विप्लवका जिल्ला सदस्य माओवादी केन्द्रमा प्रवेश

रुकुम / गलत राजनैतिक कार्यदिशाका कारण नेपाल कम्युनिष्ट पार्टी (विप्लव समुह) अस्तित्व रक्षाको संकटमा पुगेको छ । देशैभर पार्टी परित्याग गर्ने लहर श्रृजना भई सयौैं केन्द्रीय नेताहरुले पार्टी परित्याग गरिरहेको खवर आईरहेको वेला नेकपाका जिल्ला समिति पश्चिम रुकुमका सदस्य हरिशंकर पाण्डेले सोमवार पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।
मुसीकोट नगरपालिका वडा नं. ९ चौखावाङ होल्तारामा सोमवार आयोजित वामगठवन्धनको चुनावी कार्यक्रममा उहाँले माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो । जनयुद्धकालीन भुमिगत राजनीति समेत गर्नुभएका पुराना कम्युनिष्ट नेता पाण्डेलाई माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य वसन्त शर्मा कुशलले अविर आवरण तथा माल्र्यापन गरि पार्टी प्रवेश गराउनुभएको छ । नेता पाण्डेसंगै आधादर्जन अरु नेता कार्यकर्ताहरु पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
विप्लव समुह परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका पाण्डेले वृहत वामएकता मार्फत नेपालमा समाजवादी क्रान्तिलाई टेवा पुर्याउने उद्धेश्यले आफुले माओवादी केन्द्रमा प्रवेश गरेको वताउनुभयो । उहाँले विप्लवले लिएको एकिकृत जनक्रान्तिको नारा सारसंग्रहवादी, अस्पष्ट र वस्तुपरक नभएको पनि वताउनुभयो । विगतमा प्रचण्ड नेतृत्वको पार्टी संसदवादमा फसेको भ्रम आफुलाई पनि परेको वताउदै नेता पाण्डेले वामएकता मार्फत माओवादी केन्द्र कार्यकारी प्रमुखको प्रणाली सहित समाजवादी क्रान्तिको दिशामा अगाडि वढेको कारण आफनो भ्रम अन्त्य भएको वताउनुभयो । पत्रकारहरुसंग कुरा गर्दै उहाँले आफुले विगतदेखि नै क्रान्तिकारी धाराको कम्युनिष्ट आन्दोलनमा आफनो श्रम र पसिना खर्चेको वताउदै भ्रमवश विप्लवको पछि लागेका सवै नेता कार्यकर्ताहरु क्रान्तिकारी धारामा गोलवन्द हुने विश्वास व्यक्त गर्नुभयो ।
माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा काँग्रेसमा आवद्ध कार्यकर्ताहरु पनि रहेका छन् । नेपाली काँग्रेस परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा मुसीकोट नगरपालिका वडा नं. ९ साविक चौखावाङ्ग गाविस वडा नं. १ का सरिता ओली, सुभद्रा खड्का, झुपा ओली लगायत रहेका छन् । उनिहरुले श्रमजीवी वर्गको हित काँग्रेसवाट सम्भव नभएकोले आफुहरु माओवादी केन्द्रमा प्रवेश गरेको वताएका छन । आफुहरु लामो समय काँग्रेसमा आवद्ध भएपनि गरिव दुखि जनताको हित कम्युनिष्टहरुले मात्र गर्ने वुझेपछि प्रवेश गरेको उनिहरुको भनाई छ ।
नवप्रवेशीहरुलाई स्वागत गर्दै माओवादी केन्द्रका पोलिटव्युरो सदस्य वशन्त शर्मा कुशलले क्षमता अनुसार सम्मानजनक जिम्मेवारी दिई पार्टीमा क्रियाशिल गराउने वताउनुभएको छ ।










