सोलार वाटर लिफ्टिङ प्रविधिबाट सिँचाइ सुक्खा क्षेत्रमा फस्टाउँदै स्याउ

जुम्ला ः जुम्लाको तातोपानी गाउँपालिकामा प्रशस्त खेतीयोग्य जमिन छन्। सिँचाइ गर्ने पानी नहुँदा यो ठाउँ जिल्ला ‘मरुभूमि’ का रूपमा चिनिन्थ्यो। धौलापानी गाउँ, बाँझाराउललगायतका खेतबाट किसान जमिन भएर पनि सिँचाइ अभावमा खेती गर्नबाट वञ्चित थिए। अधिकांश खेतीयोग्य जमिन बाँझै हुन्थ्यो। आकाशे पानीको भरमा बाँझाराउलमा खेती गर्दै आएका कृषकले केही वर्ष समयमै पानी नपर्दा खेती गर्न पनि छोडेका थिए।
सुक्खा क्षेत्रमा सिँचाइ सुविधा पुर्याएर व्यावसायिक रूपमा उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ धौलापानीमा सोलार जडित पानी तान्ने पम्प ९सोलार वाटर लिफ्टिङ पम्प योजना प्रविधिबाट सिँचाइ सुविधाको व्यवस्था भएपछि अहिले स्याउ खेती फस्टाउन थालेको छ। सुरुमा ३५ घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुनेगरी ३६ रोपनी सुक्खा जमिनमा ४ सय ८० वटा स्याउका बिरुवा रोपिएकोमा यो वर्ष ७० घरधुरीले झन्डै दुई हजार पाँच सय स्याउका बिरुवा रोपेका छन्।
दैनिक २० हजार लिटरसम्म पानी तान्ने क्षमता भएको यस योजनाबाट धौलापानी क्षेत्रमा कृषकहरूले व्यावसायिक स्याउ खेती सुरु गरेका हुन्। तिला नदीको पानी दुई चरणमा फिल्टर गरी पम्पको सहायताले पाइपबाट १ सय ७० मिटर माथि तानिएको पानी व्यवस्थित तरिकाले संकलन गरी कृषकहरूले सुक्खा मौसममा पालैपालो आफ्नो बगैंचामा सिँचाइ गर्ने गरेका छन्।
सोही ठाँउमा स्याउ बगैंचालाई पायक पर्ने हिसाबले कुल ५० हजार लिटर क्षमता भएका ३ वटा पोखरी निर्माण गरिएको छ भने पिउने प्रयोजनका लागि १ हजार लिटरको ट्यांकी पनि जडान गरिएको छ। साथै बाँझो रहेको बाँकी जमिनमा पनि कृषकले विस्तारै स्याउको बिरुवा सार्ने योजना बनाएका छन्।
युरोपियन युनियन, जर्सी ओभरसिस एड र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको १५ लाख ५१ हजार ९ सय ९५ रुपैयाँ आर्थिक सहयोगमा निर्मित विकास परियोजनाअन्तर्गत ९सोलार वाटर लिफ्टिङ पम्प० परीक्षणका रूपमा सुरु गरिएको यो प्रविधि कर्णालीकै नमुना योजना हो। यस प्रविधिबाट कर्णालीका अन्य जिल्ला र स्थानमा पनि यस्तै खालका नवीनतम् प्रविधिसहितका योजनाको माग वृद्धि भइहेको छ भने यस प्रविधि विस्तारसँगै सफल बनाउन विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले अग्रसरता देखाइरहेका छन्।
यस प्रविधिको निमार्णबाट धौलापानी गाउँमा कृषि वस्तु उत्पादनमा वृद्धि भई कृषकहरूको आम्दानी बढ्ने देखिन्छ। ‘यस प्रविधिले हाम्रो बाँझो जग्गा सदुपयोग भयो, यसै ठाँउमा सोचेजति स्याउ लगाउन पाइने भो, कमाउनका लागि अब कालापहाड जान पर्दैन, हाम्रा दुःखका दिन गए’, स्थानीय कृषक मीनबहादुर बुढ्थापाले भने।’ नदीबाट एक घण्टाको समय लगाएर एक गाग्री पानी बोकेर एउटा विरुवा हुर्काउन सम्भव थिएन। यस प्रविधिले कृषकको समय र दुःख व्यवस्थापन भएको कृषक छक्क भण्डारीले बताए। उनीजस्तै यहाँका हजारौं कृषकले बाँझो जमिनमा सुरु भएको स्याउ खेतीसँग खुसी साटेका छन्।
बगैंचा व्यवस्थापनमा व्यस्त कृषक
हिजोआज धौलापानीका कृषक अन्य सबै घरायसी काम छाडेर स्याउ बगैंचा व्यवस्थापन कार्यमा लागिपरेका छन्। स्याउ बगैंचा व्यवस्थापनका लागि उपयुक्त समय नै यतिखेर भएकाले यहाँका कृषक दैनिक बगैंचा स्याहारमा लागेका हुन्। दुई÷चार दिनमा गरेको बगैंचा व्यवस्थापन कार्यले कृषकहरूको वार्षिक आय निर्धारण गर्छ। स्याउबाटै जीविकोपार्जन गर्ने कृषकका लागि यो एउटा अवसर पनि हो। यतिखेर जतिसक्दो चाँडो र राम्रोसँग बगैंचा व्यवस्थापन गर्न सक्यो त्यति धेरै गुणस्तरीय स्याउ उत्पादन हुने कृषकहरू बताउँछन्।
‘स्याउलाई यो समय नै मलखाद दिने र काँटछाँट गर्ने समय हो, यो समयमा विरुवा सुस्त हन्छ, यतिखेर बगैंचा व्यवस्थापन नगरेपछि गर्न पनि मिल्दैन, त्यसैले सबै परिवार दिनभरि बगैंचा व्यवस्थापनमा व्यस्त हुन्छु’, युवा तथा स्याउ कृषक मनऋषि न्यौपानेले भने, ‘मेरो भविष्य स्याउ खेतीमै निर्धारण गरेको छु, छोराछोरीको भविष्य यसैले बनाउँछ, त्यसैले छोराछोरीसरह स्याउ विरुवा काँटछाँट र हेरचाहमा व्यस्त छु।’
अर्का कृषक हरिकृष्ण न्यौपानेले भने, ‘यो समय एक विरुवालाई काँटछाँट गर्दा अर्को विरुवालाई असर नपर्ने भएकोले विरुवा काँटछाँट गर्न उपयुक्त समय छ, यतिबेला विरुवा राम्रोसँग काँटछाँट भए पछि स्याउको दाना रङले भरिपूर्ण हुनुका साथै उत्पादनमा वृद्धि र गुणस्तरीय कायम हुन्छ।’
जिल्ला कृषि विकास कार्यालय जुम्लाका योजना अधिकृत बालकराम देवकोटाका अनुसार किसानहरूले स्याउ संकलन गरिसकेपछि भदौदेखि फागुनसम्म विरुवा सुस्त हुन्छ। यो भनेको विरुवालाई काँटछाँट गर्ने समय र बिरुवाले गर्भधारण गर्ने समय पनि हो। ‘गुुणस्तरीय स्याउ उत्पादनका लागि स्याउ बगैंचा व्यवस्थापन गर्न आवश्यक हुन्छ, पुसदेखि फागुनसम्म बगैंचा व्यवस्थापन गरिसक्नुपर्छ, पहिलेभन्दा दुई तीन वर्षयता कृषकहरू बगैंचा व्यवस्थापन गर्नमा जागुरुक छन्,’ उनले भने।
पानीको स्रोत उपलब्ध हुँदाहुँदै पनि कर्णालीमा यस्ता थुप्रै समुदाय छन्, जहाँ सिँचाइ अभावले आफूले चाहेको कृषि व्यवसाय गर्न सकिरहेका छैनन्। पानी त छ तर भौगोलिक कठिनाइले गर्दा त्यो पानी कृषकको खेतबारीसम्म पुर्याउन चुनौती छ। स्याउ खेतीको प्रचुर सम्भावना छ, कृषकले स्याउका बोट त रोपेका छन्, तर सिँचाइ अभावले गुणस्तरीय र आशा गरेअनुसार फल लिन सकेका छैनन्।










