स्थानीय तहमा जान कर्मचारीको अटेरी

पश्चिम रुकुमको आठबिसकोट नगरपालिकाको प्रशासन फाँटमा खटाइएका हरिबहादुर खड्का, मनोज केसी, कृषि संयोजक खटाइएका मनोज पोखरेल कार्यालयमा हाजिर भएनन् । जिल्ला पशु सेवा कार्यालयबाट खड्का, जिल्ला स्वास्थ्य कार्यालयबाट केसी र जिल्ला कृषि विकास कार्यालयबाट पोखरेललाई नगरपालिकामा खटाइएको थियो । जिल्ला कर्मचारी व्यवस्थापन समितिको निर्णयअनुसार गत साउन महिनामै उनीहरूलाई पठाइएको हो । कर्मचारी हाजिर नभएपछि नगरपालिकाले सम्बन्धित कार्यालयमा चिठी लेखिसकेको छ ।

 

बाँफिकोट गाउँपालिका कार्यालयमा खटाइएका विषयगत कार्यालयका संयोजक पनि जिल्लामै छन् । उनीहरू हाजिर हुन मात्रै गाउँपालिका कार्यालय पुगेको अध्यक्ष धर्मबहादुर केसीले बताए । ‘उहाँहरू आएर हाजिर मात्रै हुनुभएको छ,’ अध्यक्ष केसीले भने, ‘त्यसपछि गाउँपालिकाको विषयगत कार्यालयमा कहिल्यै देखिनुभएको छैन ।’ जिल्ला कर्मचारी व्यवस्थापन समितिको निर्णयअनुसार बाँफिकोट गाउँपालिकाको स्वास्थ्य संयोजकमा नन्दलाल महतो, कृषि संयोजकमा लोकेन्द्र ओलीलाई खटाइएको छ । अब पनि खटाइएका कर्मचारी गाउँपालिकाको सम्पर्कमा नआए जिल्ला प्रशासनमा उजुरी गर्नुको विकल्प नभएको अध्यक्ष केसीले बताए ।
यसरी खटाइएका कर्मचारी नपुगेका स्थानीय तहमध्ये आठबिसकोट नगरपालिका र बाँफिकोट गाउँपालिका त उदाहरण मात्रै हुन् । रुकुम पश्चिमका ६ स्थानीय तहको सबैको अवस्था उस्तै छ । साबिक नगर र गाविसका कर्मचारीले मात्रै नगर तथा गाउँपालिका र वडा कार्यालय धानिरहेका छन् । ६ वटै स्थानीय तहमा नयाँ पुगेका भनेका कार्यकारी अधिकृत मात्रै हुन् । बाँकी सबै वडा सचिव, वडा कार्यालय सहायक, प्राविधिक, सहयोगी र सामाजिक परिचालकको भरमा स्थानीय तह चल्दै आएका छन् । ‘हामीले पुरानै जनशक्तिका भरमा नगरपालिका चलाइरहेका छौं,’ आठबिसकोट नगरपालिकाका कार्यकारी अधिकृत रामबहादुर केसीले भने, ‘खटाइएको कर्मचारी नआउँदा समस्या भइरहेको छ ।’ राजनीतिक पहुँचको लाभ कर्मचारीले लिइरहेको उनले बताए । ‘खटाइएको ठाउँमा हाजिर नभई तलब खुवाइएकोबारे जानकारी माग्दासम्म सम्बन्धित कार्यालयले बेवास्ता गर्नुले पनि समस्या थपिएको हो,’ अधिकृत केसीले थपे ।

खटाइएका केही विषयगत तथा अन्य कर्मचारीको बारेमा केही जानकारी समेत नआएको सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुनले बताए । ‘नयाँमा कार्यकारी तथा स्थानीय स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई संयोजक तोकिएकाले उहाँहरू हुनुुहुन्छ अरू को कता खट्नुभएको भन्नेसम्म पनि जानकारी आउन सकेको छैन,’ अध्यक्ष पुनले भने । मुसीकोट नगरपालिकाको कृषि संयोजकमा खटाइएको राजेश साह हाल जिल्ला कृषि विकास कार्यालयका निमित्त प्रमुख छन् । विविध समस्याको कारण सम्बन्धित स्थानीय तहमा खट्न नसकिएको उनले बताए । कतिपय स्थानीय तहमा कृषिको कर्मचारी हाजिर भइसके पनि कतिपय कार्यालयकै कामले हाजिर नभएको साहले बताए ।

‘हामी मिलाउँदै छौं, साहले भने अब तिहार लगत्तै सबै कुरा मिल्छ होला,’ साहले भने । यस विषयमा जिल्ला कर्मचारी व्यवस्थापन समितिका संयोजक एवं रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी वंशीकुमार आचार्यले स्थानीय तहमा कर्मचारी पुगे नपुगेको बारे कुनै जानकारी तथा गुनासो नआएको बताए । विषयगत कार्यालयका अधिकृतहरू सम्बन्धित मन्त्रालयले र प्रशासनका कर्मचारी जिल्ला प्रशासनले खटाउने व्यवस्थाअनुसार सबै कर्मचारी सम्बन्धित स्थानीय तहमै छन् भन्नेमा आफू विश्वस्त रहेको बताए । प्रशासनिक अनुगमनका क्रममा त्यस्तो पाइएमा आवश्यक कदम चालिने पनि उनको भनाइ छ ।

 

 





error: Content is protected !!