सिन्धुलीको एक बिधालयमा ३३दलित बालबालिका बगर ढुङ्गामा बसेर पढन बाध्य छन,पीडा सुन्ने कोहि भएन।

सिन्धुली। सिन्धुली जिल्लाको घ्याङ्लेक गाउँपालिका–५, बगरटोलका दलित बालबालिका जाडोमा खोलाबाट आउने सिरेटोसंगै बगरको ढुंगामाथि बसेर पढ्न बाध्य छन् । जिल्लाको विकट सो ठाउँका बालबालिका नजिक अरु विद्यालय नभएकाले त्यसरी पढ्न बाध्य भएका हुन् ।
त्यहाँका ३५ घरधुरी रहेको बस्तीमा अधिकांश दलित बस्तीका बालबालिका त्यसरी खुल्ला बगरको ढुंगामाथि बसेर बढ्दै आएको सात वर्ष बितेको शिक्षिका वर्षा विकले बताएकी छिन । “हाम्रो यो दलित बस्ती रहेको बगरटोल नजिकै अरु विद्यालय नभएको र भएका विद्यालयमा जान एक घण्टाको बाटो हिँडेर जानुपरेका कारण यहाँका अभिभावकले सानो टहरा बनाएर माटोखानी बालज्योति विद्यालय स्थापना गरेका हुन्”, उनले भनिन ।
एक दिनमा। तीन घण्टा पढाइ हुने सो विद्यालयमा ३३दलित बालबालिका माटो, धुलो र खोलाको स्याँठको मुकाबिला गर्दै पढ्दै आइरहेका हुन् ।
मासिक रु दुई हजार ५००मा पढाउँदै आएकी शिक्षिका विकले भनीन्, “यहाँका पिछडिएको समुदायका बालबालिकाको भविष्यको सहयोग गरौँ भन्ने उद्देश्यले थोरै रकममा पनि साढे दुई वर्षदेखि पढाउँदै आइरहेकी छु ” । पानी गर्दा भिजेर बस्नुपर्ने, घाम लाग्दा उकुसमुकुस हुने तर हावा चल्दा कठ्याङ्ग्रिएर बस्नु पर्ने बाध्यताले कहिलेकाहीँ त बालबालिका बिरामी भएर घर फर्कन्छन् त्यसैले मैले गरेर हुन्छ भने गरौँन भनेर नै यस्तै ठाउँमा पढाउँदै आइरहेकी छु ।”
विद्यालयमा पढ्नका लागि बालबालिकालाई अभिभावकले कापी र कलम किनेर पठाउँछन्, बेलुका घर फर्कंदा धुलोमैलो भएर आउँछन्, साविक गाविस हुँदा विद्यालयका लागि वार्षिक रु ४० हजार छुट्याइएको र त्यहीबाट शिक्षकलाई तलब खुवाउने र विद्यालयका लागि जस्ता र अन्य शैक्षिक सामग्री किन्न खर्च गर्यौं” उनले भनीन्, “त्यसरी पढ्दै आएका बालबालिकाका लागि न त जिल्ला शिक्षाले नै देख्यो न त अन्य सरोकारवाला निकायले नै ।”
स्रोत केन्द्रका स्रोतव्यक्तिलाई समस्या सुनाउँदा पनि सम्भव छैन भनेर पन्छिने गरेकाले धेरै समयपछि विद्यालय कै लागि भनेर यसै आर्थिक वर्षमा वडा कार्यालयबाट रु एक लाख बजेट छुट्याउने निर्णय भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संसरसिं सिघसिङले यसअघि जिल्ला शिक्षा कार्यालयबाट सहयोग दिए पनि पछिल्लो समयमा बालबालिकाको संख्या नपुगेको भनेर सहयोग गर्न नै छाडेको बताए । घिसिङले भने, “साना बालबच्चा अन्य विद्यालयमा पनि गएर पढ्न नसक्ने भएका कारण जिल्ला शिक्षा कार्यालयले हेर्न छोडे पनि हामी अभिभावक मिलेर जेनतेन चलाइरहेका छौँ ।” पछिल्लो अवस्थामा राहत पाएको दुई बण्डल जस्ताले अलिअलि बेरेर जसोतसो गरी विद्यालय चलाइरहेको उनको भनाइ छ ।
सो वडाका वडाध्यक्ष विष्णुकुमार कर्माचार्यले बालबालिकाको समस्या देखेर नै वडाबाट बजेट छुट्याएको बताए । हामीले केहीमात्रामा सहयोग पुगोस् भनेर यसपालि म वडाध्यक्ष भएपछि रु एक लाख बजेट छुट्याएको छु, उनले भने । सो बिधालय जि शि काबाट स्वीकृत हुन सकेको छैन।
सरकारले कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहोउन् भनेर नीतिसहित विद्यालयमा स्वागत कार्यक्रम ल्याउनेदेखि दलित, अल्पसंख्यक र पिछडिएका समुदायका बालबालिकालाई भत्तासहित दिने गरेका छन् । तर यहाँका विद्यालय र बालबालिकाले भने त्यो सुविधा पाउन त के सुन्नसमेत नपाएको अभिभावकको गुनासो छ ।









