जाजरकोट दरबारमा नयाँ चलचित्र ‘मालिका’ सुटिङ्ग

जाजरकोट । चर्चित नायिका रेखा थापाले निर्माण गरिरहेको नयाँ चलचित्र ‘मालिका’ को छाँयाङ्कण जाजरकोट दरबारमा गरिएको छ । ‘छोरीकालागि स्वर्णिम महाअभियान’ को विषयवस्तु समेटिएको ‘मालिका’ चलचित्रको छाँयाङ्कणका लागि जाजरकोट पुगेको चलचित्र छाँयाङ्कणकोे टोलीले जाजरकोट दरबारमा विशेष दृश्यको छाँयाङ्कण गरेको हो ।
जिल्लाको स्थानीय भेष–भुषा र संस्कृति झल्किने मेलाको दृश्य वनाएर दुइ सय ४८ वर्ष अघि निर्माण गरिएको जाजरकोट दरबारको प्राङ्गणमा ‘मालिका’ को गीत छायांकण गरेको चलचित्र निर्माता रेखा थापाले वताइन् । जाजरकोट र गोरखा राज्यको सम्वन्ध तथा नेपाल एकिकरणको सन्दर्भ झल्काउने ऐतिहासिक जाजरकोट दरबारमा चलचित्रको छाँयाङ्कणले यसको प्रचार–प्रसारमा ठुलो सहयोग पुग्ने स्थानीय माधवकुमार कार्कीले वताए । उनले प्रचारको अभावमा जाजरकोट दरबार जिर्ण भएर ओझेल परेको वताए ।
उता चलचित्र छाँयाङ्कणका लागि जाजरकोटका सवै ठाउँहरु निकै सुन्दर उपयुक्त भएको भन्दै नायिका रेखा थापाले भनिन्–‘जिल्लाको ऐतिहासिक एवं कलात्मक चिनारी वोकेको जाजरकोट दरबारलाई दुनिया सामु चिनाउन गीतको सुटिङ्ग दरवारमै गरिएको हो ।’ जाजरकोट दरबार जाजरकोटीको मात्र नभई देशकै सम्प्दा भएकोले यसको प्रचार–प्रसार र संरक्षण सवै तहवाट हुनुपर्ने उनले वताइन् । सुन्दर ठाउँ भनेर नाम चलेका नेपालका शहर र अन्य स्थानहरु भन्दा जाजरकोट अझ सुन्दर रहेको र काठमाडौंमा वस्नेहरुले यसलाइ चिन्न नसकेको नायीका रेखाले वताइन् । जाजरकोटका ऐतिहासिक दरवार, मठमन्दिर, नदी, हरिया पहाड, हिमसृंखला देखिने दृस्यहरु, पाटन चौरहरु चलचित्र छाँयाङ्कणका लागि निकै उर्वर रहेको रेखाको भनाइ छ ।
जीवन रुपान्तरणका विश्व प्रशिक्षक नरवहादुर कार्कीको परिकल्पनामा तयार भएको ‘मालिका’ फिल्मको विषय वस्तु महिला हिंसा र बालबिवाह मुक्त नेपाल निर्माणको अभियानमा केन्द्रित रहेको छ । चलचित्रमा सवै नेपाली जनता र भुगोललाई जोड्ने किसिमका गीत र दृश्यहरु समेटिने निर्माता नरवहादुर कार्कीले वताए । उनले पहिलो पटक ननएक्टर बालिकालाई फिल्मको मुख्य पात्र बनाएर चलचित्र छाँयाङ्कण गरिएको वताए । जाजरकोटकी कमला वलीलाई मालिका चलचित्रको मुख्य भुमिकामा देखाउन लागिएको र उनको भुमिका महिला हिंसा र बालबिवाह विरुद्ध हुने निर्माता कार्कीले वताए । यस वर्षको एसइई परीक्षा दिएकी भेरी नगरपालिका–१ कालेगाउँकी कमला वली नै ‘मालिका’ फिल्मको मुख्य पात्र भएको उनले वताए ।
सामाजिक चेतना र छोरीहरुको लागि स्वर्णिम नेपालको राष्ट्रिय संकल्प बोकेको ‘मालिका’ फिल्मले हिमाल, पहाड र तराइका जनताहरुलाई एकताको सुत्रमा बाँध्ने भाव बोकेका गीतहरु राखिएको वताइएको छ । एक गीतको पुरै छाँयाङ्कण जाजरकोट दरबारको प्राङ्गणमा भइरहेको छ । चलचित्रका अन्य दृश्यहरु जाजरकोटका विभिन्न स्थानहरु, नेपालगन्ज र काठमाडौंमा छाँयाङ्कण भइरहेको निर्माताको भनाइ छ ।
जाजरकोटमा पहिलो पटक ठुलो पर्दाको फिल्मको छाँयाङ्कण गरिएको हो । जाजरकोटकै कलाकार, जाजरकोटकै विषय वस्तु र जाजरकोटमै सुटिङ्ग भइरहेको ‘मालिका’ फिल्म व्यावसायिक नभइ सामाजिक अभियानमुलक भएको नायिका रेखाले वताइन् ।










