पूर्वआइजीपी अर्यालका छोराको नाम मुछिएको डा। अनिमेष ठाकुर मृत्यु प्रकरण स् सर्वोच्चद्वारा कारण देखाउ आदेश

काठमाडौं– सर्वोच्च अदालतले डा। अनिमेष ठाकुर मृत्यु प्रकरणमा विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ।
सर्वोच्चका न्यायाधीश ओमप्रकाश मिश्रको मंगलबारको इजलाशले प्रतिवादीलाई मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्धको रिटमा विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो।
निकै विवादित डा। अनिमेष मृत्यु प्रकरणमा पूर्वआइजीपी उपेन्द्रकान्त अर्यालका छोरा डा। आयुष अर्यालको पनि नाम मुछिएको छ ।
करिब २ वर्ष अगाडि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा इन्टर्न गर्दै गरेका डा। अनिमेषको रहस्यमय मृत्यु भएको थियो। उक्त प्रकरणमा मृतक ठाकुरका बाबु तत्कालीन स्वास्थ्य मन्त्रालयको अनुगमन महाशाखा प्रमुख सहसचिव डाक्टर गरिबदास ठाकुरले आफ्नो छोराको हत्या पूर्वआईजीपी अर्यालको छोरा डा। आयुष अर्यालले गरेको आरोप लगाउँदै आएका छन्।
मणिपालमा ‘इन्टर्न’ गर्दै गरेका अनिमेषको २०७२ असार १९ गते राति करिब पौने ९ बजे अस्पतालदेखि २०० मिटरनजिकैको एक घरको तेस्रो तल्लाबाट खसेर रहस्यमय मृत्यु भएको थियो।
तत्कालीन बहालवाला आइजीपीकै छोराविरुद्ध हत्याजस्तो गम्भीर आरोप लागेपछि उक्त घटना कास्की प्रहरीको लागि त्यसबेला टाउको दुःखाइको विषय बन्न गएको थियो।
छोराको रहस्यमय मृत्यु भएपछि गरिबदासले तत्कालीन आइजीपी अर्यालका छोरा र उनकै केटी साथी प्रतिशा प्रधानविरुद्ध किटानी जाहेरी दिएका थिए।
तर, कास्की प्रहरीले उजुरी दर्ता नगरेपछि गरिबदासले तत्कालीन पुनरावेदन अदालत पोखरामा रिट निवेदन दर्ता गराएका थिए।
उक्त रिट सुनुवाइको क्रममा विपक्षी जिल्ला प्रहरी कार्यालय कास्कीले जाहेरवाला गरिबदास ठाकुरले हुलाकमार्फत पठाएको जाहेरी दर्ता गरिएको भन्दै जवाफ पठाएपछि उक्त रिट खारेज भएको थियो। गरिबदासले फेरि सर्वोच्चमा पुगेका हुन्।










