजार २ सयको उचाईमा रहेको बस्ति हो । धो ताक्सी बस्ति भन्दा माथि उचाई भएका पाटनहरुमा यार्सागुम्वा पाइन्छ । डोल्पाका ताक्सी भन्दा उचाई रहेका दर्जनौ पाटनहरुमा यार्सा पाइन्छ । डोल्पाका ती यार्सागुम्वा पाइने सबै पाटनहरुमा यतिबेला हजारौं यार्चा संकलकहरु पुगेका छन् ।
संचार समस्याका कारण कुन पाटनमा के के समस्या परेको छ । जानकारी आउंन कठिन रहेको प्रहरीले जनाएको छ । अर्को कुरा सानातिना स्वास्थ्य समस्यालाई समस्या नमान्ने र अन्तिम अवस्था आए पछि मात्र गुहार्ने परम्पराले उद्धारमा कठिनाई आउने गरेको अनुभव रहेको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रप्रसाद चापागाइले बताए ।










