कामविहीन भयो विमानस्थल

हरि गौतम
रुकुम पश्चिम — चौरजहारी विमानस्थलमा जहाज अवतरण नगरेको र चौरजहारीबाट उडान नगरेको १० महिना पुग्यो । चौरजहारी विमानस्थलमा गत वर्षको जेठ दोस्रो सातादेखि जहाज आउन छाडेका थिए ।
२०२८ सालदेखि निरन्तर जहाज अवतरण गरेको तथा चौरजहारीबाट अन्यत्रै उडान भरेको धावनमार्ग १० महिनादेखि सुनसान छ । धावनमार्ग कच्ची हुँदा जहाज अनियमित भए पनि यती लामो समयसम्म बन्द भएको यो पहिलो पटक हो । यसअघि धावनमार्ग कालोपत्रे गर्ने क्रममा झन्डै दुई वर्ष जहाज चौरजहारीमा आएनन् र चौरजहारीबाट उडेनन् पनि । धावनमार्ग कालोपत्रे गर्ने क्रममा बाहेक अन्य समयमा नेपाल वायु सेवा निगमकै कारण चौरजहारीमा विमान आएको छैन । चौरजहारीको साथै सल्यान, जाजरकोट, डोल्पा र सुर्खेतको केही क्षेत्रको समेत पायक पर्ने यो विमानस्थल कामविहीन छ ।
‘बरु कच्ची धावनमार्ग हुँदा प्लेन आइरहन्थ्यो । एकरदुई महिना नआए पनि यसरी लामो समय प्लेन नआएको यो पहिलो पटक हो,’ स्थानीय सुविज्ञा जैसीले भनिन्, ‘भएको पूर्वाधारको प्रयोग पनि भएको छैन । सर्वसाधारणले सेवा पनि पाएका छैनौं ।’ चौरजहारी आसपास तथा जाजरकोट, सल्यान, सुर्खेतका केही क्षेत्रका सर्वसाधारण जत्रो कठिन र महत्त्वपूर्ण काम भए पनि सडकमार्ग हिंड्नुको विकल्प नभएको उनले बताइन् । उनका अनुसार धावनमार्ग पक्की भएपछि खासै जहाज चौरजहारी आएको छैन । २०२८ मा चौरजहारी विमानस्थल पहिलो पटक सञ्चालनमा आएको थियो । त्यसपछि कच्ची धावनमार्गमै ४४ वर्षसम्म निरन्तर सेवा दिइए पनि धावनमार्ग कालोपत्रे गरिएपछि चौरजहारीमा धेरै जहाज अवतरण भएको छैन । २०७० सालको फागुनदेखि २०७२ सालको भदौसम्मको समय लगाएर धावनमार्ग कालोपत्रे गरिएको थियो । ५ करोड ५९ लाख ४९ हजार ९ सय ५२ रुपैयाँको लागतमा विमानस्थलको धावनमार्ग कालोपत्रे गरिएको थियो । २०७२ भदौमा कालोपत्रेको काम सकिएको महिना दिनपछि नै २०७२ सालकै असोजदेखि चौरजहारी विमानस्थलमा जहाज आउजाउ गर्न थालेका थिए ।
धावनमार्गको स्तरोन्नतीपछि हवाई यात्रा सजिलो हुने आशामा रहेका सर्वसाधारण लामो समयदेखि जहाजले उडान नभर्दा निराश भएका छन् । स्थानीय लीलाप्रसाद ढकालले पनि विमानस्थल पक्की भएपछि जहाज आउनै छाडेको बताए । धावनमार्गको स्तरोन्नति भएपछि ९ महिना मात्रै चौरजहारी विमानस्थलमा उडान भएको छ । धावनमार्ग कालोपत्रे भएपछि २०७२ को असोजदेखि २०७३ को जेठसम्म गरी ९ महिना मात्रै उडान भएको नेपाल वायु सेवा निगम चौरजहारी स्टेसनले बताएको छ । निमित्त स्टेसन इन्चार्ज सुरेन्द्र नेपालीले जहाज र पाइलटको संख्या कम भएको भन्दै नेपाल वायु सेवा निगमले चौरजहारीको उडान बन्द गरिदिएको थियो । ‘जहाज र क्याप्टेन छैनन् भनेर यहाँको उडान रोकेको हो,’ नेपाल वायु सेवा निगम चौरजहारीका निमित्त स्टेसन इन्चार्ज नेपालीले भने, ‘जहाज रोकिएको दस महिनासम्म पनि जहाज सुचारु हुनेबारे कुनै जानकारी आएको छैन ।’ उनले जहाज नै नआउने भएपछि कर्मचारीहरू बेकामे भएर बसिरहेको पनि बताए । उनले हाल जहाज र पाइलटको संख्या पनि थपिएको बताए ।
स्थानीयले राज्यले करोडौं लगानी गरेर बनाएको विमानस्थल यत्तिकै राख्नाले राज्य र नागरिक दुवैलाई घाटा भैरहेको भन्दै तत्काल सुचारु गर्न माग गरेका छन् । चौरजहारी उद्योग वाणिज्य संघका अध्यक्ष तेजबहादुर विष्टले सरकारको लापरबाहीका कारण चौरजहारी विमानस्थल खाली भैरहेको बताए । उनले जहाज नआउँदा विशेषगरी बिरामी मारमा परेको बताए । जहाज बन्द हुँदा सर्वसाधारण यात्रुका साथै चौरजहारीमा रहेको चौरजहारी अस्पतालबाट रिफर गरिएका बिरामीलाई समयमै अस्पताल पुर्याउन कठिन भैरहेको भनाइ विष्टको छ । लामो समयदेखि जहाज नआउँदा धावनमार्गमा स्याउला र पात पतिंगर थुप्रिएको छ । जिल्लामा चौरजहारीका अलावा मुसिकोटमा पनि विमानस्थल रहेको छ ।










