साउदी अरब लक्षित मिसाइल प्रहार आकाशमै ध्वस्त एजेन्सी रियाद ।

बयमन सरकार र साउदी गठबन्धनविरुद्ध लडिरहेको हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादस्थित यामामाह दरबारलाई लक्षित गरी प्रहार गरेको क्षेप्यास्त्रलाई साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले आकाशमै नष्ट गरिदिएको छ । यमामाह दरबार साउदी राजा सलमानको सरकारी निवास हो ।

गठबन्धनले क्षेप्यास्त्र नष्ट गरेको घोषणा गर्नुअघि आकाशमा विस्फोट भएको क्षेप्यास्त्रको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । ग्रिनविच समयअनुसार बिहान १० बजेर ५० मिनेटमा विशाल आवाजसहित सो क्षेप्यास्त्र आकाशमा विस्फोट भएको थियो ।

यामामाह दरबारबाट राजा सलमानले वार्षिक बजेट सार्वजनिक गर्ने तयारी गरिरहेकै वेला साउदी आकाशमा क्षेप्यास्त्र विस्फोट भएको थियो । यसैबीच यमनको हुथी विद्रोहीका प्रवक्ता मोहम्मद अब्दुल सलामले यमनबाट मंगलबार आफ्नो समूहले ब्यालेस्टिक क्षेप्यास्त्र हानेको पुष्टि गरेका छन् । आक्रमणमा भोल्कानो एच–२ नामक क्षेप्यास्त्र प्रयोग गरिएको उनले बताए । यामामाह दरबारलाई लक्षित गरी यमनको सिया समूहले क्षेप्यास्त्र छोडेको उनले बताए ।

हुथी विद्रोहीले साउदी दरबारलाई निसाना बनाएको यो दोस्रोपटक हो । गत महिना हुथी विद्रोहीले साउदी अरेबियाको राजधानीमा रहेको विमानस्थललाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेका थिए । सो क्षेप्यास्त्र खस्नुअघि साउदी सरकारले आकाशमै ध्वस्त पारिदिएको थियो । इरान समर्थित हुथी विद्रोहीविरुद्ध साउदी अरेबिया नेतृत्वको गठबन्धन फौजले सन् २०१५ को मार्चदेखि युद्ध गरिरहेको छ।





error: Content is protected !!