आलटालमै गुज्रियो म्याद

जाजरकोट ।चार वर्षदेखि भेरी नदीको बैरीताल पुल निर्माण अलपत्र छ । जाजरकोट–डोल्पा सडकअन्तर्गत रुकुमको चिसापानी र छेप्काबीच भेरी नदीमा निर्माणाधीन उक्त पुल अलपत्र परेको हो ।
दुवै किनाराका पिल्लरको निर्माणसमेत पूरा भएको छैन । पिल्लर अधुरै छाडेकै ३ वर्ष बितेको छ । पुलको स्लापलगायत अन्य कामको अत्तोपत्तो छैन । सडक विभाग र निर्माण कम्पनीको लापरबाहीले पुल निर्माण अलपत्र परेको स्थानीयले बताए । आशिष निर्माण सेवा काठमाडौंले पुल निर्माणको जिम्मा लिएको थियो । ८ करोडको लागतमा निर्माण हुने ६६ मिटर लामो पुलको निर्माण अवधि गत मंसिरमै सकिएको चौरजहारीस्थित सडक डिभिजन कार्यालयका इन्जिनियर सुशील पौडेलले बताए । ‘सम्झौता भएको मितिले पुल निर्माणका लागि सम्बन्धित कम्पनीलाई ३६ महिना म्याद थियो,’ उनले भने ।
म्याद सकिँदा पनि पुल निर्माणको प्रगति नभएको इन्जिनियर पौडेलले बताए । निर्माण कम्पनीले बैरीताल पुल निर्माणका उपकरण तथा सामग्री अन्यत्रै लगेर काम स्थगित गरेको छ । व्यवसायीले हचुवाका भरमा दररेट हाल्ने, सम्झौता गर्ने, पेस्की लिने र काम गर्न आलटाल गर्ने प्रवृत्तिले अधिकांश पूर्वाधार अलपत्र परेको इन्जिनियर पौडेलले बताए । ‘चालु आर्थिक वर्षमा पनि पुल निर्माण कार्य पूरा हुने सम्भावना देखिँदैन,’ उनले भने । चालु आवमा पुल निर्माण सम्पन्न नभए ठेक्का सम्झौता तोड्नुको विकल्प नभएको उनको भनाइ छ ।
पुल निर्माण अलपत्र पर्दा जाजरकोट९डोल्पा सडक, नलसिंह गाड जलविद्युत्लगायत राष्ट्रिय महत्त्वका आयोजनाको निर्माणमा बाधा पुगेको छ । स्थानीय बासिन्दालाई आवतजावत र दैनिक उपभोग्य वस्तुको ओसारपसारमा समेत कठिनाइ भएको खगेनकोटका तिलकबहादुर खत्रीले बताए ।
व्यवसायीले उक्त पुलको पिल्लर निर्माणमा गिट्टी, बालुवा, सिमेन्ट, छडलगायत कमसल सामग्री प्रयोग भएको खत्रीको आरोप छ । उत्तर–दक्षिण भेरी करिडोरअन्तर्गतको बैरीताल पुलको निर्माण अलपत्र पर्नु र त्यसैमा कमसल सामग्रीको प्रयोग हुनु सम्बन्धित पक्षको चरम लापरबाही भएको उनले बताए ।
तर, चालु आर्थिक वर्षभित्र पूल निर्माण कार्य सम्पन्न हुने कम्पनीका प्रतिनिधि कृष्णबहादुर बस्नेतले दाबी गरे । भेरी नदीकै रिम्नाघाटमा पुल निर्माण भइसकेकाले बैरीतालको पुल निर्माणका सामग्री ओसापसार गर्न सहज भएको उनले बताए ।










