कसरी भइन्छ महान् नेता ?

केही समयअघि सिंगापुरको एक रेस्टुरेन्टमा डिनरका क्रममा हामीले कस्ता गुणहरूले महान् नेता बन्छन् भन्ने विषयमा घनीभूत बहस गर्ने प्रयत्न गर्‍यौँ । मेरा साथी क्लाउस सचवाबका अनुसार नेता बन्नका लागि पाँच तत्वहरू महत्वपूर्ण थिए– मुटु, दिमाग, मांसपेशी, स्नायु र आत्मा । अर्कोतर्फ किशोर महबुबानीका लागि भने दया, चतुर दृष्टिकोण र साहस महान् नेताका महत्वपूर्ण विशेषता थिए । यी विशेषतामा बौद्धिकता पहिचान गर्ने र जटिलता बुझ्न सक्ने क्षमता हुन्छ । निश्चय नै यो संयोग होइन कि दुवै विशेषताको सूची मुटुबाट नै सुरु हुन्छन् ।

दक्षिण अफ्रिकाका तत्कालीन अश्वेतवादी नेता र भारतका राष्ट्रपिता महात्मा गान्धी आफू विरोधी जनतामा दया र करुणा देखाउन नसक्ने कुनै पनि नेताले महान्ता प्राप्त गर्न सक्दैन भन्थे । दया वा करुणा त्यस्तो भावना हो जसले सर्वसाधारण मानिसले सामना गरिरहेको अन्याय र अत्याचारविरुद्ध लड्न एक प्रकारको ऊर्जा प्रदान गर्छ ।

 

महान् नेता सामान्य समयमा देखिँदैनन् । तर, अहिले निश्चय पनि सामान्य अवस्था भने छैन । यस्तो अवस्थामा विश्वका विभिन्न भागमा देखिएको अकल्पनीय, असमानता, अन्याय र विभेदका कारण तत्लो तह र सीमान्तकृत वर्गका मानिसलाई सहानुभूति जनाउने महान् नेताहरू प्रकट हुनु आवश्यक छ ।

सामान्य मानिसलाई सहयोग गर्ने प्रतिबद्धता ९दयाभाव० व्यक्त गरेकै कारण अहिले सर्वत्र आशाको किरण छरेका युवा नेता जस्ट्रिन टुडेउ क्यानडेली प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । त्यसपछि दिमागको प्रसंग आउँछ, जसले हामीले दैनिक पाउने सूचनालाई मस्तिष्कमा पुर्‍याएर जटिल र तीव्र रूपमा परिवर्तित संसारमा उपयुक्त निर्णय लिन सहयोग पुर्‍याउँछ । यही प्रसंगमा यहाँ केही विश्व नेताहरूबारे चर्चा गर्न खोजिएको छ, जो प्रचुर मात्रामा आफ्नो क्षमता प्रदर्शन गर्न सफल भएका छन् । उदाहरणका लागि चीन र भारतको अर्थतन्त्रमा निरन्तर वृद्धि भएको छ । ती देशको विकासले के देखाउँछ भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङ चौथो औद्योगिक क्रान्तिले दिशानिर्देश गरेका आर्थिक तथा सामाजिक चुनौती र अवसरहरू मनन गर्न सफल भए । जटिल आर्थिक परिवेशमा गतिशील नयाँ उद्योगधन्दा विकास गर्नुपर्छ, जसले आफ्नो अर्थतन्त्रलाई वैज्ञानिक र प्राविधिक विकासको अग्रमोर्चामा राख्छ भन्ने हेक्का दुवै नेताले बोध गरे । नयाँ प्रविधिको उपयुक्त प्रयोगले ती देशहरूमा गरिबी निवारणमा सहयोग पुर्‍याएको छ ।

विद्युतीय परिचयपत्र आधारकार्डमा सम्झौता गरेका एक अर्ब भारतीयले कर्मचारीतन्त्रको अड्चनविना नै कल्याणकारी कार्यक्रमबाट प्रत्यक्ष सुविधा लिइरहेका छन् । मोबाइलको शुल्क तिर्नका लागि स्मार्टफोन प्रयोग गर्ने एक अर्ब चिनियाँ उपभोक्ताले उत्पादनको प्रत्यक्ष पहुँचको सुविधा लिइरहेका छन्, जसले उनीहरूको जीवनशैली सशक्त बनाएको छ । आधुनिक प्रविधिले ल्याएको समृद्धिको कसैले पनि भरपर्दो ढंगले मापन गर्न सफल भएको छैन । तर, चीन र भारत दुवैमा आशा बढेको छ । पिउ रिसर्च सेन्टरका अनुसार ८७ प्रतिशत चिनियाँ नागरिक देशको वर्तमान आर्थिक अवस्थाबारे सकारात्मक छन्, ८२ प्रतिशत नागरिक उनीहरूको सन्तानको भविष्य अहिलेभन्दा उज्ज्वल हुने विश्वास गर्छन् । त्यसैगरी ८३ प्रतिशत भारतीय अर्थतन्त्रबारे सकारात्मक छन् र ७६ प्रतिशत आफ्ना बालबालिकाको भविष्य समुन्नत हुनेमा आशावादी छन् ।

महान् नेताको तेस्रो महत्वपूर्ण गुण भनेको साहस हो । सन् २०१५ मा युरोपमा सिरियाली शरणार्थीको थेग्नै नसक्ने चापपछि प्रजातान्त्रिक भावना बिस्तारै समाप्त हुँदै छ र युरोपेली देशका प्रायः राजनेताहरूले छिमेकी मुलुकसँगको सीमा धमाधम बन्द गर्न थालेका छन् । त्यसको दबाबमा कमजोर राष्ट्र पनि परेका छन् । शक्तिशाली देशका नेताको स्वरमा भाका मिलाएर शरणार्थी प्रवाह रोक्ने वा बलपूर्वक भित्रिएका शरणार्थीलाई लखेट्ने रणनीति केही साना मुलुकहरूले अंगीकार गरेका छन् ।

जर्मन चान्सलर एन्जिला मार्केल भने यसको अपवाद हुन् । १० लाख आप्रवासीलाई आफ्नो देशमा शरण दिने सहमति जनाएर उनले शक्तिशाली उदाहरण प्रस्तुत गरेकी छन् । शरणार्थीलाई स्वागत गर्ने उनको अडानकै कारण पार्टीभित्रकै धेरै नेताले सुरुमा त यति गिरेर आलोचना गरेका थिए कि कोहीले त जीवित छँदै उनको राजनीतिक स्मृति कोरेका थिए । अन्ततः उनको अदम्य साहसको सम्पूर्ण युरोपभर नै कदर भयो । अहिले उनी विश्वभरका शक्तिशाली नेताहरूमध्येकी एक हुन् ।

इन्डोनेसियाका राष्ट्रपति जोको जोकोबी बिडोडोले पनि पछिल्लो समय संयम भएर यस्तै साहस प्रदर्शन गरेका छन् । इन्डोनेसियाले पञ्चशीलका पाँचवटा सिद्धान्त जोगाउन राष्ट्रवादी र प्रजातान्त्रिक आवाज थेग्नै नसक्ने दबाब सामना गरिरहेको छ । पञ्चशीलका सिद्धान्तका आधारमा इन्डोनेसियाको परराष्ट्र नीति दिशानिर्देशित छ ।

यसको निन्दा गरेको आरोपमा जोकोबीका राजनीतिक सहयोगी तथा जकार्ताका पूर्वगर्भनर बासुकी ताहाजा पुर्नामा उर्फ अहोकलाई कैद गरेपछि सो दबाब बढाएको थियो । तर, मर्केलले जस्तै जोकोबीले पनि अतिवादविरुद्ध निरन्तर संघर्ष गरिरहेका छन् र अतिवादी समूह हिज्ब युत तहरिरलाई गैरकानुनी घोषणा गरेका छन् ।

निश्चय पनि साहसलाई सकारात्मक परिवर्तनमा बदल्न मांसपेशी आवश्यक पर्छ, त्यो हो ‘एक्सन’ लिने अधिकार र त्यसले पार्ने प्रभाव । जसका लागि राजनीतिक यथार्थताको तीक्ष्ण ज्ञान हुनुपर्छ । आयरल्यान्डको राजनीतिक प्रणालीमा शक्तिशाली परिवर्तन ल्याउन यस्तो चलाखीपन अत्यावश्यक थियो । उदाहरणका लागि रुढिवादको गहिरो जरामा गाडिएको अन्धविश्वासी मुलुक आयरल्यान्डले भारतीय मूलका समलिंगी लिओ भरादकरलाई देशको प्रधानमन्त्रीमा चुनेको थियो ।

शक्तिशाली नेतृत्वका लागि माथि उल्लिखित विभिन्न गुणहरू सँगसँगै आउन सक्छन् भन्ने विषयलाई क्रिस्चियन धर्मगुरु पोप फ्रान्सिसले देखाएका छन् । पोपको चातुर्य, साहस, नैतिकता र बौद्धिकताजस्ता गुणले विश्वमा रोमन क्याथोलिक चर्चको दृष्टिकोण र अवस्था परिवर्तन गर्ने उनको प्रयासलाई सहयोग गरेको छ ।

प्राचीन परम्पराले समलिंगीको समर्थन गर्नबाट वञ्चित गरिरहेका वेला पोपले यस्तो अभिव्यक्ति दिने साहस जुटाएका थिए– यदि कुनै व्यक्ति समलिंगी छ र भगवान् खोज्छ वा खोज्न इच्छुक छ भने त्यो व्यक्तिमाथि फैसला गर्ने म को हुँ रु त्यसैगरी, उनले गत वर्ष ल्याटिन अमेरिकी मुलुकहरूमा महामारी बनेको जिका भाइरस संक्रमित महिलालाई गर्भनिरोधक कृत्रिम साधन प्रयोग गर्न सुझाब दिएका थिए ।

उदार र फराकिलो छाती बनाउँदै पोपले चर्च संरचनालाई विकेन्द्रीकृत गरेका छन् र सबै मानिसका माझ एउटा समावेशी चर्चको खाका दिमागमा कोरेका छन् । अर्को साहसी कदमस्वरूप भ्याटिकनका वरिष्ठ अधिकारीहरूलाई बिस्तारै अदलबदल गरेका छन् । प्रायः धार्मिक नेतामा खडेरी देखिएको पवित्र आत्मा पोपसँग छ । प्रायः नेताहरू महत्वपूर्ण पदमा पुगेपछि पदरूपी पासोमा फस्छन् र एक बिन्दु तथा अर्को बिन्दुमा आत्मसमर्पण गर्छन् । पोपले निरन्तर रूपमा सामान्य जीवन बिताएका छन् र धार्मिक नेतृत्वसँग प्रायः जोडिने सेवा र सुविधाबाट टाढै छन् ।

अहिलेसम्मकै तीव्र गतिमा अगाडि बढेको विश्वमा हामीले त्यस्ता नेताहरूको खोजी गर्नुपर्छ जसले सर्वसाधारण मानिसको रक्षा गर्नुका साथै उनीहरूका चिन्ता र चासोलाई सम्बोधन गर्छन् । यसको अर्थ नेताहरूको कमजोरी मात्र आलोचना गर्ने होइन, बरु शक्तिशाली नेताहरूको सफाइलाई जोड दिनु पनि हो । महान् नेता दुर्लभ हुन्छन्, तर उनीहरूको अस्तित्व भने अवश्यम्भावी छ ।

किशोर महबुबानी 
किशोर महबुबानी नेसनल युनिभर्सिटी अफ सिंगापुरको ली कुआन वाइबी स्कुल अफ पब्लिक पोलिसीका डिन हुन् । सन् २०१४ मा प्रोस्पेक्ट म्यागेजिनले विश्वका ३० थिंकरको सूचीमा उनलाई सूचीकृत गरेको थियो ।
क्लाउस स्चिवाब 
वल्र्ड इकोनोमिक फोरमका कार्यकारी अध्यक्ष क्लाउस दी फोर्थ इन्डस्ट्रियल रिभोलुसनका लेखक हुन् ।

कपिराइट प्रोजेक्ट सिन्डिकेट २०१७
नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्यमा





error: Content is protected !!