माओवादी मन्त्री हटाउने प्रधानमन्त्रीको तयारी, बाम गठवन्धनलाई बदनामित गर्ने रणनिति

काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसले एमाले र माओवादीबीच भएको एकतालाई बदनाम गर्दै अगाडि बढ्ने रणनीति अख्तियार गर्ने भएको छ । प्रमुख विपक्षी एमालेले सतारुढ घटक माओवादीसँग पार्टी एकता नै गर्ने गरी चुनावी तालमेलको घोषणा गरेपछि कांग्रेसले त्यसलाई कसरी प्रतिवाद गर्ने भन्नेमा आन्तरिक विमर्श तीव्र पारेको छ ।

वाम गठबन्धन घोषणा भएलगत्तै लोकतान्त्रिक शक्तिबीच गठबन्धन बनाउन हतारिएको उसले त्यसको गृहकार्यसमेत तीव्र रूपमा अगाडि बढाइरहेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको बैठकले वाम एकतालाई संविधान कार्यान्वयनका लागि ठूलो चुनौतीको रूपमा लिएको केन्द्रीय सदस्य प्रदीप पौडेलले बताए । ‘यो गठबन्धन चुनाव लड्नका लागि मात्रै बनेको हो भन्नेमा कांग्रेस विश्वास गर्दैन’, पौडेलले अन्नपूर्णसँग भने, ‘यो कम्युनिस्ट पार्टीको पद्धति हाबी गराउने उद्देश्यसाथ गरिएको हो भन्ने हाम्रो ठहर छ ।’

विपक्षी दलसँग औपचारिक गठबन्धनमा बसेपछि कांग्रेसले माओवादीका मन्त्रीलाई हटाउने तयारीसमेत अगाडि बढाएको छ । विपक्षी गठबन्धनमा गइसकेको माआवादीकै तर्फबाट वर्तमान सरकारमा गृहमन्त्रीसमेत छन् ।

कांग्रेसले विपक्षी खेमालाई गृहमन्त्रीजस्ता महत्वपूर्ण जिम्मेवारी दिएर निर्वाचनमा जान उपयुक्त नहुने निष्कर्ष निकालिसकेको छ । कांग्रेसले गठबन्धनका लागि विभिन्न दलसँग छलफल गरेपछि पछिल्लो राजनीतिक अवस्थाबारे आफनो रणनीति बनाउन आइतबार दिउसो समेत काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यलाई बालुवाटार डाकेर बैठक गरेको छ ।

कांग्रेसका रणनीतिः

बालुवाटारमा आइतबार साँझ भएको बैठकमा माओवादी मन्त्री हटाउनेदेखि राप्रपालगायत दललाई सरकारमा सहभागी गराउनेसम्मको रणनीतिबारे छलफल भएको थियो । कांग्रेस नेता मीनेन्द्र रिजालका अनुसार आइतबार बसेको बैठक शुक्रबारकै केन्द्रीय कार्यसमिति बैठकको फलोअप मिटिङ थियो ।

माओवादीले भने यसअघि नै प्रधानमन्त्री देउवालाई आफूहरू निर्वाचनसम्म सरकारमा रहिरहने जानकारी गराइसकेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन प्रभावित हुने गरी आफूहरू सरकार फेरबदलको काम नगर्ने बताएका थिए ।

यद्यपि कांग्रेससम्बद्ध स्रोतका अनुसार प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीलाई बर्खास्त गरेर वामगठबन्धनको मनस्थिति बुझ्न खोजेका हुन् । कांग्रेसका एक नेता भन्छन्, ‘प्रधानमन्त्रीले माओवादीका मन्त्री हटाएपछि विपक्षी गठबन्धनले सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउँछ कि ल्याउँदैन भन्ने हेर्न चाहेका छन् ।

कांग्रेसले वाम घटकहरू अहिले नै सरकार परिवर्तनको खेलमा लागे मंसिरमा हुने भनिएको निर्वाचन स्वतः असम्भव हुने विश्लेषण गरेका छन् । यद्यपि, विपक्षी गठबन्धनले त्यसो नगरे निर्वाचनमा जादा वाम एकतालाई सक्दो बदनाम गराउने नीति कांग्रेसले अख्तियार गर्न खोजेको देखिन्छ । कांग्रेसले वाम एकतालाई लोकतन्त्र सिध्याउने दाउदेखि संविधान कार्यान्वयन हुन नदिनेसम्मको चलखेलका रूपमा जनमानसमा लैजान लागेको उक्त पार्टीका नेताहरूको दाबी छ ।

स्थानीय तहको निर्वाचनदेखि संघीय र प्रदेश तहसम्मको निर्वाचन सँगै गराउन भनेर एक वर्षअगाडि माओवादी र कांग्रेसबीच गठबन्धन बनेको थियो । त्यही गठबन्धनको सहारामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल १० महिनासम्म प्रधानमन्त्रीसमेत भए ।

माओवादी र कांग्रेसबीच भएको सहमतिकै आधारमा दाहालपछि कांग्रेस सभापति शेरबहादुर देउवा वर्तमान सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री भएका थिए । तर, माओवादी र एमालेबीच भएको ताजा गठजोडले सरकार, संविधानदेखि आसन्न निर्वाचनसम्मको विषयमा विभिन्न अड्कलबाजी गर्न थालिएको छ आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।





error: Content is protected !!