वन मन्त्री शक्ति वस्नेतकै जिल्लामा बहुमूल्य जडिबुटी अबैध चोरी–निकासी

जाजरकोट । वन मन्त्री शक्तिवहादुर वस्नेतकै जिल्लामा बहुमूल्य जडिबुटीको अवैध चोरी निकासी बढेको छ ।
जिल्लाको उच्च लेकाली क्षेत्रमा पाईने बहुमूल्य जडिबुटीको अवैध चोरी निकासी हुने गरेको छ । सम्बन्धित निकायको उदासिनताका कारण चोरी निकासी तिव्र रुपमा बढेको हो । सप्लायर्सले राजश्व छल्न अवैध तरीकाले निकासी गर्ने गरेका छन् तर, नियामक निकायले वेवास्ता गर्दा लाखौको राजश्वमा घाटा लागेको हो ।
जिल्लाकोे उत्तरी क्षेत्र चाखुरे, देउराली, साइकुवारी, सागवारी, वुराउसे, ठाकुरजी, रोल्पापाटन तथा जिल्लाका उच्च क्षेत्रमा पाईने कुरिलो, काउलो, पाखनबेद, सुगन्धवाल, तितेपाती, जटामसी, चिराईतो, गुच्छी च्याउ, लौठ सल्ल्ला, पाँच औले, सेतकचिनी जरा, बुकी फुल, कटुको, पाँचऔंले, समयो, गुच्चीच्याउ, पदमचाल, लटेचुक, भुत्ले, सतुवा, अतिस, सुनजरी लगाएत बहुमूल्य जडिबुटीको अबैध चोरी पैठारी बढेको बारेकोट–१ का खगेन्द्र बोहराले जानकारी दिए । ‘चोरी पैठारी गर्नेले हचुवाको भरमा विउ नै मासिने गरी उत्खनन् गर्दा जडिबुटी लोप हुने अबस्थामा पुगेका छन् । रुकुम, डोल्पा र जुम्लाका नाका हुदै जडिवुटीको तस्करी हुने गरेपनि रोक्ने तर्फ कसैले चासो दिएको पाईदैन’ उनले भने ।
जाजरकोट–जुम्ला, डोल्पाको सीमाना चाखुरेमा सरकारी उपस्थिती नहुदा चोरी पैठारी हुने बोहराको भनाइ छ । खुला सिमानाका कारण तस्करहरुले लाखौं मुल्यको जडिबुटी अबैध रुपमा निकासी गर्दै आएका छन । जथाभावी चोरीनिकासी बढ्न थालेपछि बारेकोटबासीले रोकथामका लागी पहल गरिदिन माग गरेका छन । जथाभावी चोरीनिकासी बढ्न थालेपछि मूल्यबान जडिवुटीका मासिदै जाने खतरा रहेको छ । कति चोरी निकासी हुन्छ एकिन तथ्यांक नभएपनि बर्षेनी लाखौंको जडिबुटी अवैध रुपमा निकासी भैरहेको वारेकोट गाँउपालिका ९ का मानबहादुर सिंहको भनाई छ ।
तस्करले लाखौंको राजस्व छलि गर्दा समेत जिल्ला वन कार्यालयको यस तर्फ ध्यान गएको छैन । दिन प्रतिदिन चोरीनिकासी बढ्दै गएको छ । जिल्ला बन कार्यालयले गरेको एक अध्ययन अनुसार प्रत्येक बर्ष जाजरकोटमा १७ लाख ६५ हजार ५ सय ५३ केजी जडिबुटी संकलन गर्न सकिने उल्लेख छ तर, गत आवमा दुई लाख ६९ हजार ७ सय ४३ केजी विभिन्न प्रजातिका जडिबुटी निकासी गरी १९ लाख ६७ हजार रुपैया मात्र राजश्व संकलन भएको जनाएको छ । कतिपय जटिबुटी संकलन नै नभएर जंगलमा खेर जाने गरेका छन् भने, संकलन भएको मध्य पनि धेरै जसो चोरी निकासी हुने गरेको हो ।
सरकारले प्रतिबन्धित जडिबुटीको सुचीमा सुचिकृत गरेका जडिबुटी समेत निकासी भैरहेको स्थानियको भनाई छ । चोरीनिकासी रोकथाम तर्फ कसैको चासो नदिएको स्थानीयको भनाइ छ । जडिवुटीको उचित संरक्षण नहुदा पाटन नै रितिदै गएका छन । चाखुरे नाकामा सरकारी उपस्थिती भएपछि मात्र बहुमुल्य जडिबुटीको चारीनिकासी रोकिने र संरक्षण हुने स्थानियको भनाई छ । खुला सिमानाका कारण अबैध चोरी निकासी रोक्न समस्या भएको हो तर, अव चोरी निकासी रोक्ने तर्फ स्थानिय सरकारसँग सहकार्य गरेर आवश्यक पहल गर्ने जिल्ला बन अधिकृत उपेन्द्र प्रसाद पटेलले बताए । अवैध जडिबुटी निकासी रोक्न रेञ्जपोष्टहरुलाई निर्देशन दिएको छु बन अधिकृत पटेलले भने ।










