यस्तो छ, ६ महिनामा फिल्मको व्यापार

काठमाडौँ   | ०७४ को वैशाखदेखि असोज तेस्रो सातासम्म तीन दर्जनभन्दा बढी फिल्म प्रदर्शन भइसकेका छन् । अघिल्लो वर्षको तुलनामा यो वर्षको पहिलो ६ महिनामा फिल्म प्रदर्शनको संख्या अलि कम नै मान्नुपर्छ । ०७३ भरि ८६ वटा फिल्म प्रदर्शन भएका थिए भने यो वर्षभरि पनि स्थिति लगभग त्यस्तै हुने देखिएको छ ।

अघिल्लो वर्षको तुलनामा यो वर्ष व्यावसायिक सफलता हासिल गर्ने फिल्मको संख्या उच्च देखिएको छ । पहिलो ६ महिनामा प्रदर्शनमा आएका ३६ फिल्ममध्ये आधा दर्जन फिल्मले नाफाको व्यापार गरिसकेका छन् । यो वर्ष प्रदर्शनमा आएका ‘सायद–२’बाहेकका सिक्वेल फिल्मले सफलताको आफ्नो दबदबा कायम राखेका छन् ।

 

वैशाख १ गते एकसाथ तीन फिल्म– ‘घामपानी’, ‘राधे’ र ‘लभ लभ लभ’ प्रदर्शनमा आए । नयाँ वर्षको सुरुवातसँगै प्रदर्शित तीनवटै फिल्मका निर्माता, निर्देशकले आफ्नो फिल्म हिट भएको दाबी गर्ने गरेका छन् । तर, वास्तवमा ती तीनमध्ये दीपेन्द्र लामा निर्देशित घामपानीको व्यापार अरू दुईको भन्दा माथि छ । त्यस हिसाबमा घामपानी सफल भएको छ । हुन त राधे फिल्मका निर्माता सुशील पोखरेल पनि आफ्नो फिल्म हिट भएको बताउने गर्दछन् । मल्टिप्लेक्स हलमा प्रदर्शन नभएको राधेले नाफा कमाएकोमा हल व्यावसायी तथा वितरक नै ‘कन्भिन्स्ड’ छैनन् । दीपेन्द्र के खनाल निर्देशित एक करोड बढी लगानीको लभ लभ लभले पनि निर्माता जोगाएको कुरालाई गलत मान्ने गरिएको छ ।

‘बाहुबली–२’का कारण वैशाख दोस्रो साता कुनै फिल्म रिलिज गरिएन । तर, तेस्रो साता भने भुवन केसी अभिनीत सविन शाक्यको ‘ब्ल्याक डायरी’ प्रदर्शन गरियो । फिल्म चलेन । अभिनेत्री छुल्ठिम गुरुङले निर्माण गरेको रेखा थापा स्टारर ‘डायरी’ फिल्म जेठ ५ गते प्रदर्शनमा आयो । तर, फिल्मले कुनै कमाल देखाउन सकेन ।

दिनेश राउत निर्देशित ‘पर्व’ फिल्मलाई आशातीत नजरले हेरिएको थियो । फिल्मको ‘काले दाइ’ बोलको गीत हिट भएकाले पनि फिल्मवृत्तमा सो फिल्मको चर्चा थियो । जेठ १२ मा प्रदर्शनमा आएको पर्व असफल भयो । पर्वसँगै भिडेको सौरभ ढकाल निर्देशित ‘हिटलर’ फिल्म मुस्किलले दुई दिन हलमा टिक्यो ।

जेठ १९ मा एकसाथ दुई फिल्म रिलिज भए–सुरज सुब्बा नाल्बोको ‘रातो घर’ र अराज केशव गिरीको ‘वान सट मुभी’–‘जालो’ । दुवै फिल्म दर्शकअभावमा रुमल्लिनुप¥यो । जेठ १६ मा पनि एकसाथ दुई फिल्म जुधे– ‘लालटिन’ र ‘आधा लभ’ । भानुप्रतापले देवकुमारको निर्देशनमा निर्माण गरेको लालटिनलाई मल्टिस्टारर फिल्मका रूपमा व्याख्या गरिएको थियो । त्यो फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारीलगायतका कलाकारले अभिनय गरेका छन् । त्यसैगरी, अभिनेत्री ऋचा शर्माले अभिनेता अर्पण थापासँग मिलेर निर्माण गरेको आधा लभ मल्टिप्लेक्स लक्षित गरिएको थियो । तर, अपसोच १ दुवै फिल्म चलेनन् । आधा लभ त कतिपय हलमा एक दिनमै उत्रिएको थियो ।

असार पहिलो साता अर्थात् २ गते पनि दुई फिल्म रिलिज भए–‘किडन्याप’ र ‘तारेभीर’ । फुर्वा शेर्पाको निर्माण र निर्देशनमा बनेको किडन्यापमा भीम गुरुङ, सुवास राई, सुरेश शिल्पकार तथा प्रेम सुब्बा निर्देशित तारेभीरमा रेखा फागो, विष्णु चेम्जोङ, रमेश सिंहलगायतका नयाँ कलाकारकै बाहुल्यता थियो । दुवै फिल्म हलमा आए–गएको पत्तो भएन । असार १६ मा प्रदर्शित अमरदीप सापकोटाको ‘कारखाना’ले पनि कुनै कमाल देखाउन सकेन ।

असार २३ मा प्रदर्शन भएको दीपेन्द्र के खनालको ‘धनपति’ फिल्मबाट दर्शकले निकै आस गरेका थिए । तर, फितलो कथावस्तु, फिलतो निर्देशन र कमजोर प्रस्तुतिका कारण धनपति धेरै दिन हलमा टिक्न सकेन । त्यही मितिमा प्रदर्शित ‘मन्दिरा’को त झन बेहालै भयो ।

सुदर्शन थापाको ‘म यस्तो गीत गाउँछु’ र सुनील रावलको ‘सायद–२’को भिडन्त भयो, असार ३० मा । तर, प्रेमकथानक म यस्तो गीत गाउँछुले बाजी मा¥यो । अघिल्ला तीन फिल्म– ‘सायद’, ‘होस्टेल’ र ‘होस्टेल रिटन्र्स’ हिट दिएका रावल सायद–२ बाट भने नराम्रैसँग चिप्लिए । पल शाह र पूजा शर्मा अभिनीत म यस्तो गीत गाउँछु हिट भयो । सायद–२ ले न त निर्मातालाई बचायो, न त्यो फिल्मका कलाकारलाई ।

 

साउन ६ गते प्रदर्शनमा आएका दुई फिल्म– ‘डा। खाते’ र ‘मेरी कुसुम’ कता हराए निर्माता आफँैले थाहा पाएनन् । साउन १३ मा भने दुई फिल्म प्रदर्शन भए– ‘प्रेमगीत–२’ र ‘रुद्र’ । रामशरण पाठकको लेखन र निर्देशनमा बनेको प्रेमगीत–२ हिट भयो भने निखिल उप्रेतीले रामजी लामिछानेको निर्देशनमा निर्माण गरेको रुद्र चलेन । निखिललाई आफू सुपरस्टार हुँ भन्ने भ्रम थियो । त्यो भ्रम रुद्रले तोडिदियो । त्यसअघि पनि उनका ‘लुटेरा’, ‘किङ’ र ‘निर्भय’ नराम्रैसँग फ्लप भएका थिए ।

शाहरुख खानको ‘जब ह्यारी मेट सेजल’का कारण साउन तेस्रो साता कुनै नेपाली फिल्म रिलिज गरिएन । साउन २७ मा पूर्णेन्द्र झाको ‘संरक्षण’ प्रदर्शनमा आयो । संरक्षणले निखिल उप्रेतीलाई मात्र होइन, सौगात मल्ललाई पनि धक्का दियो । तराई क्षेत्रमा हुने गरेको राजनीति, तस्करी तथा पुलिसगिरीको विषयमा बनाइएको संरक्षण फ्लप भयो ।

‘होस्टेल’, ‘जेरी’ र ‘गाजलु’ फिल्मका कारण हेमराज बिसी निर्देशित ‘ग्याङस्टर ब्लुज’प्रति आस लागेको थियो । तर, कमजोर स्क्रिप्ट, फितलो निर्देशन र प्रस्तुतिका कारण ग्याङस्टर ब्लुज असफल भयो । सोही मितिमा प्रदर्शनमा आएको नवराज बुढाथोकी निर्देशित ‘भुइँमान्छे’ले पनि हलमा मान्छे तान्न सकेन । लास चिर्ने अधबैँशे पुरुषको मानसिकता र जीवनशैली प्रस्तुत गरिएको फिल्ममा रमेश बुढथोकी शीर्ष भूमिकामा छन् ।

तिजको अवसर पारेर भदौ ८ मा बिहीबारै चारवटा फिल्म रिलिज गरिए– ‘धुम–२’, ‘देश खोज्दै जाँदा’, ‘हामी शरणार्थी’ र ‘स्काउट’ । प्रदर्शित चार फिल्ममध्ये जयकिसन बस्नेतको धुम–२ ले लगानीअनुसार नाफाको व्यापार ग¥यो । सिंगल थिएटरमा मात्र प्रदर्शन भएको धुम–२ लाई जयकिसन हिट फिल्म मान्छन् । बाँकी तीन फिल्म भने हलमा लगाउनु मात्रै भयो । दर्शकअभावका कारण फिल्मी टिम विरक्तिनुप¥यो ।

भदौ १६ मा भने झरना थापा निर्देशित ‘ए मेरो हजुर–२’ एकल प्रदर्शनमा आयो । फिल्म हिट भयो । अभिनेत्री, निर्मात्री हुँदै पहिलोचोटि निर्देशनमा उत्रिएकी झरना व्यावसायिक रूपमा सफल भइन् । नवअभिनेता सलिनमान बनियाका साथ साम्राज्ञी राणा, सलोन बस्नेत प्रमुख भूमिकामा अभिनीत फिल्मले निर्मातालाई राम्रै नाफा दिलाएको छ । झरना अब केही महिनापछि ‘भागवत् गीता’ नामक फिल्म बनाउने योजनामा छिन् ।

असिम शाह निर्देशित ‘२ रुपैयाँ’ले पनि नाफाको व्यापार ग¥यो । भदौ २३ मा प्रदर्शनमा आएको फिल्म समीक्षकलाई मन नपरे पनि दर्शकले भने ठीकठाकै माने । अपेक्षाकृत व्यापार गर्न नसके पनि यो फिल्मले निर्मातालाई फाइदा नै दिलाएको बताइन्छ ।

भदौ अन्तिम साता अर्थात् ३० गते एकसाथ दुई फिल्म रिलिज भए–‘जोनी जेन्टलम्यान’ र ‘लीला’ । रमेश कोइराला निर्देशित लीलाले कुनै लीला देखाउन सकेन भने नीतिन चन्द निर्देशित जोनी जेन्टलम्यानले औसत व्यापार ग¥यो । समीक्षकबाट सकारात्मक प्रतिक्रिया नपाए पनि अभिनेता पल शाहको क्रेजका कारण जोनी जेन्टलम्यानले राहत पाएको हो ।

असोज पहिलो साता अर्थात ६ गते एउटा मात्रै फिल्म रिलिज भयो–‘दि मंगोलियन हर्ट’ । राजु लामाले निर्माण गरेको यो फिल्म हलमा आए–गएको पत्तो भएन ।

दसैँको फूलपातीको अवसर पारेर दुई फिल्म रिलिज भए–‘छक्का पन्जा–२’ र ‘मेरो पैसा खोेइ रु’

दीपाश्री निरौला निर्देशित छक्का पन्जा–२ को पब्लिसिटी गत वैशाखदेखि नै थालिएको थियो । बाहुबली–२ रिलिजसँगै हलमा फिल्मको टिजर बजाइएको थियो । तर, रोज राणाको निर्माण र निर्देशनमा बनेको मेरो पैसा खोइ भने विनाप्रचारप्रसार प्रदर्शन गरियो । अघिल्लो ‘छक्का पन्जा’झँै सिक्वेलले पनि अहिले उधुम व्यापार गरिरहेको छ । अहिलेको व्यापारको अनुपात हेर्दा छक्का पन्जा–२ ले छक्का पन्जाको व्यावसायिक रेकर्ड तोड्ने पक्का देखिएको निर्मातामध्येका एक दीपकराज गिरी बताउने गर्दछन् ।

समीक्षक तथा फिल्म हेरिसकेका अधिकांश दर्शकबाट सकारात्मक प्रतिक्रिया नपाए पनि छक्का पन्जा–२ ले अब्बल व्यापार गरिरहेको छ । शुक्रबारदेखि मोफसलका हलमा प्रदर्शन भएको मेरो पैसा खोइको व्यापार भने निराशाजनक छ । मेरो पैसा खोइमा सौगात मल्ल, वर्षा राउत, बुद्धि तामाङलगायतले अभिनय गरेका छन् । आफू अभिनीत फिल्म लगातार फ्लप हुँदै गएकोमा अभिनेता सौगात तनावग्रस्त छन् ।

असोज चौथो साता अर्थात् २७ गते पनि कुनै नेपाली फिल्म रिलिज नहुने भएकाले हलमा छक्का पन्जा नै रहनेछ । पहिला त्यो मितिमा दिनेश पाख्रिनको ‘टिनएज’ र ऋषि न्यौपानको ‘धनवान्’ रिलिज हुने कुरा थियो । तर, छक्का पन्जा–२ का कारण हल नपाउने देखिएपछि ती फिल्मको भागाभाग भएको छ । टिनएज र धनवान् अब कहिले रिलिज हुन्छन्, त्यो निर्माता स्वयम्लाई थाहा छैन ।

नयाँ पत्रिका





error: Content is protected !!