युद्ध संग्रालय बन्दै, माओवादीले आक्रमण गरेको पहिलो प्रहरी चौकी भवन

रुकुम । तत्कालिन नेकपा माओवादी रुकुमको राडी प्रहरी चौकी, रोल्पाको होलेरी प्रहरी चौकी, सिन्धुलीको सिन्धुलीगढी प्रहरी चौकी र गोरखाको च्याङ्लीस्थित नेपाल बैंकको शाखामा १ फागुन २०५२ मा एकै दिन आक्रमण गरेर जनयुद्धको थालनी गरेको थियो ।
माओवादीको जनयुद्ध देशले १० वर्षसम्म बेहोरेको थियो । त्यसका लागि माओवादीले लामो समय आन्तरिक गृहकार्य पनि गरेको थियो । आक्रमण भएका ४ स्थान मध्ये रुकुमको राडी प्रहरी चौकी अहिले रुकुम पश्चिम सानीभेरी गाउँपालिका–६ मा पर्छ ।
गाउँपालिकास्थित दुलीको मेलचौर सार्दुलामा युद्ध संग्रालय बन्ने भएको छ । युद्ध भएको २२ वर्षपछि ‘युद्ध संग्रालय’ बन्ने भएको हो । पुरानै संरचनामा युद्ध संग्रालय बन्ने भएको हो ।
संग्रालयमा आक्रमणको तयारी गरिँदा प्रयोग भएका सामाग्री, हतियार, बारम्बार भएका छलफलको झल्को आउँने तथा युद्धसँग सम्बन्धित अन्य सामाग्रीहरु राखिने संस्कृति तथा पर्यटन विकास केन्द्रका जिल्ला अध्यक्ष पहलसिंह घर्तीले जानकारी दिए । उनले पहिलो आक्रमणको योजना बनेको सोही घरलाई पूनर्निर्माण गरी संग्रालय बनाउने पनि जानकारी दिए ।
माओवादी रुकुमको राडी प्रहरी चौकीमा आक्रमण गरेका पहिलो घर । हाल उक्त घर भत्किएको छ । तस्बिर–मनिष खड्कारनयाँ पत्रिका
उक्त घर अहिले भत्किएको छ । राडी प्रहरी चौकीमाथि आक्रमण हुँदा राजनीतिक कमिसारका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र फौजि कमाण्डर गणेशमान पुन ‘रश्मी’ थिए । पुन प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा र ओली विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा छन् ।
सानीभेरी गाउँपालिकाको पर्यटन प्रवद्र्धन सम्बन्धि पञ्च वर्षीय रणनीतिक योजनामा साँर्दुलामा युद्ध संग्रालय निर्माण गर्ने योजना समेटिएको छ । भर्खरै गाउँपालिकाले संस्कृति तथा पर्यटन विकास केन्द्रको सहयोगमा पञ्च वर्षीय पर्यटन प्रवद्र्धनको रणनीतिक योजना निर्माण गरेको हो ।
पञ्च वर्षीय रणनीतिक योजनामा के छ रु
गाउँपालिकामा रहेका पर्यटकीय, धार्मिक तथा ऐतिहासिक महत्व बोकेका क्षेत्रको विकास गरी आन्तरिक तथा बाह्य पर्यक भित्र्याउने लक्ष्यसहित पञ्च वर्षीय रणनीतिक योजना निर्माण गरिएको गाउँपालिका अध्यक्ष नरवहादुर पनुले बताए ।
विज्ञसहितको टोलीले हप्ता दिन लगाएर सानीभेरी भित्रका पर्यटकिय, धार्मिक तथा ऐतिहासिक क्षेत्रको स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारको थियो ।
पञ्च वर्षीय योजनामा मौराखारामा भ्यू टावरको निर्माण, प्याराग्लाइडिङ परिक्षण, पर्यटकीय गुरिल्ला पदमार्ग निर्माण, सानीभेरी नदीमा र्याफ्टिङको सञ्चालन योजना समेटिएको छ ।
त्यस्तै, पूर्तिमकाँडाको मालिका कालिका लेखमा भ्युटावर निर्माणका साथै प्याराग्लाइडिङको परीक्षण गरी यसको दिगोपनाका लागि योजना बनाउने, रिम्ना दोभानमा धार्मिक स्थल निर्माण गर्ने पनि प्रतिवेदनमा उल्लेख छ ।
प्राथमिकताका आधारमा पाँच वर्षसम्म यी योजनामा बजेट विनियोजन गरी काम गर्ने गाउँपालिका अध्यक्ष पुनले बताए । चालु आर्थिक वर्षमै प्याराग्लाइडिङको परीक्षण र अल्ट्रा हाप म्याराथुन सञ्चालन गर्ने र अर्को वर्षदेखि भौतिक सञ्रचना निर्माणको काम सुरु हुने पनि उनले बताए ।
गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि विषेश योजना बनाएपछि पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ । आवश्यक योजनाको अभावमा पर्यटन विकासमा उन्नति नभएको अवस्थामा गाउँपालिकाले योजना नै बनाएपछि सरोकारवालाहरुले पनि सकारात्मक कार्यका थालनी भनेका छन् ।










