डोल्पाबाटै २ पर्यटनमन्त्री

डोल्पा — पर्यटकीय महत्त्वको डोल्पाबाट संघीय र प्रदेश सरकारमा दुई जना पर्यटन ‘मन्त्री’ बनेपछि पर्यटकीय विकासको अपेक्षा गरिएको छ ।

डोल्पाबाट निर्वाचित धनबहादुर बुढा संघीय सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन् भने कर्णाली प्रदेश सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका छन् नन्दसिंह बुढा ।

डोल्पामा फोक्सुन्डो ताल, जगदुल्ला ताल, क्याकोचेन ताल, फोक्सुन्डो झर्नालगायतका महत्त्वपूर्ण पर्यटकीय गन्तव्यहरू छन् । त्यस्तै यहाँका गुम्बा र मठमन्दिर, भौगोलिक र प्राकृतिक विविधता, सामाजिक–धार्मिक संस्कारले समेत पर्यटकलाई आकर्षण गर्ने देखिन्छ । दुर्लभ वन तथा वन्यजन्तुहरू, लोपोन्मुख भाषा, वेशभूषा, संस्कार, रीतिरिवाजमा समेत डोल्पा धनी छ ।

स्थानीय नीरा बस्नेतले डोल्पाको विकासमा तीव्रता आउने आशा व्यक्त गरिन् । प्रचुर पर्यटकीय सम्भावना भए पनि अन्य पूर्वाधारको विकास नहुँदा पर्यटकहरूको कम रोजाइमा डोल्पा पर्ने गरेको छ । ‘डोल्पाका नागरिकको सदियौंदेखिको मोटरबाटोको सपना अब पूरा हुन्छ कि भन्ने आशा छ,’ उनले भनिन्, ‘मोटरबाटो पुगेपछि पर्यटकीय गन्तव्यको समेत विकास छिटो हुनेछ ।’ पर्यटन विकासबाट डोल्पाले राम्रो आम्दानी गर्न सक्ने उनले जनाइन् ।

दुनैका नरबहादुर बुढाले जिल्लाका लागि अहिलेको समय आशाको समय भएको बताए । उनले भने, ‘संघ र प्रदेश दुवैमा डोल्पाली मन्त्री छन्, अब विकासले फडको मार्ने आशा छ ।’ मोटरबाटोसँगै जलविद्युतको विकास हुन जरुरी रहेको उनको भनाइ छ । से फोक्सुन्डो गाउँपालिका ९ पुग्मका आङबहादुर लामाले सडक, जलविद्युत, कृषि, शिक्षा, सरसफाइलगायतका पूर्वाधारसँगै पर्यटकमैत्री विकासको सपना पूरा आशा लिएको बताए ।

स्थानीयले मन्त्रीहरूबाट ठूलो आशा र अपेक्षा गर्नु स्वाभाविकै भएको सञ्चारकर्मी रूपलाल बोहोराले बताए । डोल्पालीले गरेको आशा र विश्वासलाई पूरा गर्नका लागि कुनै कसुर बाँकी नराख्ने कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बुढाले बताए । ‘सरकार भर्खर गठन भएको छ । पर्यटन क्षेत्रको विकासबाट समग्र कर्णालीको समृद्धिका लागि १० वर्षे गुरुयोजना र ५ वर्षे कार्ययोजना बनाउने तयारी भैरहेको छ,’ उनले भने, ‘समग्र कर्णालीको विकाससँगै आफ्नो गृहजिल्लाको विकासमा तत्पर छु ।’

संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री बुढाले समेत डोल्पाको पर्यटकीय विकासका लागि योजनाबद्ध रूपमा काम गरिने बताए । ‘डोल्पाको मात्र होइन कर्णाली प्रदेशको समग्र विकास र समृद्धिका लागि नेपालगन्ज– छिन्चु–सल्लीबजार–जाजरकोट–त्रिवेणी–दुनै–धो हुँदै मरिम्लासम्मको उत्तरदक्षिण चीनतर्फ व्यापारिक नाका खोल्ने मेरो पहिलो योजना छ,’ उनले भने, ‘डोल्पाका नदी र खोलाबाट जलविद्युत् आयोजना निर्माण गर्ने र सिँंचाइलगायतका पूर्वाधारको विकास गर्ने कुरामा जोड दिनेछु ।’




सम्बन्धित समाचार


error: Content is protected !!